कांग्रेसभित्र तानातानमा गच्छदार !
२० कात्तिकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई उपसभापति मनोनीत गरेपछि संस्थापन इतर समूहले सतर्कतापूर्वक विरोध गरे। सभापति देउवाले विधान र प्रक्रिया मिचेको आरोप लगाएका उनीहरूले गच्छदारलाई उपसभापति बनाउनु नै गलत रहेको भन्न सकेका छैनन्।
गच्छदारलाई आफ्नो पक्षमा ल्याउन सकिने आशामा अहिले कुनै पनि समूह उनलाई चिढ्याउन चाहँदैन। पार्टीको १४औं महाधिवेशनमा गच्छदारको प्रभावलाई आफ्नो पक्षमा उपयोग गर्ने उनीहरूको रणनीति छ। हुन पनि करीब चार हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा गच्छदारले ३०० देखि ४०० प्रतिनिधिलाई प्रभावित पार्न सक्ने नेताहरूको आकलन छ।
३० असोज २०७४ मा नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराउँदा गच्छदारलाई उपसभापति बनाउन सबै पक्ष सहमत थिए। देउवाले कांग्रेसको इतिहासमै नभएको दुई उपसभापतिको व्यवस्था गरिरहँदा पनि विरोधी खेमाले विधानको प्राविधिक पक्षलाई मात्रै औंल्याएको छ।
राजनीतिक निर्णय
सभापति देउवा निकट केन्द्रीय सदस्य एनपी साउद गच्छदारलाई उपसभापति बनाउने निर्णयलाई पुरानै सहमतिको कार्यान्वयन मान्छन्। भन्छन्, “उहाँलाई पदाधिकारीमा र फोरम लोकतान्त्रिकका अन्य तह-तप्कालाई पनि समायोजन गर्ने सहमति एकीकरणकै बेला बनेको हो। त्यसमा रामचन्द्र पौडेललगायत सबै नेताको सहमति थियो।”
संस्थापन इतर समूहका नेताहरू पनि आसन्न महासमिति बैठकबाट विधान संशोधन गरेर या बाधा अड्काउफुकाउ प्रावधानमा टेकेर मात्र गच्छदारलाई उपसभापति बनाइएको भए त्यो वैधानिक बाटो हुने बताइरहेका छन्।
रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताहरूका लागि यो विषय सभापति देउवाको विरोध गर्ने मसला बनेको छ। “विधिको शासनको वकालत गर्ने पार्टी कांग्रेस आफैं विधि-विधान विपरीत हिंड्छ भन्ने सन्देश प्रवाह भयो,” केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, “कांग्रेस सच्चिएको सन्देश सभापतिको निर्णयले दिएन।”
गुट-उपगुटमा विभाजित भएर प्रतिपक्षको भूमिकामा समेत निष्प्रभावी देखिएको नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनमा गच्छदारलाई आफ्नो पक्षमा पार्ने चलखेल शुरू भएको छ।
केन्द्रीय सदस्य धनराज गुरुङ विधानकै बाधा अड्काउफुकाउ धारा प्रयोग गरेर वैधानिक रूपमै गच्छदारलाई उपसभापति बनाउन सकिने अवस्था छँदाछँदै सभापतिले त्यसप्रति चासो नदिएको बताउँछन्। “हो, एकीकरणका बेला भएको भद्र सहमतिलाई बेवास्ता गर्न सकिन्न तर यही निर्णय पनि वैधानिक बाटोबाट कार्यान्वयन गर्न सकिन्थ्यो,” गुरुङ भन्छन्।
केन्द्रीय सदस्य गुरुराज घिमिरे भने गच्छदारलाई उपसभापति बनाउँदा गरिएको राजनीतिक निर्णयलाई विवादित बनाउनुको अर्थ नहुने बताउँछन्। “तर, वैधानिक व्यवस्थापनको प्राविधिक विषय पनि नाजायज छैन,” उनी भन्छन्। फोरम लोकतान्त्रिकलाई विलय गराउँदा भएको सहमति बेलैमा कार्यान्वयन नहुँदा पनि अहिले विवाद आएको उनको धारणा छ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि गच्छदारको नियुक्तिलाई राजनीतिक विषय ठान्छन्। उनी भन्छन्, “यो निर्णय पार्टी विधान अनुकूल छैन तर पार्टी सधैं विधानअनुसार हिंड्छ भन्ने हुँदैन।”
लडाकू कांग्रेस !
