राप्रपा एकताः फुकेन ‘राजतन्त्र’ र ‘गाई’ को गाँठो
काठमाडौं- तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिएका तीन समूह २६ कात्तिकमा एकता गर्ने तयारीमा थिए। एकताको घोषणासभाका लागि राष्ट्रिय सभागृह ‘बुक’ भइसकेको थियो। बारम्बार फुट्दै जुट्दै गरेका कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वका यी समूहका कार्यकर्तामा पनि एक खालको उत्साह थियो। तर, एकाएक सभा रद्द भयो।
पूर्वपञ्चहरूका तीन वटा पार्टीबीच तीन महीना अघिदेखि एकताका लागि तीव्र अभ्यास भइरहेको थियो। थापा र राणाबीच सात पटकसम्म भएको छलफलपछि एकता प्रक्रिया अन्तिम मोडमा पुगिसकेको थियो। त्यसैबेला राप्रपाले एकता हुने प्रचार गर्यो। दुई दलबीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेपछि लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीलाई पनि एकता प्रक्रियामा सामेल गराउने प्रयास भयो।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको २५ कात्तिकको बैठकमा अध्यक्ष कमल थापाले २६ कात्तिकमा तीन पार्टीबीच एकताको घोषणा गरिने जानकारी गराए। तर, बैठक चलिरहँदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले थापालाई फोन गरेर महाराजगञ्जको एक होटलमा भेट्न बोलाए। त्यो वार्ताबाट भने परिणाम सकारात्मक आएन।
पार्टीको नाम राप्रपा र झण्डामा गाई चिन्ह राख्ने सहमति यसअघि नै भइसकेको थियो। तर, चुनाव चिन्हमा सहमति हुन जुटेन। थापाले गाईको अडान छाडेनन्, राणा हलोमा अडिए। राणाले ‘राजसंस्था’ को सट्टा ‘परम्परागत शक्ति’ मा जोड दिए। त्यसमा थापा सहमत भएनन्।
अन्तिममा राणाले लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको केन्द्रीय कार्यसम्पादन समिति बैठक नबसेको औंल्याउँदै २-३ साताको समय मागेपछि एकता प्रक्रिया अघि बढ्न सकेको छैन।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भने एकता प्रक्रियामा केही ढिलाई मात्र भएको बताउँछन्। उनी भन्छन्, “एकता प्रक्रिया केही समयका लागि मात्र रोकिएको हो।”
अध्यक्ष कमल थापाको विरोधी समूहमा उभिएका पूर्वमहामन्त्री जयन्त चन्दको भनाइ भने फरक छ। “केही व्यक्तिहरूले एकताको जस लिने उद्देश्यका साथ नाटकीय ढंगबाट घोषणा सभा गर्न खोजे, त्यसै कारण दुर्घटना भयो,” चन्द भन्छन्, “व्यापक छलफल र परामर्शबाट निष्कर्षमा पुगेको भए यस्तो अवस्था आउने थिएन।”
उनका अनुसार राप्रपाकै नेताहरूले पनि सामाजिक सञ्जालबाट पार्टी एकताको घोषणा सभाबारे जानकारी पाएका थिए। “जे कारणले फुट्यो, एकतामा पनि त्यही कुरा बाधक देखिन्छ,” चन्द भन्छन्। उनको भनाइको आशय अध्यक्ष थापाको अपरिपक्व कार्यशैलीतिर लक्षित छ।
तीन दलबीच एकताका लागि अन्य धेरै विषयमा भने सहमति जुटिसकेको थियो। त्यसमध्ये एक थियो, केन्द्रीय समिति १८२ सदस्यीय बनाउने। त्यसमा राप्रपाबाट ८६, राप्रपा प्रजातान्त्रिकबाट ७६ र राप्रपा राष्ट्रवादीबाट २० जना रहने सहमति थियो।
यस्तै, केन्द्रीय कार्यसम्पादन समिति २७ सदस्यीय हुने, जसमा थापा र राणाका १२-१२ र लोहनीका ३ जना रहने सहमति भएको थियो। तीन वटै विधानलाई एकीकृत गरेर एउटा विधान बनाउने र त्यतिन्जेल फागुन ०७३ को एकता महाधिवेशनबाट पारित विधान प्रयोग गर्ने सहमति पनि थियो।
