चाडबाडमै पनि रक्तदानमा रमाउँछन् बुटवलका युवा (फोटो फिचर)
बुटवल- शहरमा तिहारको रौनक बढ्दै गर्दा शुक्रबार बुटवलका केही युवालाई भने त्यसले पटक्कै नछोएजस्तो लाग्थ्यो। उनीहरू बटुवाहरूलाई समेत रक्तदान गर्न निम्त्याउँदै थिए।
उनीहरूकै साथीसँगीहरूलाई भने प्रहरीले जुवाको खालबाट नियन्त्रणमा लिइरहेको थियो, जो भाइटीका सकिनासाथ जुवातास र मध्यपानमा रमाइरहेका थिए।
नियमित रक्तदाता समूह रूपन्देहीमा आवद्ध युवालाई तिहारको रौनकभन्दा बेग्लै चिन्ताले सताएको थियो। ‘ब्लड ब्यांक’मा रगतको स्टक सकिन नदिन रक्तदानका लागि स्थानीय बासिन्दालाई आग्रह गर्दै थिए।
सामाजिक सञ्जालमा उनीहरूको स्ट्याटस शेयर भइरहेको थियो, “रक्तदान शुरु भइसक्यो। छिटो आउनूस् है। चाडपर्वका कारण ब्लड बैंकमा रगतको स्टक कम छ।”
समूहका अध्यक्ष कृष्ण चौहानका अनुसार शुक्रबार मात्रै ३५ जनाबाट ३५ युनिट रगत संकलन भयो।
दशैं-तिहारजस्ता पर्वहरूमा रक्तदान गर्नेहरू कम हुने तर दुर्घटना र बिरामी बढ्ने भएकाले यस्तो अभियानमा लाग्नुपरेको अध्यक्ष चौहान बताउँछन्।
उनका अनुसार करिब ७ वर्षअघि शुरु गरिएको रक्तदान अभियानमा हालसम्म ८ हजार ६०० जनाबाट करिब ३ हजार लिटर रक्तदान भएको छ। एक युनिटमा ३५० देखि ४०० एमएल हुन्छ।
रक्तदान अभियान सञ्चालन गर्न बुटवल र आसपासका करिब ५०० युवा खटेका छन्। चौहान भन्छन्, “व्यक्तिअनुसार खुशी हुने तरिका फरक हुन्छ। हामीलाई रक्तदानमै खुशी मिल्छ।”