भूकम्पको ’कथा ७२’ २८ मंसिरदेखि
काठमाडौं- लोकल सिनेमाको ब्यानरमा निर्माण भएको ‘कथा ७२’ २८ मंसिरदेखि देशभर प्रदर्नमा आउने भएको छ।
१२ वैशाख ०७२ को महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावसम्बन्धी कथा छ, ‘कथा ७२’ मा। त्यसअघि २१ मंसिरदेखि शुरु हुने अन्तर्राष्ट्रीय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा नेपाल प्रिमियर हुँदैछ।
सिनेमाको कथावस्तु मौलिक रहेको निर्माण पक्षले जनाएको छ। सिनेमाको लेखन र निर्देशन प्रवीण स्याङ्बोको छ। लोकल सिनेमा प्रा.लिको निर्माण तथा आइसफल प्रोडक्सन र दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई ‘सन डान्स अन्तर्राष्ट्रीय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन्।
‘कथा ७२’ को २ मिनट २६ सेकेन्डको ट्रेलरमा सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्र पाँचपोखरी, भोताङलगायत क्षेत्रका सुन्दर दृश्यहरू समेटिएको छ। फिल्ममा मानवीय यात्रामा महाभूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिनेछ।
यो सिनेमा डर्बन इन्टरनेशनल फिल्म फेस्टिभल (दक्षिण अफ्रिका), सिकागो इन्टरनेशनल फिल्म फेस्टिभल (अमेरिका), हनोइ इन्टरनेशनल फिल्म फेस्टिभल (भियतनाम), सियाटल इन्टरनेशनल फिल्म फेस्टिभल (अमेरिका)मा पनि छनोट भर्इ प्रदर्शन भइसकेको छ।
‘कथा ७२’का निर्माता आकाश पौडेल, सुशान्त श्रेष्ठ, प्रवीण स्याङ्बो र रामकृष्ण पोखरेल छन्। सिनेमामा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी र रोमसलगायतको अभिनय छ।