दमाईको दशैं
सदियौंदेखि छुवाछूत खेपिरहेको दमाई जातिले ‘विजयादशमी’ मनाउँदै, देव–मन्दिरहरूमा पञ्चैबाजा बजाउँदै र जातका कारण मन्दिरभित्र पस्न नपाए पनि समाजका अन्य मानिसले जस्तै देवी–देवताप्रति आस्था राख्दै आएको छ।
-ध्रुवसत्य परियार
फुपूको घरको आँटी सुँगुरका पुच्छरले भरिएको थियो । त्यो देखेपछि छक्क पर्दै सोधें, “फुपू, यत्तिका पुच्छर कहाँबाट आए ?”
“बिष्टहरूबाट दशैंको भाग पाएको बाबु ।”
सानो छँदा एकपटक दशैंलगत्तै पाल्पाको खालीवनस्थित फुपूको घर गएको थिएँ । फुपाजुले त्यतिबेला बालीघरे प्रथामा सिलाउने काम गर्नुहुन्थ्यो ।
सिलाएबापत उहाँले त्यहाँका मगर समुदायबाट वर्षमा एकपटक बाली (तोकिएको मापनमा अन्न) र चाडपर्वमा उनीहरूको खानेकुरा मध्येबाट केही भाग पाउने चलन रहेछ ।
विशेषतः दशैंमा नयाँ लुगा सिलाउने, पुराना र च्यातिएका ओढ्ने–ओछ्याउने लगायत लत्ता–कपडा टाल्ने काम अरूबेला भन्दा बढी हुन्थ्यो । त्यसैले यस अतिरिक्त कामका लागि दमाईलाई दशैंको भाग दिइँँदोरहेछ ।
मैले फुपूलाई सोधें, “किन पुच्छर दिएका, अरू राम्रो मासु नदिएर ?”
“दमाईलाई यस्तै दिने चलन छ । राम्रो मासु उनीहरूले खान्छन् नि !” फुपूको जवाफ थियो ।
त्यतिबेला मलाई सामान्य लागेको यो घटना पछि बुझदै जाँदा गम्भीर लाग्न थाल्यो । वस्तु विनिमयकै युगदेखि शुरू भएको बालीघरे प्रथामा काम गरेबापत अन्न–मासु दिनु स्वाभाविकै हो, तर मासुका नाममा पुच्छर दिनु जातीय विभेद र श्रमशोषणको एक उदाहरण हो ।
खैर, मीठो खाने र राम्रो लगाउने चाड दशैंमा विशेषतः दमाईहरूलाई भ्याई–नभ्याई भएको म देख्थें ।
***
१०–१२ वर्षको भएदेखि नै हो, दशैंको नौरथा शुरू भएपछि हजुरबाले भन्नुहुन्थ्यो, “आफू सुत्ने कोठामा दुर्गा भवानीको मूर्ति स्थापना गर् । बिहानै पँधेरामा गएर नुहाएर आइज । अनि, फूलपाती, अक्षताले दुर्गा भवानीको पूजा गरेर मात्रै खाना खा । सप्तमी, कालरात्रि र दशैंको दिन माथि कोटमा बाजा बजाउन जा । दुर्गा भवानीको कृपाले शक्ति प्राप्त हुन्छ, पूजामा ठूलो शक्ति छ ।”
हालको स्याङ्जाको चापाकोट नपा–२ मा रहेको हाम्रो त्यतिबेलाको घरभन्दा माथि (अहिले हामी केही तल बसाइँ सर्यौं) ठकुरी गाउँमा कालिका देवीको मन्दिर छ । त्यहाँ दमाईहरूले फूलपाती, कालरात्रि र दशमीको दिन बाजा बजाउँथे, अझैं पनि बजाउँछन् ।
