फ्रान्सको प्रतिष्ठित साहित्य पुरस्कार म्याथुलाई
पेरिस- निकोलस म्याथ्युको उदासी किशोरको कथालाई फ्रान्सको प्रतिष्ठित प्रिम्स गोन्कर्ट साहित्य पुरस्कारद्वारा सम्मान गरिएको छ।
उनको दोस्रो उपन्यास लेयर्स इन्फ्यान्टस एपेक्स एक्स (उनीहरू पछिपछि बच्चाहरू) नामक उपन्यासमा सन् १९९५ पछिको फ्रान्सको औद्योगिक मन्दी र किशोर लोभलालचको चित्रण गरिएको छ। “कृतिका लागि मैले आफैंलाई १८ महिनासम्म एउटा बन्द कोठामा सीमित गरेको थिएँ,” चालिस वर्षीय पूर्वपत्रकार म्याथ्युले भने।
एक उराठ औद्योगिक नगरबाट छुटकारा पाउने तीव्र आकांक्षा बोकेका किशोरहरूका चार वर्षको समयावधिलाई उपन्यासमा चित्रण गरिएको छ। भोगेको संसारलाई पुस्तकमा उतार्न भरमग्दुर प्रयास गरेको म्याथुले बताए।
दश यूरोको सामान्य राशी भएको गोन्कर्ट साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकार एकाएक चर्चाको शिखरमा पुग्छन्। र, कृतिले ठूलो व्यापार गर्न सफल हुन्छन्।
सन् २०१४ मा म्याथ्युको पहिलो उपन्यास ‘एक्स एनेमक्स ला गेरे’ प्रकाशित भएको थियो। उक्त उपन्यासमा पनि उनले विश्व व्यापारीकरणले फ्रान्सको एक शहरमा पारेको नकारात्मक प्रभाव चित्रण गरेका थिए। एएफपी