दुर्व्यवहारको आरोपमा फसेका 'संस्कारी पिता' कलाकार संघबाट निष्कासित
बलिउड अभिनेता तथा टेलिभिजन जगतमा 'संस्कारी पिता'का रूपमा चर्चित आलोक नाथलाई ठूलो झट्का लागेको छ। विभिन्न महिलाबाट यौनशोषणको आरोप खेपेका उनलाई सिने एण्ड टीभी आर्टिस्ट एसोसिएसन (सिन्टा) ले निष्कासन गरेको छ।
एसोसिएसनले माइक्रो ब्लग ट्विटरमार्फत यसबारे आधिकारिक घोषणा गरेको हो। एसोसिएसनले ट्विटमा लेखेको छ, "आलोक नाथविरुद्ध लागेका यौन शोषण र दुर्व्यवहारका कैयौं आरोपहरूबारे विचार गरेपछि कमिटीले उनलाई एसोसिएसनबाट निष्कासन गर्ने निर्णय गरेको छ।"
एसोसिएसनसम्बद्ध अधिकारी अमित बहलले सञ्चार माध्यमसँग भने, "स्पष्टीकरणको जवाफ नदिएपछि आलोक नाथलाई एसोसिएसनले निष्कासन गरेको छ। उनले स्पष्टीकरणमा आफ्नो कुरा राख्ने अपेक्षा गरिएको थियो तर जवाफ नै पठाएनन्। उनको सोही रबैयाका कारण एसोसिएसनले यो निर्णय लियो।"
एसोसिएसनले सदस्यबाट निष्कासन गरे पनि फिल्म र टीभीको नयाँ प्रोजेक्टमा आलोक नाथ जोडिन सक्ने तर त्यस क्रममा कुनै घटना भए निर्देशक आफैं जिम्मेवार हुनेसमेत बहलले बताए।
गत अक्टोबरमा विनता नन्दाले आलोक नाथले दुई दशकअघि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। 'संस्कारी व्यक्ति' को छवि बनाएका कलाकारविरुद्ध उक्त आरोप सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका थिए। विनताले फेसबुक पोस्टमार्फत आफ्नो भोगाइ सबैमाझ ल्याएकी थिइन्। उनले आलोकको घरमा भएको पार्टीबाट फर्किन लाग्दा जबर्जस्ती मदिरा खुवाएर घरमै लगी बलात्कार गरेको उल्लेख गरेकी थिइन्।
विनता सन् १९९० को दशकको टीभी सिरियल 'तारा'की लेखक र निर्माता थिइन्, जसको मुख्य भूमिकामा आलोक नाथले काम गरेका थिए।
विनताले आफूमाथिको दुर्व्यवहारको घटना सार्वजनिक गरेपछि अरू महिलाले पनि आलोक नाथमाथि यौन शोषण र दुर्व्यवहारको आरोप लगाएका थिए। उक्त प्रकरणपछि आलोक नाथकी पत्नीले विनताविरुद्ध मानहानिको मुद्दा दायर गरेकी थिइन्। आलोकले आफूलाई निर्दोष बताएका छन्। एजेन्सी