सरकारबाट सहायता हत्याउने निगमको दाउ, वाइड बडी नकिन्न पहिल्यै गराइएको थियो सचेत
पटक–पटकका सुझाव र प्रतिवेदनका बावजुद एअरबसका वाइड बडी विमान खरीद गरेरै छाडेको नेपाल वायु सेवा निगम नेतृत्व अन्ततः सरकारी सहायता प्राप्त नभए संस्था आर्थिक रूपमा टाट पल्टिने निष्कर्षमा पुगेको छ।
२९ कात्तिकमा नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले श्वेतपत्र जारी गर्दै सरकारले तत्काल सहायता नदिए निगम वर्षदिनभित्रै टाट पल्टिने दाबी गरे।
गत १४ असार र १० साउनमा निगमले एयरबसका ३३०-२२० सिरिजका वाइडबडी विमान भित्र्याएको हो। जबकि, यस्ता विमानहरू भित्रिए निगम टाट उल्टिनसक्ने भन्दै हिमाल खबरपत्रिकाले त्यसअघि नै रिपोर्ट प्रकाशित गरेको थियो।
नेपाल वायु सेवा निगमले भित्र्याएका दुवै वाइड बडी विमानले क्षमताअनुसारको गन्तव्यमा उड्न पाएका छैनन्। ती विमानलाई निगमले न्यारो बडी विमानकै गन्तव्यमा ‘बिजनेश’ दिएको छ।
दुवै विमान खरिद गर्दा लिएको ऋणवापत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई वार्षिक रु. २ अर्ब ५२ करोड व्याज मात्र भुक्तानी गर्नुपर्छ।
एउटा वाइड बडीका लागि पाइलटसहित १८ जनाको जनशक्ति आवश्यक हुन्छ। तर, वाइड बडीका लागि नेपाली पाइलट ९ जना मात्र तयार भएका छन्। र, निगमले विदेशी पाइलट पनि ६ जना मात्र भित्र्याउन सकेको छ। अर्थात्, वाइड बडी विमानका लागि महँगा विदेशी पाइलटमा निर्भर रहनुपर्ने बाध्यतामा छ, निगम।
निगम अध्यक्ष खरेलले २९ कात्तिकमा जारी गरेको श्वेतपत्रमा उल्लेखित आर्थिक संकटको प्रसंगको आयाम भने फरक देखिन्छ। निगमले ९ जेठ ०७४ मा सरकारसँग रु. २० अर्ब पूँजी थपिदिन आग्रह गरेको थियो। सरकारले यस आर्थिक वर्षमा रु. ५ अर्ब पूँजी थपिदिने मौखिक आश्वासन दिएको निगम महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउँदै आएका थिए।
तर, सरकारले निगमको पूँजी वृद्धिलाई प्राथमिकता नदिएपछि पुनः गत ६ कात्तिकमा निगम व्यवस्थापनले रु. २० अर्ब पूँजी थपिदिन आग्रह गरेको छ। त्यसमा पनि सरकार सकारात्मक नदेखिएपछि दबाबस्वरूप २९ कात्तिकमा श्वेतपत्र जारी गर्दै टाट उल्टिने अवस्थामा राष्ट्रिय ध्वजावाहक पुगेको दाबी गरेको खुलेको छ।
उता, सरकारले पूँजी थपिदिएमा त्यसलाई वाइड बडीको घाटा पूर्तिका लागि नभई आन्तरिक उडानमा थप जहाज खरिदमा प्रयोग गर्ने निगम व्यवस्थापनको तयारी थियो।
ट्रंक रुटका लागि ८० सिट क्षमतासम्मका जहाज खरीद गर्ने निगमको तयारी थियो। हाल बुद्ध एअर र यती एअरलाइन्सले सञ्चालन गरिरहेजस्तो एटीआर या सौर्य र श्री एअरलाइन्सका बर्बार्डियरमध्ये कुनै एक प्रकारका २ वटा जहाज खरिद गर्ने योजना महाप्रबन्धक कंसाकारको थियो।
