पाकिस्तानी अभिनेता, जो नेपालमा पण्डित बने
कराँची- हिन्दू र मुसलमान समूदायबीचको द्वन्द्वलाई लिएर निर्माणाधीन हलिउड चलचित्र ‘दी म्यान फ्रम काठमान्डु’को सुटिङ सकिएको छ र आगामी महिना रिलिज हुने तयारीमा छ।
यस फिल्ममा हिन्दू पण्डितको भूमिका पाकिस्तानमा लोकप्रिय अभिनेता हमिद शेखले निर्वाह गरेका छन्। बलिउड नायक गुलसन ग्रोबरले भने मुसलमान नेताको भूमिका निर्वाह गरेका छन्।
हमिद शेख पाकिस्तानको बलुचिस्तान प्रान्तका स्थायी बासिन्दा हुन्। उर्दू भाषाको चलचित्र ‘मोर’मा उनको केन्द्रीय भूमिका थियो भने ‘खुदा के लिए’मा पनि मुख्य भूमिकामा थिए।
“फिल्म मोरदेखि पण्डितसम्मको भूमिकाका लागि मलाई ज्यादा मिहिनेत गर्नुपरेन। मेरा त्यस्ता साथीहरू छन्, जो हिन्दू धर्मावलम्बी हुन्,” उनले भने। आफ्नो लालनपालन पनि अन्तर धार्मिक माहोलमा भएकाले फरक धार्मिक परिवेशको भूमिका निर्वाह गर्न सहज भएको उनी बताउँछन्।
“पाकिस्तानको क्वेटामा मेरो घरको एकातिर हिन्दूहरूको मन्दिर छ र अर्कोतर्फ पारसीहरूको कोलोनी छ,” उनले भने, “बालापनदेखि नै मैले यी सबै विषयको अनुभव लिन पाएँ।”
हमिदका अनुसार ‘दी म्यान फ्रम काठमान्डु’को कथावस्तु एक मुसलमान युवकको वरिपरि घुमेको छ। उनी अमेरिकाबाट फर्केर आफ्ना बाबुको विरासतको खोजी गर्छन्। त्यस दौरान एक मुसलमान नेताको समिप पुग्छन्, जसको भूमिकामा बलिउड अभिनेता गुल्सन ग्रोबर छन्।
गुल्सनको चरित्रले ती युवकलाई प्रयोग गर्न खोज्छ। तर, सफलता पाउँदैन। त्यस दौरान हमिदले निर्वाह गरेको चरित्रको मुस्लिम नेतासँग मुठभेड हुन्छ। किनकि, उनी पण्डितको भूमिका निर्वाह गरिरहेका हुन्छन्।
फिल्मका निर्देशक पेमा धोन्डुपको सम्बन्ध नेपालसँग गाँसिएको छ। उनका परिवारजन तिब्बतबाट नेपाल आएका हुन्। तर, पेमाले अमेरिकामा शिक्षादीक्षा लिएकी हुन्। सोही क्रममा हलिउडमा आफ्नो फिल्म कम्पनी दर्ता गराएकी हुन्।
फिल्मको कथा पेमा आफैंले लेखेकी हुन्। र, गुल्सन ग्रोबरकी साथी पनि हुन् उनी।
हमिदको बुझाइमा गुल्सन एक राम्रो कलाकार हुन्। फिल्म सुटिङका दौरान आफूलाई गुल्सन क्वेटा, सिन्ध या कुनै बलुची कलाकारजस्तै लागेको उनी बताउँछन्।
गुल्सनको पुस्तैनी सम्बन्ध पाकिस्तानको रावलपिन्डीसँग छ। फिल्म रिलिज भएपछि एक पटक पुस्तैनी थलो पुग्ने चाहना उनले व्यक्त गरेको हमिद बताउँछन्।
‘दी म्यान फ्रम काठमान्डु’को सुटिङ अमेरिका, भारत र नेपालमा गरिएको छ। र, रिलिज पनि तीन वटै मुलुकमा एकसाथ गर्ने तयारी छ। पाकिस्तानमा पनि फिल्म प्रदर्शन गराउने हमिदको सोच छ। तर, पाकिस्तानमा व्यावसायिक फिल्महरू मात्र चल्ने गरेकाले कठिनाइ रहेको उनको भनाइ छ।
हमिदले यसअघि पनि हलिउडका फिल्महरूमा काम गरिसकेका छन्। हलिउड कलाकारहरू ज्यादा व्यावसायिक रहेको उनको बुझाइ छ। पाकिस्तानमा भने ज्यादा नयाँ कलाकारहरूसँग काम गर्नुपर्ने र उनीहरूमा आफ्नो करिअरको दिशा नै स्पष्ट नहुने गरेको उनी बताउँछन्।
ऐतिहासिक कथावस्तुमा व्यावसायिक फिल्म निर्माण गर्ने इच्छा हमिदको छ। र, त्यसका लागि शोध गरिरहेका छन्। उनी सन् १९३० को समयको कथा लिएर फिल्म निर्माण गर्ने उनको इच्छा छ, जतिबेला दक्षिण एसियाको ठूलो क्षेत्रमा बेलायतीहरूले राज गरेका थिए।
बीबीसी हिन्दीबाट