सानोमा म पनि घरमा भएका बाजा लिएर कोट जान्थें । हाम्रो घरमा एकसरो दमाहा, ट्याम्को, सहनाई, झयाली, ढोलकी, कर्णाल, नरसिङ्गा र बिगुल थियो, तर हजुरबा बूढो हुँदै जाँदा बजाउने कोही नभएकाले ती बाजा थन्किएका थिए । अरू दमाईहरूले हाम्रोमा भएको बाजा लिएर आउन भन्थे, म बोकेर जान्थें ।
मलाई झ्याली, ट्याम्को, दमाहा बाहेक अरू बजाउन आउँदैनथ्यो । दमाईले बाजा (नगरा) नबजाएसम्म कोटमा पूजा हुँदैनथ्यो, तर बजाउने दमाईमाथि जातीय छुवाछूत हुन्थ्यो । समाजमा छुवाछूत अझैं पनि हटेको छैन ।
कोट लगायत बिहे–उत्सवमा बाजा बजाउने दमाईहरूलाई केही खराब केटाहरूले ‘यस्तो बजा, उस्तो बजा’ भनेर लात्तीले हिर्काउँथे । छुवाछूत पनि हुने र बजाउने दमाईलाई सम्मान नगरेको पाएपछि बजाउनमा मेरो रुचि घट्दै गयो । जेहोस्, जब कोटमा सप्तमी र कालरात्रिको दिन नौमती बाजा घन्कन्थ्यो, सारा गाउँलाई लाग्थ्यो– दशैं आयो !
गाउँ वरपरका दमाईहरूको दशैंमा विशेष माग र महत्व थियो । अहिले त बजार विस्तारसँगै लुगा सिउने र बाजा बजाउने पेशा अन्य जातिले अँगाल्दैछन् । यी दुवै पेशा नअपनाउने अरू दमाईहरू गाउँघरमै कृषि–मजदूरी वा देशभित्रै र भारत गएर अन्य काम गर्थे ।
मेरो बुवा पनि भारतमा काम गर्नुहुन्थ्यो । घर छाडेर बाहिर काम गर्न गएकाहरू दशैंमा घर आउँथे । आउन नपाएकाहरूले चिठी, पैसा, लत्ताकपडादेखि मरमसलासम्म पठाउँथे ।
थर–गोत्र उत्पत्तिको भूगोल, इतिहास, पौराणिक साहित्य आदिले हिन्दू धार्मिक समुदायसँग आजका दमाई जातिको प्राचीनकालदेखि नै अन्योन्याश्रित सम्बन्ध रहेको देखाउँछ । त्यही धार्मिक परम्पराभित्र जातीय विभेदमा परेका दमाई जाति लगायत दलित समुदायले हिन्दू धर्मावलम्बीको पर्व दशैंलाई आस्थाका साथ मान्दै आएका छन् ।
नेपालका जातीय संस्कार खण्ड–२ पुस्तकमा समाविष्ट प्रकाश दर्नालको आलेख अनुसार, दमाई जातिको प्रचलित संस्कारमा हिन्दू धर्मको गहिरो प्रभाव देखिए पनि कतैकतै जनजातिहरूको संस्कार पनि मिसिएको पाइन्छ ।
आजका दमाई जातिले बडादशैं अन्तर्गत दशमीको दिनदेखि पूर्णिमासम्म आफ्नो खलकका पाका–पुराना सदस्य, ठूलाबडा र नातेदारकहाँ गएर दशैंको टीका लगाउँछन् ।
दमाई जातिको दशैंको खानामा विशेषतः मासु–भात, सेलरोटी र मदिरा पनि हुने गर्छ । मासुमा परिवारको गच्छे र समाज अनुसार, राँगा–भैंसी, सुँगुर, कुखुरा, खसी–बाख्रा चल्छ ।
हिन्दू धर्मावलम्बी भएकाले पञ्चबलि गरी पाठा, परेवा पनि खान्छन् । दशैंमा दमाईहरूका दाजुभाइ वा गाउँले मिलेर भैंसी काट्ने चलन छ । पछिल्ला वर्षहरूमा कतिपय ठाउँमा यो चलन हट्दै गएको छ ।
कोट र पञ्चैबाजा
