रजनीकान्त-अक्षयको फिल्म '२.०' को बजेट ४०० करोड
भारतीय फिल्ममेकर शंकरले निर्देशन गरेको महत्वाकांक्षी फिल्म '२.०' को मेगा बजेटबारे अहिलेसम्म कैयौं आकलन र अफवाह सार्वजनिक भइसकेका छन्। ठूलो बजेटमा बनेको फिल्म भनेर गरिएको कतिपय अनुमान त खास बजेट भन्दा असाध्यै बढी समेत थिए।
फिल्म निर्माण टोलीसँग जोडिएको एक सूत्रले पहिलो पटक यो फिल्मको वास्तविक बजेट बारे खुलाएको छ। सूत्रले बताए अनुसार, '२.०' को वास्तविक बजेट ४०० करोड भारु हो।
सूत्रले भनेको छ, "यो फिल्मको बजेट त्यति छैन, जति यस बारे गलत रुपमा फैलाउने काम भइरहेको छ। २.० को वास्तविक कुल बजेट ४०० करोड हो। यो यसकारण भयो, यसको सबै भीएफएक्स फेरि दोहोर्याएर गरियो, किनकि पहिले गरिएको भीएफएक्सको गुणस्तर धेरै खराब थियो। साथै, यो फिल्म भारतको सामान्य थ्रीडी फिल्महरुको तुलनामा धेरै महँगो छ। यो फिल्म थ्रीडी प्रविधिमै खिचिएको हो।"
यति महँगो फिल्मले आफ्नो स्याटेलाइट्स अधिकार बिक्री गरी प्रदर्शन अगावै ८० करोड भारु पाइसकेको छ।
दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनीत '२.०' सोही क्षेत्रका दर्शकलाई ध्यानमा राखेर बनाइएको बताइएको छ। किनकि रजनीकान्तको फ्यान फ्लोइङ हिन्दी भाषी क्षेत्रमा त्यति छैन। उनको पछिल्लो फिल्म 'काला' ले उत्तर भारतमा नकारात्मक प्रतिक्रिया पाएको थियो। साथै, फिल्ममा बलिउड अभिनेता अक्षय कुमार नकारात्मक भूमिकामा देखिनेछन्।
'२.०' २९ नोभेम्बरमा रिलिज हुनेछ। - एजेन्सी