मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- कीर्ते कागजात तयार गरी सार्वजनिक जग्गा बिक्रीमा सघाएको अभियोगमा नवलपरासीका तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थीलगायत सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अदालतमा बुझाइएको आरोप पत्रमा उनीहरूबाट २ करोड ८६ लाख ५२ हजार रुपैयाँ विगो दाबी गरिएको छ। मुद्दा चलाइएका कर्मचारीहरूमा मालपोत अधिकृत पन्थी, खरिदार जीवलाल भुसाल र कम्प्युटर अपरेटर एजाज खाँ छन्।
यस्तै, उक्त जग्गा लुम्बिनी ग्यास प्रालि गैंडाकोटको नाममा बिक्री गराउन प्रत्यक्ष संलग्न विचौलिया यादवप्रसाद भण्डारी, दीपक सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। ग्यास कम्पनीको प्रतिनिधि भई जग्गा खरिदमा संलग्न सुरेन्द्रराज पौडेल र सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा खरिद-बिक्री गराउने सुदन श्रेष्ठविरुद्ध पनि जग्गाको मूल्यबराबरको बिगो माग दाबीसहित आरोप पत्र दायर गरिएको छ।
रजिस्ट्रेशन फाँटकी खरिदार आशा खड्कासहित तीन कर्मचारीलाई भने जिल्ला अदालत नवलपरासीमा कीर्ते ठगी र संगठित अपराधको मुद्दा दायर गरिएको छ।
आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार मालपोत अधिकृत पन्थी, खरिदार भुसाल र कम्प्युटर अपरेटर खाँले दुई करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ।
पश्चिम नवलपरासीको साविक तिलकपुर गाविस-५ (सरावल गाउँपालिका-१) को कित्ता नम्बर २४ को २ बिघा १५ कठ्ठा २ धुर सार्वजनिक जग्गा नक्कली जग्गाधनी दर्ता श्रेष्ता र प्रमाण पूर्जासमेत खडा गरी बिक्री गरिएको थियो। उक्त जग्गा बिक्री गर्न दीपक सुनारको नामबाट ग्यास कम्पनीको नाममा राजिनामा पास गरिएको नक्कली लिखत पनि तयार पारिएको अनुसन्धानबाट खुलेको छ।
नवलपरासीका मालपोत कार्यालय प्रमुख शिव अधिकारीका अनुसार प्रतिकठ्ठा पाँच लाख २० हजार रुपैयाँका दरले गैरकानूनी रूपमा व्यक्ति विशेषको नाममा कम्प्युटरमा प्रविष्ठ गरी नक्कली स्रेस्ता, पूर्जा खडा गरी कार्यालयमा रहेको मोठ ठेलीमा घुसाएको पाइएको छ।
स्थानीय वडा कार्यालयको घर-बाटो सिफारिससमेत केरमेट गरी/गराई त्यसका आधारमा हक हस्तान्तरणका लागि राजिनामाको लिखत पारित गरेको आयोगको ठहर छ। पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति नोक्सानी पुर्याएको आयोगको दाबी छ।
उक्त घटनामा तत्कालीन मालपोत अधिकृत पन्थीसहित १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। तीमध्ये ६ जना धरौटीमा छुटेको जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेलले जानकारी दिए। अन्य आरोपी भने अहिलेसम्म पक्राउ परेका छैनन्।
अार्काइभबाट
किर्ते खरीदबिक्री