गच्छदार कांग्रेसको तल्लो तहबाट राजनीति गर्दै उदाएका नेता हुन्। आफूलाई धर्तीपुत्र भन्न रुचाउने गच्छदारले यसअघि कांग्रेसमा लडाकू नेताको परिचय बनाएका थिए। संगठन विस्तारमा उनको शैली आक्रामक थियो।
राजनीतिक जीवनको शुरूआतमा कोइराला परिवारसँग निकट रहेर व्यक्तित्व बनाएका गच्छदार २०४६ सालको परिवर्तनपछि कांग्रेसको सत्तारोहणसँगै प्रत्येक पटक मन्त्री बन्थे। एक समयमा कांग्रेसभित्र चर्चामा रहेको ‘केजीबी समूह’ (खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) ले गिरिजाप्रसाद कोइरालालाई कब्जामा लिएको आरोप लाग्थ्यो। तर, पछि गिरिजाप्रसादसँगै मतभेद भएर उनले पार्टी छाडे।
२०६२-०६३ को परिवर्तनपछि पहिचानको आन्दोलनतिर लागेका उनले त्यसबेला कांग्रेस छोड्नुको कारण भने वैचारिक मतभेद नभई लेनदेनको असहमति थियो। मधेशकेन्द्रित राजनीतिमा रहँदा पनि उनको राजनीतिक र सामाजिक सम्बन्ध कांग्रेस नेता र समर्थकहरूसँगै ज्यादा देखिन्थ्यो। गएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले देशव्यापी हार व्यहोर्दा उनले आफ्नो निर्वाचन क्षेत्रमा विजय हात पारे।
गुटको गणित
सभापति देउवाको क्याम्पमा गच्छदार लामो समय टिक्न नसक्ने अन्य समूहका नेताहरूको बुझइ छ। किनभने देउवाको महत्वपूर्ण सहयोगीका रूपमा अर्का उपसभापति विमलेन्द्र निधि छन्। निधि र गच्छदार दुवैको राजनीतिक आधार तराई मधेश रहेको र दुवै महत्वाकांक्षी भएकाले पनि गच्छदारले देउवा क्याम्प छाड्ने उनीहरूको अनुमान छ।
फेरि दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध व्यवस्थापनका लागि पनि निधिलाई नजिक राखेर उपयोग गर्नु देउवाको बाध्यता हो। त्यसमाथि गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतलगायत नेताहरूले निधिका पक्षमा वकालत गरिदिन्छन्।
यसै पनि देउवासँग मनमुटाव भएपछि तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट फेरि मातृ पार्टीमा फर्किएका थिए, गच्छदार। त्यसपछि २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन अगाडि कांग्रेस छाडेर मधेशी राजनीतिमा होमिए। यसबीचको ठ्याक्कै एक दशकमा कांग्रेसभित्र ‘मधेश सम्हाल्ने नेता’ को परिचय बनाए, निधिले। १४औं महाधिवेशनमै पार्टी सभापति बनिहाल्ने आत्मविश्वास निधिमा नहुँदा अहिले देउवालाई अगाडि लगाएर १५औं महाधिवेशनमा दाबी प्रस्तुत गर्ने रणनीतिमा हुन सक्छन्, उनी।
यही कारण रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कोइराला परिवार समूह गच्छदारलाई आ-आफ्नै पोल्टामा पार्ने रणनीतिमा देखिन्छन्। तीन वटै समूहको आकलन अंकगणितमा आधारित देखिन्छ। १४औं महाधिवेशनमा कांग्रेस महाधिवेशन प्रतिनिधिको संख्या करीब चार हजार हुनेछ। तीमध्ये ३०० देखि ४०० प्रतिनिधिलाई गच्छदारले प्रभावित पार्न सक्ने नेताहरूको बुझइ छ।
“गच्छदारको त्यही ‘स्ट्रेन्थ’ मा सबैको चासो छ” एक केन्द्रीय सदस्य भन्छन्, “र, यस कोणबाट हेर्दा कांग्रेसमा गच्छदारको सेकेन्ड इनिङ खुमबहादुर खड्काको उत्तराधिकारीका रूपमा अगाडि बढ्ने अनुमान गर्न सकिन्छ।” अर्थात्, फेरि पनि कांग्रेसमा गुटबन्दी झंगिने सम्भावना छ। र, आफ्नो निहित स्वार्थका लागि पार्टीलाई प्रयोग मात्र गरिरहने प्रवृत्ति घट्ने नभई बढ्नेछ।