हाम्रो गाउँ (स्याङ्जाको चापाकोट नगरपालिका–२, ठकुरीगाउँ) मा कोटमा जमरा राखेपछि दशैं शुरू हुन्छ । त्यसपछि सप्तमीको दिन कोटमा नजिकैको पीपलको रूखबाट फूलपाती भित्र्याइन्छ । कोटमा खुँडा, भाला, तरबार लगायत पुराना हातहतियार छन् । अष्टमीको दिन ती हतियार सफा गरेर पुजिन्छ । त्यसपछि कालरात्रिको पाठो बलि दिइन्छ ।
वडा–२ का स्थानीय रामचन्द्र अधिकारी (५६) का अनुसार, नवमीको दिन लिपपोत गरिएको मौलो वरपर नौ वा ११ वटा रेखी राखेर बलिका लागि फलफूल राखिन्छ । त्यसपछि पञ्चबलि शुरू हुन्छ ।
पूजाका लागि एक जना ठकुरी र एक जना मगर युवक खटाइएको हुन्छ । मनोकांक्षा राखेर देवीसँग भाकल गरेका वरपरका गाउँलेले पञ्चबलि वा फूल–अक्षता लिएर आउँछन् ।
दशैंको दिन पनि नजिकका मानिस कोटमा जम्मा भएर साइतको टीका लगाउँछन् । चापाकोट नपा–२ का वडाध्यक्ष सूर्यबहादुर सेनका अनुसार, यहाँ कोटको स्थापना कहिले भयो भन्ने यकिन जानकारी नभए पनि धेरै पहिलेदेखि दशैंको बेला देवीको पूजा हुँदै र पूजामा दमाईहरूले बाजा बजाउँदै आएका छन् । उनका अनुसार, अहिले नगरपालिकाले यहाँका दमाईहरूलाई एक सेट नौमती बाजा उपलब्ध गराएको छ ।
प्रयोगात्मक नेपाली शब्दकोशमा कोट/कोतको अर्थ ‘सुरक्षाका लागि बनाइएको किल्ला, दुर्ग, गढी, मौलो पुज्ने ठाउँ । हातहतियार, खरखजाना आदि राख्ने ठाउँ वा घर’ उल्लेख छ । हाम्रो देशमा यस्ता कोट वा देव–मन्दिरहरू ठाउँ–ठाउँमा स्थापना गरिएका छन् ।
संस्कृतिविद् रामशरण दर्नालका अनुसार, मंगल कार्य, उत्सव र मन्दिरहरूमा दमाई जातिले बजाउँदै आएको पञ्चैबाजा पञ्चतत्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक हो ।
उनको पुस्तक नेपाली संगीत–संस्कृति अनुसार, पृथ्वीनारायण शाहले नगरा बजाउने दमाई जातिको व्यक्तिलाई नगर्ची पदले सम्मानित गरी वैदिक बाजा पञ्चैबाजा र नौमती बाजालाई धार्मिक संगीतको रूपमा मन्दिरहरूमा बजाउन लगाएका थिए ।
दशैं विशेषतः रामायणका पात्र रामको लंका विजय र शक्ति उपासनाकी देवी दुर्गा भवानीसँग सम्बन्धित छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, विजयादशमीको दिन भगवान रामचन्द्रले शक्तिस्वरुपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गरेको अनुश्रुतिले भन्छ ।
मनुबज्र बज्राचार्यको पुस्तक हाम्रा चाडपर्वहरूको विवेचना अनुसार ‘अयोध्यावासी रामचन्द्रले लंका विजय गर्न धेरै वर्षसम्म ठूलो शक्ति र धैर्यले अनेक परिस्थितिको सामना गर्नुपरेको रामायणमा उल्लेख छ ।