पहाडी गन्तव्यका लागि थप ६ वटा भाइकिङ कम्पनीका ट्विअटर जहाज थप्ने योजना पनि थियो उनको। जबकि, अहिले आन्तरिक उडानमा रहेका चीनमा निर्मित ‘एमए-६०’ र ‘वाई-१२ ई’ जहाज नै निगमले पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको छैन।
यस्तो अवस्थामा ‘फ्लिट’को प्रकार बढाउँदा निगममा अझ बढी भद्रगोल अवस्था उत्पन्न हुने जानकारहरू बताउँछन्।
आफ्नो कार्यकाल समाप्त हुँदै गर्दा आन्तरिक उडानमा ८ वटा जहाज भित्र्याइसक्ने हतारोमा देखिन्छन्, कंसाकार। उनको कार्यकाल अब ७ महीना मात्र बाँकी छ।
कंसाकार कार्यकारी अध्यक्ष छँदा यसअघि नै विज्ञ र परामर्शदाताको सुझाव, संसदीय समितिको चेतावनी र चौतर्फी विरोध हुँदाहुँदै एकपक्षीय ढङ्गले वाइड बडीको जहाज खरीद प्रक्रिया अघि बढाएर निगम सञ्चालक समितिले अन्ततः निगम नै डुबाउने अध्याय शुरु भएको थियो। (हेर्नूस् हस्तक्षेप गर)
निगमबाटै नियुक्त परामर्शदाता ‘सेन्टर फर एसिया प्यासिफिक एभिएशन’ (कापा) ले वाइड बडी जहाज खरीद गरे चार वर्षसम्म वार्षिक रु.१ अर्ब ५० करोडका दरले घाटा व्यहोर्नुपर्ने चेतावनीपूर्ण सुझाव त्यतिबेलै दिएको थियो।
कापाको रिपोर्ट लत्याउँदै सञ्चालकहरूले खरीद प्रक्रिया अघि बढाउन थालेपछि व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले पनि प्रक्रिया पारदर्शी र नियमसम्मत नभएको भनी छानबिन थालेको थियो।
निगमका त्यतिबेलाका एक उच्च अधिकारीका अनुसार अमेरिकी विमान निर्माता कम्पनीले बोइङले सीधै कमिसन नदिने हुँदा बढी कमिसन दिने वाइडबडी एअरबसमा निगमको रोजाइमा परेको हो।
कंसाकार कार्यकारी अध्यक्षमा बहाल रहेका बेला संसद्को लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण सफलता हात नलागेपछि उनले प्रबन्ध निर्देशकका रूपमा निगम प्रवेश गरेको दोस्रो कार्यकालमा पुरानो योजना लागू गराएरै छाडेको देखिन्छ।
त्यतिबेला लेखा समिति सदस्य रहेका हालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमालखबरसँग भनेका थिए, “समितिले गम्भीरतापूर्वक छानबिन शुरु गरेको छ । निश्चिन्त हुनूस्, यो निगमको हित विपरीत छ र अनियमितता भएको छ भने हामी सिङ्गो प्रक्रिया रोक्छौं।”
अघिल्लो पटक न्यारो बडी र वाइड बडी खरीद प्रक्रिया अगाडि बढ्दै गर्दा निगमका अधिकारीहरूले नै ६ महीनाभित्र संस्था टाट पल्टिने प्रक्षेपण गरेका थिए। (हेर्नूस्- अनावश्यक जहाजको ‘उद्यम’)
कापाको रिपोर्टमा राष्ट्रिय ध्वजावाहकको समग्र रणनीतिमाथि नै प्रश्न उठाइएको थियो। आफूलाई नाफा कमाउने या देशको अर्थतन्त्रलाई टेवा दिने कस्तो बनाउन खोजेको हो भन्ने उद्देश्य प्रस्ट नरहेको प्रतिवेदन दिएको थियो, कापाले।
अमेरिकी विमान निर्माता कम्पनी बोइङले निगमलाई वाइड बडी या एअरबसका विमानको चक्करमा लाग्नुभन्दा आफ्नै ७३७-८०० विमान खरीद गर्दा नाफा कमाउन सक्ने सुझाव दिएको थियो। (हेर्नूस् रित्तै नेवानि)