सोख घोडचढीको (फोटो फिचर)
ललितपुर धापाखेलकी देछेन शेर्पा (७) पछिल्लो एक महीनादेखि प्रत्येक शनिबार र आइतबार दिउँसो केहीबेर ‘हर्स राइडिङ’ गर्छिन्। आफूभन्दा तीन फुट अग्लो घोडालाई नडराई डोर्याउँछिन् र सवार हुन्छिन्।
“लगाम समाएर दायाँ मोडिनुपर्दा दायाँ खुट्टाले र बायाँ मोडिनुपर्दा बायाँ खुट्टाले घोडालाई धक्का दिन्छु। अडिनुपर्यो भने लगाम खिच्छु,” उनी भन्छिन्, “टीभीमा जोडले दौडिएको घोडामाथि मान्छे अडिएको मनपर्छ।”
१० असोजमा ललितपुर धापाखेलस्थित फ्लाइङ हर्समा भेटिएकी देछेनकी आमा लाक्पा शेर्पा छोरीको रुचि घोडचढीमा भएको बताउँछिन्। भन्छिन्, “उसले रुचि देखाएकाले घोडचढी सिकाउन ल्याएकी हुँ। उसमा जनावरप्रतिको प्रेम पनि बढ्दो छ।”
ललितपुर ग्वार्को बस्ने निहाल मोहम्मद (८) ले पनि पछिल्लो दुई महीनादेखि साताको एक दिन हर्स राइडिङ गर्छन्। एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत उनका बाबु गुलाम मोहम्मदको नियमित काम जस्तै भएको छ, हरेक सप्ताहान्त निहाललाई ‘हर्स राइडिङ’ स्थल लैजानु। “ऊ एक टकले टीभीमा घोडदौड हेर्छ र मलाई पनि यस्तै बन्ने इच्छा छ भनिरहन्छ,” पाकिस्तानी बाबु गुलाम भन्छन्, “उसले एक घण्टा अदबसाथ लगाम खिचेको म आँखा नझिम्क्यार्इ हेर्छु र रोमाञ्चित हुन्छु।”
घोडचढी तालिम लिइरहेकी सात वर्षीया देछेन भन्छिन्, “टीभीमा जोडले दौडिएको घोडामाथि मान्छे अडिएको मनपर्छ।”
घोडामाथि चढेर काठमाडौं फन्को मार्ने चाहनाले ललितपुरकी पूजा गुरुङ (२७) लाई पनि ‘फ्लाइङ हर्स’ सम्म पुर्यायो। उनी पछिल्लो तीन महीनादेखि घोडचढी तालिम लिंदै सोही संस्थामा काम पनि गर्छिन्। उनको अनुभवमा घोडचढीका लागि मनमा एकाग्रता चाहिन्छ। “घोडाले आफूमाथि चढेको मान्छेको ठीक समयमा आदेश पर्खिरहेको हुन्छ,” उनी भन्छिन्, “भोकाएको र सम्भोगका लागि आतुर घोडामा चढ्नु जोखिमपूर्ण हुन्छ।”
काठमाडौंको बालुवाटारस्थित एन्जल हर्स एण्ड स्टेबलका प्रबन्धक अनुरागमान कुँवर (३८) आफू सानैदेखि घोडचढीको सौखिन भएको बताउँछन्। बाबुबाजेका पालादेखि नै घरमा घोडा देखेका उनी घोडालाई सवारीको ‘राजकीय साधन’ भन्छन्। “राजा-महाराजाहरू घोडामा चढेर अदबसाथ हिंडेको दृश्य काठमाडौंको कुलीन समाजले अझै भुलेको छैन। घोडा हाँक्न र विवाहमा बग्गीमा अन्मिन चाहने युवाको संख्या पनि बढ्दो छ।”
आठ वर्षअघि खुलेको उनको अश्वशालामा युरोप र एशियाको मिक्स ब्रिडका सात वटा घोडा छन् भने विवाहका लागि प्रयोग हुने चार वटा बग्गी पनि राखिएको छ। काठमाडौंमा दूरी हेरी एउटा विवाहका लागि रु.६५ हजारदेखि रु.१ लाख २० हजारसम्म लिने गरेको उनको भनाइ छ।
उपत्यकाभित्र व्यावसायिक रूपमा घोडचढी सिकाउनले आधा घण्टा घोडा चढ्न सिकाएको रु.१५०० लिने गरेका छन्। ६ महीनाअघि खुलेको फ्लाइङ हर्सका प्रबन्धक रिचेस वैद्य आधा घण्टाका दरले पाँच पटकको प्याकेजका लागि रु.७ हजार लिने बताउँछन्। १० वटा घोडा राखेका वैद्य भन्छन्, “दैनिक सरदर ३५ जना घोडचढीका सौखिन ग्राहक आइरहेका छन्।”
उनले भारतको राजस्थान र कानपुरबाट एउटा घोडालाई रु.१ लाख ५० हजारदेखि रु.३ लाखसम्म तिरेर ल्याएका हुन्। “घोडचढी मेरो पुस्ताका लागि महँगो सोख हो,” उनी भन्छन्, “घोडालाई जति प्रिय व्यवहार गर्यो, उति फूर्तिसाथ दौडिन्छ।”