यसकारण विजयको अभिलाषा गर्ने हामी नेपाली जनताको हृदयमा दशैंप्रतिको भावना अत्यधिक रुचिकर हुनु नैसर्गिक कुरा हो । तर, विजयका लागि गुप्तचर शक्तिको आवश्यक हुन्छ ।’
दशैंमा धेरै पहिलेदेखि नै तान्त्रिक शक्तिहरूको प्रभाव रहेको लिच्छवि राजा मानदेवको समयमा स्थापना भएको पलाञ्चोक भगवतीको मूर्तिले संकेत गर्ने बज्राचार्यले उल्लेख गरेका छन् ।
शासकहरूले तान्त्रिक अभ्यास गरेको मल्लकालमा अझ बढी पाइन्छ । बज्राचार्य लेख्छन्, “दशैंमा सैनिक संस्थानहरूको तर्फबाट हातहतियार र निशानको पूजा हुन्छ, बलि चढाइन्छ । मल्ल संस्कृति अनुरूप नागरिकहरूको तर्फबाट खास–खास केन्द्रमा खड्गजात्रा हुन्छ ।”
संस्कृतिविद् जोशी र बज्राचार्यका भनाइले हिन्दू धर्मावलम्बीको चाड दशैंले विजय (शासक वर्गको), विजयका लागि हातहतियार र देवी उपासनाको महत्वदर्शाउँछ ।
यद्यपि, सदियौंदेखि जातीय विभेद तथा छुवाछूत जस्तो अमानवीय व्यवहार अर्थात् ‘हार’ व्यहोरिरहेको दमाई जातिले ‘विजयादशमी’ मनाउँदै, देव–मन्दिरहरूमा पञ्चैबाजा बजाउँदै र जातका कारण मन्दिरभित्र पस्न नपाए पनि समाजका अन्य मानिसले जस्तै देवी–देवताप्रति आस्था राख्दै आएको छ ।
जेहोस्, हाम्रा पुर्खाले मनलाई बलियो बनाउन तिथि र विधि बनाएर वा विश्वास गरेर शक्तिकी देवीको उपासना गरेको पाइन्छ । विभिन्न धर्म, संस्कृति, तन्त्र–साधना पुर्खाका देन हुन् ।
हामीले पुर्खाले आर्जेको संस्कृति बचाउनुपर्छ, तर आस्थाको नाममा विभेद बचाउनु सामाजिक न्याय होइन । इतिहासमा र वर्तमानमा पनि; कसैको पराजय भएरै कसैले विजय हासिल गर्ने हो ।
आजका न्यायप्रेमी हामीले ‘विजयादशमी’ मनाउँदा सबैको विजय हुने विभेदरहित सामाजिक, आर्थिक, राजनीतिक परिपाटीतर्फ पनि सचेत हुनुपर्छ ।
दशैं सम्बन्धी यि सामाग्री पनि पढौं:
लाहुरको त्यो दशैं (हरि शर्मा)
समुद्रपारि गाढा अक्षता (राजेश कोइराला)
फौजीको खल्लो दशैं (दीपक ज्ञवाली)
माओवादी हिंसाले बिथोलेको आञ्चलिकता (मस्त केसी)
दशैंको राजनीति (आनन्द राई)
दशैंको सुवास (रुपा जोशी)
दशैंका महिला: खुशी पस्किनमै सीमित (सविना देवकोटा)
अक्षताः मौलिक प्रचलन (विनय वञ्जारा)
दशैंको रङ बदलौं (डा तीर्थबहादुर श्रेष्ठ)
खुलेको फैलिएको दशैं (केदार शर्मा)
हाम्रो दशैं (टेकबहादुर जिरेल)
दशैंको अर्थतन्त्र: उहिले र अहिले (रमेश कुमार)
अन्यत्र बलि, रसुवामा क्षमापूजा (फुर्पा तामाङ)
अतिवादको चेपुवामा दशैं (वसन्त महर्जन)