प्रधानमन्त्रीको स्वास्थ्यः आफैंले निम्त्याएको समस्या
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको सुझाव विपरीत आवश्यक आराम नगर्ने र भीडभाड हुने कार्यक्रममा सहभागी भइदिंदा स्वास्थ्यमा समस्या आउने गरेको छ ।
तस्वीरः थाहाखबर
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र तत्कालीन राजाले जस्तै यस पटकको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिए, त्यो पनि दशमीदेखि चतुर्दशीसम्म चार दिन लगातार ।
प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीका अनुसार त्रयोदशी र चतुर्दशीमा मात्र ओलीले दुई हजारभन्दा बढी सर्वसाधारणलाई टीका लगाइदिएका थिए । उनको सचिवालयले सर्वसाधारणलाई टीका लगाइदिने कार्यतालिका नै सार्वजनिक गरेपछि टीका लगाउनेको भीड झन् बढेको थियो ।
विगत पाँच वर्षदेखि प्रधानमन्त्री ओलीको उपचारमा संलग्न प्राध्यापक डा.दिव्यासिंह शाहका अनुसार, उमेर र स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओलीलाई बढी आराम चाहिन्छ । तर, उनले टीका थाप्न आउने सबैलाई उभिएरै टीका लगाइदिए, त्यसबाट धपेडी बढ्यो । सल्लाहकार मैनाली भन्छन्, “आफूभन्दा ठूला मान्छे र मान्यजनका हातबाट टीका थाप्न आउने हाम्रो संस्कार हो, बाहिर गेटमा आएकालाई रित्तो निधार फर्काउन सकेनौं, सबैलाई टीका लगाउँदा प्रधानमन्त्रीलाई आराम पुगेन ।”
जिद्दी स्वभाव
धपेडीकै कारण छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या भएपछि १२ कात्तिकमा प्रधानमन्त्री ओली उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भए ।
मिर्गौला प्रत्यारोपण गरेका कारण संक्रमणबाट जोगिनु र स्वास्थ्यप्रति बढी सजग हुनुपर्ने व्यक्ति अस्पताल भर्ना भएपछि उनी गम्भीर बिरामी भएको आशंका गरियो । उसो त १० कात्तिकमा नेकपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री ओली नजानुको कारण उनको स्वास्थ्य अवस्था मात्र भनिंदा पनि त्यस्तो आशंकालाई बल पुग्यो ।
डा.शाहका भनाइमा, प्रधानमन्त्री ओलीलाई लागेको रुघाखोकी हो । तर, नाक–घाँटी हुँदै छातीसम्म पुगेको संक्रमणले श्वासप्रश्वासमा समस्या गराएपछि उनलाई अस्पताल भर्ना गर्नुपर्यो । चिकित्सकहरूका भनाइमा, छातीमा संक्रमण भएपछि निमोनियाको सम्भावना बढी हुन्छ । मिर्गाैला प्रत्यारोपण गरेका व्यक्तिको रोग प्रतिरोधी क्षमता कम हुने भएकाले संक्रमण पनि चाँडै हुन्छ ।
१२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएका ओलीमा मधुमेहको समस्या पनि छ । रुघाखोकी लागेर अरुचि भएपछि प्रधानमन्त्रीले खाना नखाएको र त्योसँगै इन्सुलिन पनि नलिंदा शरीरमा चिनीको मात्रा बढ्न गई अस्पताल भर्ना गर्नुपरेको डा.शाह बताउँछिन् । उनका अनुसार मधुमेहका बिरामीलाई संक्रमण भयो भने, शरीरमा चिनीको मात्रा बढ्छ र त्यस्तो अवस्थामा कीटाणु चाँडै फैलिने सम्भावना हुन्छ ।
प्रधानमन्त्री ओलीको जिद्दी स्वभाव र आराम नगर्ने बानी पनि उनको स्वास्थ्यमा समस्या आउनुको एउटा कारण रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।
चिकित्सकहरूले उनलाई सकेसम्म भीडभाड हुने ठाउँमा नजान र भेटघाटलाई कम गर्न सुझाव दिंदै आएका छन् । तर, प्रधानमन्त्री ओली त्यसको पर्वाह नगरी भेटघाट र सार्वजनिक कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन्छन् । “उहाँको सर्वसाधारणसँग बढी रमाउने बानीले हामीले नचाहँदा पनि भेटघाट गर्नेको भीड हुन्छ”, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मैनाली भन्छन् । आफूले महŒवपूर्ण भेटघाटका लागि मात्र समय मिलाउने प्रयास गरे पनि त्यो सम्भव नभएको उनी बताउँछन् ।
दशैंको टीका लगाउन आउने व्यक्तिबाटै ओलीमा संक्रमण भएको हुनसक्ने चिकित्सकहरूको अनुमान छ । एक वर्षअघि सम्पन्न आम निर्वाचनका वेला ओलीलाई चिकित्सकहरूले आराम गर्न सुझएका थिए । तर, त्यसवेला उनले देशदौडाहा गरे । “प्रधानमन्त्रीको आफ्नै खालको जिद्दी स्वभाव छ” शाह भन्छिन्, “कार्यकर्तासँग बढी घुलमिल हुँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ र प्रधानमन्त्रीको संवेदनशीलतालाई पनि कार्यकर्ताले बुझिदिनुपर्दछ ।”
उमेर र स्वास्थ्य अवस्थाका हिसाबले प्रधानमन्त्री ओली दैनिक न्यूनतम सात घण्टा सुत्नुपर्ने चिकित्सकहरूको सुझाव छ । तर, ओली आफैं चारदेखि पाँच घण्टा मात्रै सुत्ने गरेको बताउँछन् । गएको भदौमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाका बेला उनले आफू राति दुई बजेपछि मात्रै सुत्ने गरेको खुलाएका थिए ।
निजी सचिवालयका अनुसार राति अबेरसम्म उनी भेटघाट र लेखपढमै व्यस्त रहन्छन् भने बिहान ६ बजे उठिसक्छन् । निद्राबाट ब्युँझिनका लागि उनलाई ‘अलार्म’ नचाहिने निकटस्थहरू बताउँछन् ।
श्रीमती राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बेलैमा खाना र औषधि खुवाउने र निरन्तर उनको स्वास्थ्य अवस्थामा ध्यान दिइरहने हुँदा ओलीको आत्मविश्वास भने तुलनात्मक रूपमा बढी भएको डा.शाह बताउँछिन् ।