संस्थापन इतर समूहहरू आगामी महाधिवेशनमा जसरी पनि देउवालाई रोक्ने रणनीतिमा देखिन्छन्। महासमिति बैठक नजिकिंदै गर्दा यसअघि अलग-अलग समूहमा देखिएका नेताहरू एक ठाउँमा भेला हुन थालेका छन्। २६ कात्तिकमा सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा आयोजना भएको ‘लञ्च मिटिङ’ यही शृंखलाकै एउटा कडी थियो, जहाँ रामचन्द्र पौडेल, डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा.शशांक कोइराला, डा.रामशरण महत र प्रकाशमान सिंह सहभागी थिए।
सिटौला भने त्यो भेलामा देखिएनन्। यसै पनि कांग्रेसको १३औं महाधिवेशनमा ‘तेस्रो धार’ का रूपमा सभापतिमा उम्मेदवारी दिएका सिटौला आफ्नै गुटको अभ्यासमा छन्।
अर्कोतिर तीन वटै तहका निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि देउवाको कार्यशैलीविरुद्ध वक्तव्य निकालेका सात युवा नेताको समूह पनि छ। उनीहरूमध्ये विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएर देउवाले आफ्नो पोल्टामा पारे पनि धनराज गुरुङ, गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, गुरुराज घिमिरे र बद्री पाण्डेको यो समूहमा अहिले जीवन परियार, किरण यादव र कमला पन्त पनि थपिएका छन्। तर, यी युवा नेताहरूले पार्टीका गुटहरू भन्दा आफ्नो अलग अस्तित्व कायम गर्न सकेका छैनन्।
संस्थापन इतर यी समूहबाट एउटा सर्वसम्मत नेताको उदय हुने सम्भावना पनि देखिंदैन। कोइराला परिवारका तीनमध्ये एक नेतालाई भावी सभापतिका रूपमा स्वीकार्दा रामचन्द्र पौडेल र सिटौलाले पार्टीको नेतृत्वमा पुग्ने अवसर गुमाउने छन्। पौडेल, सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी एकै ठाउँमा उभिने प्रयासमा रहेजस्तो देखिए पनि उनीहरू एउटै अजेन्डाका साथ प्रस्तुत हुनसकेका छैनन्।
“कांग्रेसभित्र व्यक्तित्व धेरै भए, उनीहरूको व्यवस्थापन गर्न सक्ने ‘टावरिङ पर्सनालिटी’ भएन,” विश्लेषक आचार्य भन्छन्, “गुटहरू बन्ने क्रममा व्यक्तित्वहरू भोट ब्यांक बन्छन्। आसन्न महासमिति र १४औं महाधिवेशनमा ती भोट ब्यांकको ठूलो महत्व हुन्छ।”
गुटहरूबीच एकता र विभाजन पार्टीको १४औं महाधिवेशन सम्पन्न नहुँदासम्म कायम रहने देखिएको छ। आन्तरिक किचलोमा रुमल्लिंदै गर्दा कांग्रेस राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षी दलको भूमिका वहन गर्नबाट भने चुक्दै गएको छ।
गच्छदार-निधि समीकरण !
कांग्रेसमा मधेशी नेताहरूको अभाव छ। शीर्ष नेतृत्वमा मधेशबाट एक्ला निधि मात्रै रहेको अवस्थामा गच्छदार भित्रिनु कांग्रेसका लागि लाभदायक देखिन्छ।
निधिको तुलनामा गच्छदारको राजनीतिक व्यक्तित्व पुरानो हो, कांग्रेसमा। गच्छदारले २० वर्षअघि नै पूर्वाञ्चलको क्षेत्रीय सदस्य जितेका थिए, बीपी पुत्र प्रकाश कोइरालालाई हराएर। त्यतिबेला विमलेन्द्र निधि मध्यमाञ्चल क्षेत्रीय सदस्यमा पराजित भएका थिए, भीमबहादुर तामाङसँग। महामन्त्रीमा पनि निधि प्रकाशमान सिंहसँग पराजित भए। “यी दुई नेताले आफूलाई प्रतिस्पर्धी ठान्न थाल्दा समस्या आउनेछ, देउवा क्याम्पमा,” आचार्य भन्छन्, “मिलेर गए भने मधेशमा संगठनलाई पुनर्जीवित गराउन सक्छन्।”
मधेशमा कांग्रेसले आफ्ना अजेन्डा प्रस्तुत गर्न नसक्दा आफ्नो पुरानो सांगठनिक आधार गुमाएको बताउने राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्र पाण्डे यी दुई नेतालाई अगाडि लगाएर त्यो आधार फर्काउन सकिने बताउँछन्। भन्छन्, “गच्छदार र निधि मधेशले पत्याएका नेता हुन्, दुवैको अगुवाइमा मधेशमा जान सक्दा कांग्रेसको पुरानो साख ब्युँताउन सकिन्छ।”