मेक्सिकोमा पनि कुकुर तिहार (भिडियो)
मेक्सिको सिटीमा पनि कुकुर तिहार मनाउन थालिएको छ।
तिहारमा कुकुर पूजा गर्ने नेपाली परम्परालाई मेक्सिकोले सन् २०१६ देखि पछ्याउन शुरु गरेको हो। मेक्सिकोका पशु अधिकार समूहहरूको संयुक्त प्रयासमा राजधानी मेक्सिको सिटीमा यस वर्ष पनि कुकुर तिहार मनाइएको छ।
गत साता नेपालमा कुकुर तिहार मनाइएपछि मेक्सिको सिटीका नागरिकहरूले रिभोल्युसन स्क्वायर र पुअर्तो भयार्तामा आफ्ना कुकुर ल्याएर माला र अबिर लगाइदिए, नेपालमा जस्तै।
पशुहरूलाई सम्मान गरिने नेपाली परम्पराबाटै प्रेरित भएर सन् २०१६ देखि मेक्सिकोमा पनि यो पर्व मनाउन थालिएको आयोजकमध्ये एक एन्टिमियो माया बताउँछन् । मेक्सिकोमा पनि कुकुर तिहार नै भनिएको यो पर्वले मेक्सिकोमा विस्तारै लोकप्रियता हासिल गरिरहेको छ।
“हामीले पालेका कुकुरलाई सम्मान दिनुपर्छ भन्ने जागरुकता फैलाउनु जरुरी छ,” मेक्सिकोमा कुकुर तिहारका आयोजक मार्था दाउले एल युनिभर्सल पत्रिकासँग भनेकी छन्, “पशुलाई कुनै नोक्सान नपु¥याउने र माया गर्ने मान्छेले मान्छेलाई पनि कुनै नोक्सान पुर्याउँदैन भन्नेमा हामी सचेत छौं।”
यस वर्षको कुकुर तिहारमा पुअर्तो भयार्ता र रिभोल्युसन स्क्वायरमा सयपत्रीका पहेंला माला पहिरिएका र अबिरले रंगिएका कुकुरको दृष्य नेपालकै जस्तो देखिएको थियो।
एन्टिमियो मायाका अनुसार नेपालमा कुकुरलाई यमराजका दूत मानेर पूजा गरिने परम्पराकै सिको मेक्सिकोमा गरिएको हो। उनी भन्छन्, “हामीलाई आशा छ, यो पर्व मेक्सिकोभर फैलियोस् र त्यागिएका कुकुरप्रतिको जागरुकता बढोस्, जसले मानिसहरूमा कुकुरप्रति कृतज्ञताको भाव बढोस्।”
कुकुर तिहारका बेला मेक्सिकनले आफ्ना कुकुरलाई विशेष खाना खुवाउनुका साथै उनीहरूसँग खेलेर समय बिताएका थिए। पुअर्तो भयार्तास्थित होटेल पुअर्तो डी लुनामा रंगोलीसमेत बनाएर कुकुर तिहार मनाइएको थियो।
यस अवसरमा गत वर्ष मेक्सिकोमा गएको भूकम्पमा मारिएका कुकुरहरूको सम्मानमा एक मिनट मौनधारणसमेत गरिएको थियो।
हेर्नूस् भिडियो