तर, नाम राप्रपा, झण्डा पनि राप्रपाकै र चुनाव चिन्हसमेत गाई रहने थापाको अडानले एकता स्थगित भयो। राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष केशरबहादुर बिष्ट भन्छन्, “मिल्ने-मिल्ने भनेपछि कमल थापाले सबैले उहाँका अगाडि घुँडा टेक्ने भन्ने अर्थ लगाउनुभएछ, जुन सम्भव छैन। उहाँकै कारणले पार्टी तीन टुक्रा भएको छ, फेरि उहाँसँगै लम्पसार पर्ने कुरा हुँदैन।”
राप्रपा अध्यक्ष थापा ‘उत्ताउलो’ भएर पार्टी एकता घोषणा गरिहाल्ने मनस्थितिमा पुगेको उनको भनाइ छ। “तीन वटा पार्टी मिल्ने भएपछि लेनदेन पनि मिलाउनु पर्यो,” बिष्ट भन्छन्, “सहमतिलाई आ-आफ्नो पार्टीका कार्यसम्पादन समितिको बैठकबाट पारित पनि गर्नुपर्यो। विधान र चुनाव चिन्हको विषयमा पनि कुरा मिल्न सकेन।”
तथापि, संवैधानिक राजतन्त्र र सर्वधर्म समभावसहितको हिन्दूराष्ट्रको अजेण्डामा सबै पार्टी एकै ठाउँमा रहेको उनको भनाइ छ।
राप्रपा अध्यक्ष थापा र राष्ट्रवादीका अध्यक्ष लोहनीबीच पनि केही चरण वार्ता भएको थियो। धुम्बाराहीस्थित एक नेताको घरमा लक्ष्मीपूजाका दिन बिहान अढाइ घण्टा भएको छलफलपछि बाहिर निस्कँदा दुवै खुशी देखिन्थे। तर, लोहनीले अलि बढी नै मागेको थापाले आफू निकटस्थलाई बताएका छन्।
गत वर्ष सम्पन्न तीन वटै तहका निर्वाचनमा भोगेको अत्यासलाग्दो पराजयबाट झस्किएका थापा आफ्नै पार्टीभित्र पनि असन्तुष्टिका स्वरहरू बढदै गएपछि सबै मिलेर आफूलाई घेराबन्दी गर्न खोजेको बुझाइमा छन्। पार्टीभित्र बुद्धिमान तामाङलगायत नेता उनको विपक्षमा उभिएका छन्। यसै रस्साकस्सीबीच दुई महिनाअघि पार्टी पदाधिकारीहरू सबैलाई पदमुक्त गरेपछि अध्यक्ष थापाविरुद्धको असन्तुष्टी झन् चुलिएको छ।
कमल थापा नेतृत्वको राप्रपा अहिले पनि यी तीन समूहमध्ये सबैभन्दा ठूलो दल हो। थापाको राप्रपाले गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एक लाख ९६ हजार मत पाएको थियो। राणाको दलले ९४ हजार र लोहनीको दलले करिब ४० हजार मत प्राप्त गरेका थिए।
राप्रपाले प्रतिनिधिसभामा १, प्रदेशसभामा ३ र स्थानीय तहमा १५ ठाउँमा राप्रपाले जित हासिल गरेको थियो। ‘गाई’ चुनाव चिन्हका कारण आफ्नो राजनीतिक अस्तित्व कायम रहेको बुझाइका कारण थापा त्यसलाई त्याग्ने मनस्थितिमा देखिँदैनन्।
यसअघि पनि अलग-अलग दल बनाएर राजनीति गरिरहेका पूर्वपञ्चहरू ६ मंसिर ०७३ मा एकठाउँमा आइपुगेका थिए। त्यसबेला एकता महाधिवेशनसमेत सम्पन्न गरे पनि त्यो लामो समय टिकेन। भदौ ०७४ मा फेरि विभाजित भएका उनीहरू प्रतिनिधिसभा-प्रदेश सभा निर्वाचनमा पनि अलग-अलग हैसियतमै होमिए।
राप्रपा गठनका बेलादेखि नै टुटफुटको नियतीबाट गुज्रँदै आएको छ। ०४७ सालमा पार्टी स्थापना हुँदा पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका अलग-अलग दल अस्तित्वमा आए। त्यसपछि पनि विभाजनको नियतीबाट पूर्वपञ्चहरू मुक्त हुन सकेका छैनन्।
खासगरी, १८ असोज ०५९ र १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले चालेका कदमलाई हेर्ने दृष्टिकोणमा फरकपन देखिँदा पूर्वपञ्चहरू छिन्नभिन्न भएका थिए।
पटक पटक राप्रपामा फुट आउनुको मुख्य कारण सरकारमा पुग्ने प्रतिस्पर्धा हुने गथ्र्यो। यसपटक पनि ‘राजसंस्थासहितको प्रजातन्त्र’ को अजेण्डा तीन वटा दलको एकतामा अवरोधका रूपमा देखिएको छ।