पाकिस्तानी आप्रवासीको नेपाल मोह
अवैध आप्रवासीको नेपाल मोह यस्तो छ- अध्यागमन कानूनअनुसार एक परिवारको थाप्लोमा रु.१ करोडको हाराहारीमा जरिवाना भइसक्दा पनि उनीहरू यहाँ बसिरहेकै छन्।
त्यसका एक उदाहरण हुन्, पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी (४१)। उनी श्रीमती र तीन छोरीसहित काठमाडौंको बूढानीलकण्ठ-८ मा बसिरहेका छन्। उनले डीटी ५४६८३२१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली दूतावासमा ११ मे २०११ मा पर्यटक भिसा लिएका थिए। भिसा लगाएको करीब पाँच महीनापछि मन्सुर १३ अक्टोबर २०११ को मध्यान्ह सपरिवार कराँचीबाट काठमाडौंका लागि उडे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले उनलाई सोही दिन ३० दिनसम्म नेपाल रहन सक्ने छाप लगाइदियो। तर, उनले ३० दिनपछि पनि नेपाल छोडेनन्। म्याद नाघेपछि काठमाडौंमै मजदूरी गर्न थाले। “भारी बोक्ने काम गर्छु” करीब ८ वर्षपछि २६ साउन २०७५ साँझ बूढानीलकण्ठ-८ स्थित अहमदिया मुस्लिमको प्रार्थनास्थलमा भेटिएका मन्सुरले भने, “हाम्रो यहाँ कोही छैन, हालत एकदम खराब छ।”
नेपाल आएपछि जन्मिएकी कान्छी छोरी हिवातुलको मुटुमा प्वाल रहेको र उपचार गर्न पैसा नभएको दुःखेसो गर्दै मन्सुरले भने, “मजस्ता अहमदियालाई पाकिस्तानमा खतरा छ भनेर नेपालका ठूला अधिकारीलाई थाहा छ तर तिनले मेरोबारेमा अहिलेसम्म केही सोचेका छैनन्।”
मन्सुरले आफ्ना पिता इजाम अहमद सिद्दिकीको अन्त्येष्टिमा सहभागी हुन पाएनन्। इजामको सन् २०१६ को हिउँदमा पाकिस्तानको रावलपिण्डीस्थित निवासमा निधन भएको थियो। मन्सुर भन्छन्, “पेटलाई चारोको जोहो गर्न म बाबु मरेको दिन पनि सिमेन्ट बोकिरहेको थिएँ।”
१४ नोभेम्बर २०१८ (२८ कात्तिक ०७५) सम्ममा मन्सुरको परिवार नेपाल पसेको २ हजार ५४४ दिन पुगिसकेको छ। उनको पाँच जनाको परिवारले प्रतिव्यक्ति ५ अमेरिकी डलरको हिसाबले दैनिक २५ डलर अध्यागमनलाई बुझाए मात्र उनको परिवारको नेपाल बसाइ वैध मानिन्छ। अध्यागमन नियमावली २०५१ को अनुसूची ९ को बुँदा नं. २ अनुसार हिसाब गर्दा अहिलेसम्म उनको परिवारले करीब रु.७३ लाख १४ हजार जरिवाना तिर्नुपर्ने हुन्छ।
सो अनुसूचीअनुसार भिसाको म्याद गुजारेर बसेका पर्यटकहरूले गुज्रिएको अवधिको भिसा म्याद थप बापत दैनिक २ अमेरिकी डलर र त्यसमा थप दैनिक ३ अमेरिकी डलर बराबरको जरिवाना रकम बुझाउनुपर्ने हुन्छ। अध्यागमन कानूनअनुसार कुनै पनि पर्यटक नेपालमा एक पटकमा पाँच महीना (१५० दिन) भन्दा बढी समय बस्न पाउँदैन।
रसिद अहमद (५८) पाकिस्तानको खानेवाल जिल्लाका हुन्। पर्यटक भिसामा परिवारसहित नेपाल उड्नुअघि सन् २०१३ सम्म उनी क्यासेट पसल चलाउँथे। मोटरसाइकलमा आएका दुई युवाले छोराको हत्या गर्ने प्रयास गरेपछि उनी पाकिस्तानी रुपैयाँ दुई लाख मोलिने पसल २० हजारमै बेचेर १० जून २०१३ मा नेपाल हान्निए।
उनी श्रीमती रसिदा (५७), दुई छोरा र एक छोरीसहित काठमाडौंको बूढानीलकण्ठमा बस्छन्। अन्य तीन छोरीको उनी पाकिस्तानमै छँदा विवाह भइसकेको थियो। २८ साउनमा धुम्बाराहीमा भेटिएका रसिद भन्छन्, “काम गर्दागर्दै ठूलो समस्यामा फसियो।”
