आफूले हात झिकेको फिल्मका लागि आमिरले सुझाए शाहरुखको नाम
आमिर खान पछिल्ला दिनमा ८ नोभेम्बरमा रिलिज हुने तयारीमा रहेको आफ्नो फिल्म 'ठग्स अफ हिन्दोस्तान' को प्रचारप्रसारमा व्यस्त छन्।
यसअघि आमिरले भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा अभिनय गर्ने बताइए पनि त्यो भूमिकामा शाहरुख खानले काम गर्ने भएका छन्। उक्त फिल्मका लागि आमिरले नै शाहरुखको नाम निर्माण टोलीलाई सुझाएको खुलेको छ।
आमिर आफैंले आइतबार बताएअनुसार अन्तरिक्ष यात्री राकेश शर्मामाथि बन्न लागेको बायोपिकका लागि उनले शाहरुखको नाम सुझाएका हुन्। र, उक्त प्रोजेक्टका लागि उनी नै उपयुक्त भएको आमिरको ठहर छ।
उक्त बायोपिकमा यसअघि आमिर र प्रियंका चोपडाले अभिनय गर्ने चर्चा थियो। प्रियंकाले नै उक्त फिल्ममा आमिरले काम गर्ने पुष्टि गरेकी थिइन्। उक्त फिल्म छोड्ने कारण सोध्दा आमिरले आफ्नै विशेष कारण रहेको बताए।
आमिरले एक साक्षात्कारमा भने, "अन्तरिक्ष यात्री शर्माको कथा आकर्षक छ, मलाई यो मन पर्यो। यो कुरा साँचो हो, मैले नै शाहरुखलाई फोन गरेर भनें- शाह, तपाईंले यसको कथा सुन्नुपर्छ। यो गजब छ। यदि तपाईंले यो रुचाउनुभयो भने तपाईंको लागि राम्रो हुनेछ। उहाँले फिल्मको कथा मन पराउनुभयो र काम गर्न लाग्दै हुनुहुन्छ, म यसमा खुशी छु।"
अञ्जुम राजाबालीले लेखेको कथालाई महेश मथाईले निर्देशन गर्न लागेका हुन्। फिल्मको नाम सम्भवत: 'सारे जहाँ से अच्छा' हुने बताइएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार शाहरूख खानको अपोजिटमा भूमि पेडेनकर देखिनेछिन्। कलाकार टोलीको आधिकारिक घोषणा चाँडै गरिने निर्मातामध्येका एक रोनी स्क्रूवालाले बताएका छन्। यस बायोपिकको छायांकन सन् २०१९ देखि शुरु गरिने बताइएको छ। एजेन्सी