सिक्किमको उत्सवमा नेपाली ब्यान्ड
राबाङला (सिक्किम)- समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको छो-जो तालमा रातको ठीक आठ बजे स्पिकरहरूको चर्को आवाज थियो। चिसो परिवेश अचानक तात्तियो।
तल मैदानमा अटाइ नअटाइ हजारौंको भीड थियो। ताललाई घेर्ने वरपरका ढिस्काहरूबाट पनि थप सयौं आँखा र कान मञ्चतिर सोझिए।
नेपाली लोक रक ब्यान्ड नेपथ्यका निम्ति यो अरू बेलाभन्दा बेग्लै भेन्यू थियो। कलाकारहरू मञ्चमा आउनेबित्तिकै बज्न थाल्यो-
‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन’
सिक्किममा हरेकजसो शब्दको पछाडि ‘ला’ जोडेर सम्मान प्रकट गर्ने परम्परा छ। त्यसैले चल्तीको नाम राबाङ भए पनि यस बस्तीलाई सबैले राबांला भनेर पुकार्छन्।
हिमाली भेगको यो उच्च भूभागमा बौद्ध परम्पराको स्वाद दिने गरी अनेक पर्यटकीय आकर्षणहरू विकास गरिएका छन्। त्यसैलाई प्रबर्द्धन गर्न आयोजना गरिएको हो, राबांग छो-जो फेस्ट’। लामो समयदेखि वर्षेनी आयोजना हुँदै आएको उत्सवमा यसपटक नेपथ्यलाई निम्त्याइएको थियो।
कार्यक्रम ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरी जाउँला’ हुँदै ‘आँगनैभरि हिउँ नै झरे’तिर लम्कँदै थियो। दर्शकहरूको हुलमा देखा परिन्, ७० वर्षीया रमा लामा। राबाङभन्दा सात किलोमिटर पर पर्ने रायाङलाबाट उनी बुहारीसँग आएकी थिइन्। मञ्चमा गाइरहेका को हुन् र कहाँबाट आएका हुन् भन्ने थाहा नभए पनि यी कलाकारहरूले आफ्नै भाका निकालेर गाइरहेको देख्दा रमाइलो लागेको उनले बताइन्। ‘यो लोकगीत हो जस्तो लाग्छ,’ प्रश्न सोध्दा निकैबेर लाज मानेपछि बल्ल आवाज निकाल्दै उनले भनिन्, ‘बुहारीले जाऊँ भनेपछि आएको। रमाइलै लागिरहेको छ।’
कार्यक्रममा नेपथ्यको पछिल्लो सिर्जना ‘शिरफूल शिरैमा’ हुँदै ‘लामपाते सुरती’, ‘चरि मर्यो’तिर बढ्दै थियो। मैदानको अर्को भागमा एक हुल दर्शक आफ्नै पाराले रमाउँदै थिए। उनीहरू थिए, विहारको किशनगञ्जदेखि कमाउन राबाङ आइपुगेका मुस्लिम समूह। ‘बजारमा अस्ति नै देखि यो समूहको चर्चा चलेपछि कस्तो रहेछ भनेर सुन्न आएका हौं,’रासन पसल थापेका अनवर आलमले भने।
कार्यक्रमको अन्त्यतिर ‘कोशीको पानी’, ‘रेशम’, ‘हिमाल चुचुरे’ र ‘मै नाचे छमछमी’जस्ता गीत प्रस्तुत गरिरहँदा भिक्षु पोशाकमै उपस्थित युवा पनि नाचिरहेका देखिन्थे। उनीहरू मध्ये एक थिए, ३८ वर्षे पेमा भुटिया। राबाङकै शिखरमा रहेको बुद्धपार्क गुम्बामा २८ वर्षदेखि आवद्ध उनी सानो छोरालाई पनि साथै लिएर आएका थिए। ‘मैले कुनै पनि सांगीतिक समूहबारे जानकारी राखेको छैन,’ उनले भने,‘पहिलोपटक सुन्दा पनि यो नेपथ्यका गीतहरु रमाइलो लागिरहेका छन्।’
सिक्किममा पनि गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।