बलिउडका केही मानिस मेरो फिल्म रिलिज नहोस् भन्ने चाहन्छन् : गोविन्दा
बलिउड अभिनेता गोविन्दाले फिल्म उद्योगको एउटा समूह आफ्नो फिल्म रिलिज हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।
आफ्नो फिल्म ‘रंगीला राजा’माथि सेन्सर बोर्डले कैंची चलाएपछि प्रतिक्रिया दिँदै उनले आक्रोश पोखेका हुन्।
केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) ले उक्त फिल्मको २० वटा दृश्य हटाउन निर्देशन दिएको छ। "फिल्म उद्योगमा मानिसहरूको एउटा समूह छ, जो मेरोविरुद्ध षडयन्त्र रचिरहेको छ," गोविन्दाले भनेका छन्, "यस्तो विगत ९ वर्षदेखि भइरहेको छ। उनीहरूले मेरो फिल्मलाई कुनै राम्रो मञ्चमा रिलिज हुन दिइरहेका छैनन्।"
आफ्ना फिल्महरू रिलिज नै नहुन् वा तिनलाई राम्रो हल र स्क्रिन प्राप्त नहोस् भनेर त्यो समूहले प्रपञ्च गर्ने गरेको गोविन्दाको भनाइ छ। "यसको ताजा उदाहरण गत महिना मात्र रिलिज भएको मेरो फिल्म 'फ्राइडे' हो, यसले मिडियाबाट राम्रो प्रतिक्रिया पाए पनि थिएटरबाट फिल्म चाँडै हटाइयो," उनी भन्छन्।
‘रंगीला राजा’को निर्देशन सेन्सर बोर्डकै पूर्वप्रमुख तथा फिल्मकर्मी पहलाज निहलानीले गरेका हुन्। यसैबीच, निर्देशक निहलानी सीबीएफसीले दिएको निर्देशनको विरोध गर्दै मुम्बई उच्च अदालत पुगेका छन्।
निहलानीकै फिल्म 'इल्जाम' (सन् १९८६) बाट अभिनय यात्रा शुरु गरेका गोविन्दाले त्यसपछि उनीसँग 'शोला और शबनम' (१९९२) र 'आँखें' (१९९३) मा काम गरेका थिए। पछिल्ला दुवै फिल्म सुपरहिट भएका थिए।
कुनै समय बक्स-अफिसमा हरदम छाइरहने अभिनेता गोविन्दाका पछिल्ला कैयौं फिल्म असफल भइरहेका छन्। यसअघि मार्च २०१७ मा गोविन्दा 'आ गया हिरो' मार्फत् ठूलो पर्दामा फर्किने प्रयास गरेका थिए। तर, फिल्मले बक्स-अफिसमा निराशाजनक परिणाम पायो। एक वर्षपछि उनी फेरि फिल्ममा आउन लाग्दा सेन्सर बोर्डको चपेटामा परेको छ। ‘रंगीला राजा’ ले गोविन्दाको करिअरमा नयाँ उडान दिने अपेक्षा गरिएको छ। एजेन्सी