पञ्चायतका ‘रुने माननीय’, बहुदलका राजनीति डोर्याउने अगुवा
काठमाडौं- नागरिक आन्दोलनका अगुवा, मानवअधिकारकर्मी र वामपन्थी नेता- पूर्वमन्त्री पद्मरत्न तुलाधरको परिचय यतिमा मात्र सीमित छैन। भाषा आन्दोलन र माओवादीसँगको शान्तिप्रक्रिया टुंग्याउन उनले गरेको महत्वपूर्ण योगदान आम नेपालीमाझ ताजै छ।
२०३६ सालको जनमतसंग्रहभन्दा अगाडि उनी प्रेस व्यवसायीको परिचयमा थिए। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी विद्यार्थी छँदा राजनीतिक गतिविधिमा सक्रिय थिए। त्यस क्रममा आवश्यक सामग्री छाप्न पद्मरत्नकै प्रेसमा पुग्ने गरेको उनी अहिले पनि सम्झन्छन्।
“हामी विद्यार्थी छँदा असनको छेउमा उहाँको प्रेस थियो। त्यहाँ हामी जान्थ्यौं, एक शब्द पनि बोल्नु हुन्नथ्यो, प्रेसको मात्र डिल गर्नु हुन्थ्यो,” डा. केसी भन्छन्।
जनमत संग्रहपछि तत्कालीन नेकपा मालेले राष्ट्रिय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार उठाउने नीति लियो। त्यही क्रममा पद्मरत्न पनि उम्मेदवार बने। त्यसबेला मात्र उनको वाकपटु व्यक्तित्व सार्वजनिक भयो। “प्रेस चलाउने पद्मरत्न र राजनीतिक नेताका रूपमा प्रकट भएको पद्मरत्नबीच आकाश–जमिनको फरक देखियो,” डा. केसी भन्छन्, “त्यस्तो गम्भीर प्रकृतिको मानिस पनि त्यति कुशल वक्ता हुँदो रहेछ भन्ने मलाई लागेको थियो।”
राष्ट्रिय पञ्चायतमा उनी धारा प्रवाह बोल्थे। तर, बोल्दाबोल्दै रुन थाल्थे। त्यसैले उनलाई ‘रुन्चे माननीय’ भनेर धेरैले गिज्याउँथे।
२०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा कांग्रेस र कम्युनिस्ट सबैको साझा उम्मेदवार बनेर पद्मरत्नले देशभरमै दोस्रो ठूलो ८३ हजार मत ल्याएका थिए। राष्ट्रिय पञ्चायतमा पनि उनले बहुदलीय व्यवस्थाका पक्षमा आवाज उठाउँथे।
२०४६ सालको परिवर्तनमा पद्मरत्नले कांग्रेस र संयुक्त वाम मोर्चालाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। जनआन्दोलनको तयारीका रूपमा कांग्रेस र वाम मोर्चाका नेताहरूबीच लैनचौरस्थित पद्मरत्नकै घरमा बैठक बस्ने गथ्र्यो।
खासगरी, जनआन्दोलनका कमान्डर गणेशमान सिंह र वामपन्थी नेताहरूबीच सेतुको काम उनले नै गरेका थिए।
आन्दोलनपछि भएको २०४८ सालको आम निर्वाचनमा उनी तत्कालीन एमालेबाट उम्मेदवार बने। त्यसपछि फेरि धारा प्रवाह बोल्ने वक्ताको रूपमा देखा परे। त्यतिबेला उनी आफूलाई अब्बल एमाले नेताका रूपमा प्रस्तुत गर्ने गर्थे। पार्टीमा आफ्नो औचित्य प्रबल छ भन्ने उनको भाव देखिने गरेको थियो।
२०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकार गठन हुँदा प्रधानमन्त्री मनमोहन अधिकारीको मन्त्रिमण्डलमा उनी स्वास्थ्य मन्त्री बने। स्वास्थ्य मन्त्रीका रूपमा भने राम्रो ‘पर्फर्मेन्स’ नदेखिएको उनका समकक्षीहरू बताउँछन्।
पद्मरत्न त्यसपछि राजनीतिमा कमजोर देखिए। त्यसपछि २०५६ सालमा भएको आम निर्वाचनमा पराजित पनि भए।