अब्दुल सलाम (५४) चाहिं पाकिस्तानको सिन्ध प्रान्तमा ट्रान्सपोर्ट व्यवसाय गर्थे। महीनाको ४० हजारभन्दा बढी कमाइ हुन्थ्यो। उनलाई अहमदिया मुस्लिम समुदायका लागि स्थिति भयावह भए पनि विस्थापित नै हुनुपर्ला भन्ने लागेको थिएन। तर, सन् २०१३ मार्चमा कराँचीमा चार अहमदियाको हत्या भएपछि अब बाँचिँदैन भन्ने लागेर आफूले पनि झिटीगुण्टा कसेको उनी बताउँछन्।
सोही वर्षको १८ मार्चमा काठमाडौं आएपछि उनले गरिखान मजदूरी शुरू गरे। पाँच सदस्यीय परिवार चलाउन काठमाडौंमा डकर्मी काम गर्ने उनी दैनिक रु.५०० देखि रु.७०० सम्म कमाउँछन्। “सधैं काम पाउने ठेगान हुँदैन तर दुई छोराछोरीले निजी बोर्डिङमा पढाउने भएकाले घरखर्च धान्न केही सहज छ,” उनी भन्छन्। एउटी छोरी १२ कक्षामा पढ्दैछिन्।
करोडौं जरिवाना
अनौपचारिक तथ्यांक अनुसार अहिले नेपालमा म्याद नाघेर बसेका पाकिस्तानी नागरिकको संख्या १७३ छ। उनीहरू काठमाडौंको बूढानीलकण्ठलगायत ठाउँमा बस्छन्, जसमध्ये सबैभन्दा बढी जरिवाना बोक्नेमा मन्सुर पर्छन्।
नियमानुसार उनको पाँच जनाको परिवारको म्याद नाघेको नेपाल बसाइका कारण ७ वर्षमा अध्यागमन विभागलाई ६३ हजार ८७५ अमेरिकी डलर बुझाउनुपर्ने देखिन्छ। यो भनेको रु.७३ लाख ४५ हजारभन्दा केही बढी हो।
यस्तै, रसिदको परिवारले ‘ओभरस्टे’ वापत ४८ हजार ६०० अमेरिकी डलर अर्थात् रु.५५ लाख ८९ हजार जरिवाना तिर्नुपर्ने हुन्छ। उक्त जरिवाना दैनिक २५ अमेरिकी डलरको दरले बढिरहेको छ। साढे पाँच वर्षदेखि भिसाको म्याद नाघेर बसिरहेका अब्दुलको परिवारलाई जरिवानाको भारी ५० हजार ६५० अमेरिकी डलर छ। यसको नेपाली मूल्य करीब रु.५८ लाख २४ हजार हुन्छ।
बूढानीलकण्ठ-८ मा बसेका रउफ अहमदको चार जनाको परिवार २२ अप्रिल २०१३ मा नेपाल आएको थियो। पर्यटक भिसाको एक महीने म्याद सकिएपछि उनको परिवारको नेपाल बसाइ अवैध भयो। भिसाको म्याद नाघेर बसेबापत उनले गएको १३ भदौमा अध्यागमन विभागमा प्रतिव्यक्ति दैनिक ५ डलरको हिसाबले रु.४५ लाख ४ हजार ७०० जरिवाना बुझाए। उनी परिवारसहित १९ भदौमा क्यानाडा उडे। रउफले जरिवाना रकम विभिन्न देशमा पुनर्वासमा गएका आफन्त र अहमदिया समुदायबाट जुटाएको उनका एक परिचित बताउँछन्।
पाकिस्तानबाट पर्यटक भिसामा काठमाडौं ओर्लिएर म्याद नघाउँदै वर्षौं बस्नेहरू पुनर्वासमा विभिन्न पश्चिमा देशहरू जाने गरेको उनीहरू नै बताउँछन्। उनीहरूलाई पुनर्वासमा जानका लागि पहिले नै ती देश गइसकेका आफन्तले उतैबाट अध्यागमनमार्फत प्रक्रिया चलाइदिनुपर्छ। यस्तै, यहाँ रहनेले उनीहरू आफ्नो देशमा बस्ने वातावरण नरहेको प्रमाण पेश गर्नुपर्छ। पुनर्वासका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) ले सहजीकरण गरिदिने गरेको उनीहरू बताउँछन्।
इद्रिस अहमद सन्धु (५५) पनि नेपाल सरकारबाट जरिवाना मिनाहा होला र पुनर्वासमा पश्चिमा देश जान पाइएला भन्ने पर्खाइमा छन्। “जरिवाना मिनाहा भयो भने म परिवारसहित अर्को देश जाने चाँजो मिलाउनेछु,” उनी भन्छन्।
कुनै बेला पाकिस्तानको कराँचीमा चिनी मिलको व्यवस्थापक भएर मासिक ४५ हजार कमाउने बताउने इद्रिस काठमाडौंमा श्रीमती र तीन छोराछोरीसहितको परिवार धान्न धौ-धौ भएको बताउँछन्। “त्यहाँ अर्काले मारिदेला भन्ने डर थियो,” उनी भन्छन्, “यहाँ खान नपाएर मरिएला भन्ने पीर छ।”
