पीपीएलमा चितवन राइनोजको पहिलो जित
पोखरा- पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा पारस खड्काको चितवन राइनोजले पहिलो पटक जित हात पारेको छ। पोखरा रंगशालामा बुधबार भएको पहिलो खेलमा चितवन राइनोजले एक्सपर्ट धनगढीलाई १२६ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।
धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गरेको थियो। चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको धनगढीले १६.२ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमायो। धनगढीलाई रोक्न चितवनका लागि भारतीय खेलाडी सन्नी पटेल एक्लैले ४ विकेट लिएका थिए।
उच्च स्कोरको लक्ष्य पछ्याएको धनगढीले पहिलो ओभरदेखि नै खराब ब्याटिङ गर्यो। पहिलो ओभरमै दिलिप नाथको विकेट गुमाएको धनगढीले चौथो ओभरमा ७ रन बनाउँदा ३ विकेट गुमाएको थियो। धनगढीका लागि इंल्यान्डका खेलाडी पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दुई अंकको स्कोर बनाउन सकेनन्।
पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनरद्वय अनिलकुमार साह र हरिशंकर साहले १०१ रनको साझेदारी गरी उच्च स्कोरका लागि आधार तयार पारेका थिए। चितवनका लागि हरिशंकर साहले सर्वाधिक ५३ रन बनाए। असनल साहले ३७, भारतीय खेलाडी स्मित पटेलले र सन्नी पटेलले क्रमशः २४ र २६ रन तथा कप्तान पारस खड्काले १९ रन बनाए।
यसअघिका २ खेलमा हार बेहोरेको चितवनले पहिलो जित निकालेको छ। धनगढीले पनि ३ खेलमा एक जित निकालेको छ।
पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले यसअघि दुई खेलमा हार बेहोरेको थियो भने दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढीले एउटा खेलमा जित हात पारेको थियो।