देशमा माओवादीको हिंसात्मक विद्रोह शुरु भएसँगै जातीय नारा लाग्न शुरु भयो। माओवादीले विद्रोह चर्काउने नाममा जातीयताको नारा खुबै लगाए। पद्मरत्न पनि नेपाल मंका खलःमार्फत् जातीय राजनीतिमा देखापरे। त्यसबेला उनले निर्वाचनमा सहभागी हुँदा एमालेको सूर्य चिन्ह मात्र लिएको र आफू स्वतन्त्र वामपन्थी नेता भएको अभिव्यक्ति पनि दिए।
माओवादीको सशस्त्र विद्रोह चलिरहँदा माओवादी नेताहरूसँग उनको हिमचिम बढेको देखियो। र, एमालेसँगको सम्बद्धता कमजोर देखियो।
माओवादी नेताहरूसँगको उनको हिमचिमले भने शान्ति प्रक्रियामा सहजकर्ताका रूपमा परिणाम देखायो। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कुरामा दमननाथ ढुंगानासँग मिलेर शुरुदेखि नै लागिपरेका थिए, पद्मरत्न। खासगरी, माओवादी नेताहरूसँगको उठबसका कारण उनलाई त्यस प्रक्रियामा प्रयोग गरिएको बुझाइ पनि कतिपयको छ।
“माओवादी आन्दोलन शुरु भएपछि बाहिरबाट मौनता तथा भित्रबाट माओवादी र जातीय राजनीतिमा उहाँ कुनै न कुनै रूपमा जोडिनुभयो भन्ने लाग्छ,” डा. केसी भन्छन्।
मुलुकको पहिलो राष्ट्रपति बन्ने आकांक्षा पद्मरत्नमा देखिएको थियो। मुलुकलाई दिएको योगदानका आधारमा पहिलो राष्ट्रपति बन्ने आफ्नो व्यक्तित्व रहेको बुझाइ उनले आफू निकटस्थहरूसँग व्यक्त गर्ने गरेका थिए।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइमा पद्मरत्न ‘भर्सटाइल’ व्यक्तित्व हुन्। शान्ति प्रक्रियामा शुरुदेखि नै सहजकर्ताको भूमिका निर्वाह गरेका खम्बा पनि हुन्, उनी। र, नेपालको भाषा आन्दोलनमा उनको ठूलो योगदान छ। भाषा आन्दोलनका अग्रणी अगुवा पद्मरत्न नेपाली मानवअधिकार आन्दोलनमा पहिलो पुस्ताका नेता पनि हुन्। ऋषिकेश शाह, पद्मरत्न, मथुराप्रसाद श्रेष्ठले नै नेपालमा मानव अधिकार आन्दोलनको शुरुवात गरेका थिए।
पद्मरत्नको अर्को परिचय हो- लेखक र पत्रकार। उनी खासगरी नेपाल भाषाको पत्रकारितासँग आबद्ध थिए। नेपाल भाषाको साहित्य, त्यसमा पनि नाटक लेखनमा उनको ठूलो योगदान छ। उनी नेपाल भाषा मंका खलःका आजीवन अध्यक्ष रहे।
उमेरसँगै बिमारी बढ्दै गएपछि पद्मरत्नको सार्वजनिक सक्रियता घट्दै गएको थियो। परिवारका सदस्यहरूले पनि सार्वजनिक समारोहहरूमा उनको सहभागिता घटाउँदै लैजानु परेको थियो। २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला उनले दिएका अभिव्यक्ति विवादमा परेका थिए। त्यसबेला उनले नाकाबन्दी अझ बलियो बनाउनुपर्ने अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना पनि भयो।
जीवनको उत्तरार्द्धमा उनका कतिपय भूमिका र अभिव्यक्ति साँच्चिकै विवादित बने। त्यही विवादकै बीच १७ कात्तिकमा ७८ वर्षको उमेरमा उनी सदाका लागि विदा भएका छन्। पद्मरत्नले नेपालको मानव अधिकार आन्दोलन, माओवादीसँगको शान्ति प्रक्रिया र भाषा आन्दोलनमा पुर्याएको योगदान भने नेपालीले सितिमिति भुल्ने छैनन्।