२७ अगस्त २०१२ मा पर्यटकको रूपमा नेपाल पसेका उनको परिवारको भिसा म्याद नाघेको समय यही १४ नोभेम्बरसम्ममा २ हजार २३७ दिन पुगेको छ। पाँच जनाको परिवारले सो अवधिको जरिवानावापत कुल ५५ हजार ८०० अमेरिकी डलर अर्थात् रु.६४ लाख १७ हजार तिर्नुपर्ने देखिन्छ।
इद्रिसका सहोदर भाइ मो. रफिक (५३) पनि साढे ५ वर्षदेखि काठमाडौंमै छन्। श्रीमती र तीन छोराछोरीसहित उनको पाँच जनाको परिवार छ, जसमध्ये २७ र २३ वर्षका दुई छोरा निजी विद्यालयमा पढाउँछन्। १९ वर्षे छोरी १२ कक्षामा पढिरहेकी छन्। आफू मजदूरी गर्ने रफिक भन्छन्, “आफ्नो मुलुकमा बाँच्न नसकेर भागेका हामीजस्ता पीडितलाई नेपाल सरकारले यति धेरै जरिवाना नलगाए हुन्थ्यो।” जरिवानाको बोझ हटे पश्चिमी मुलुक जाने सोचमा रहेको उनी बताउँछन्।
पाकिस्तानको कराँची घर बताउने अरिफ मिनास (३८) पेशाले टेक्सटाइल इञ्जिनियर हुन्। कराँचीमा भएको दुईतले घर र मासिक ३० हजार तलबको जागिर छोडेर उनी नेपाल छिरेको पाँच वर्ष भयो। श्रीमती र दुई बच्चासहित बसिरहेका उनको परिवारको नाममा १४ नोभेम्बर २०१८ सम्ममा ३९ हजार ५४० अमेरिकी डलर अर्थात् रु.४५ लाख ४७ हजार जरिवाना पुगेको छ। अरिफका भाइ जर्मनी र बहिनी क्यानाडामा पुनर्वास भएका छन्।
चार छोराछोरीका बाबु मो. अक्रम (४५) पाकिस्तानको पञ्जाव राज्यको भावलपुरका खान्दानी परिवारका सदस्य थिए। उनकै शब्दमा, अहमदिया मुस्लिममाथि दमन बढ्न थालेपछि ६ जनाको परिवारका साथ नेपाल पसेका थिए। पाँच वर्षअघि लाहोरको एउटा मस्जिदमा प्रार्थना गरिरहेका बेला बम विस्फोटमा परी ९० जना अहमदियाहरूको ज्यान गएपछि आफूले पाकिस्तान छाड्ने निर्णय गरेको उनी बताउँछन्।
२२ अप्रिल २०१३ मा नेपाल आएका अक्रमको परिवारमाथि १४ नोभेम्बर २०१८ सम्ममा जरिवानाको बोझ ५९ हजार ७६० डलर पुगिसकेको छ। यो भनेको रु.६८ लाख ७२ हजार हो। इँटा बोक्ने काम गरेर परिवार पाल्ने मो. अक्रम भन्छन्, “मजदूरी गरेर जरिवाना तिर्न सक्ने स्थिति नै छैन। यहाँको सरकारले जरिवाना माफी गरिदिए हुन्थ्यो।”
५५ वर्षे अबिद उद्दिनको ७ जनाको परिवार छ। ९ देखि २२ वर्षका पाँच छोराछोरी र श्रीमतीसहित उनी १७ जून २०१३ मा काठमाडौं ओर्लिएका हुन्। एक महीनाको पर्यटक भिसामा नेपाल पसेको यो परिवारको १७ जुलाई २०१३ पछिको नेपाल बसाइ अवैध हो।
यो परिवारले भिसाको म्याद सकिएपछि १४ नोभेम्बर २०१८ सम्मको हिसाबमा जरिवानावापत ६७ हजार ९०० अमेरिकी डलर (रु.७८ लाख) तिर्नुपर्ने हुन्छ। दैनिक ज्यालादारीमा वेल्डिङको काम गरिरहेका उनी मुश्किलले परिवार चलेको बताउँछन्।
पाकिस्तानबाट पर्यटक भिसामा काठमाडौं आएर भिसा म्याद नघाउँदै वर्षौं बस्नेहरूको एक मात्र उद्देश्य काठमाडौं हुँदै अमेरिका, युरोप वा क्यानाडा पुनर्वासमा जानु रहेको देखिन्छ। आठ वर्षदेखि काठमाडौंमा रहेका मन्सुरको भनाइमा यस्तो पुनर्वासमा सन् २००४ पछि करीब २०० पाकिस्तानी अहमदिया अमेरिका र क्यानाडा गइसकेका छन्।
मन्सुरको यो भनाइ अध्यागमन विभागको तथ्यांकले पनि सही भएको देखाउँछ। अध्यागमन विभागका अनुसार गएको दुई वर्षमा भिसा म्याद नाघेका ७८५ जना विदेशी जरिवाना तिरेर नेपालबाट बाहिरिएका छन्।