घुमघामका १० ठाउँ
देशभर घुम्ने गन्तव्य धेरै छन् । विदेशी पर्यटकको आकर्षणमा रहेका ठाउँ चर्चित भए पनि घुम्ने बानी र स्थलबारे नेपाली र विदेशीको रुचि भने केही फरक हुन्छ । त्यसमाथि नेपालीमाझ पछिल्लो समय घुम्ने संस्कृति गज्जबसँग मौलाएको पनि छ ।
जहाँतहींको अनुभवले पनि भन्छ– पर्यटन उद्योग उकालो लाग्ने हो भने आन्तरिक पर्यटन पनि उसैगरी बढ्नुपर्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी विदेशी पर्यटक भिœयाउन पनि आन्तरिक पर्यटन बलियो हुनुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “बाह्रै महीना व्यवसाय सञ्चालन हुँदा मात्र पर्यटकलाई राम्रो सुविधा दिन सकिन्छ, त्यसका लागि आन्तरिक पर्यटन बलियो हुनैपर्छ ।”
नेपालीका निम्ति दशैं नै यस्तो अवसर हो, जसले घुम्न चाहनेहरुका लागि समेत उपयुक्त अवसर प्रदान गर्छ । किनभने कामकाजीहरुको लामो बिदा दशैंमा नै हुन्छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी नगदमै कमाइ हुन थालेसँगै नेपालमा घुम्ने संस्कृति विकास भएको बताउँछन् । “रेमिटेन्स, रोजगारीका अवसर, सूचनामा पहुँच, वैश्वीकरणको प्रभाव, पूर्वाधारको विकास जस्ता कारणले नेपालीहरू निकै घुम्न थालेका छन् ।”
दशैंमा घुमफिरको मूडमा हुनुहुन्छ भने यो उपयुक्त मौसम पनि हो । यहाँ हामी निकै चर्चामा रहेका भन्दा केही फरक १० गन्तव्यबारे तपाईंलाई जानकारी दिंदैछौं ।
वन्यजन्तुले रोमाञ्चक शुक्लाफाँटा
विशाल घाँसे मैदानको फाँट र एकैसाथ देखिने दुई हजार भन्दा बढी बाह्रसिङ्गाको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो । ३०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटामा करीब १७ प्रतिशत घाँसे मैदान छ ।
शुक्लाफाँटामा बाह्रसिङ्गाका साथसाथै पाटेबाघ, एकसिङ्गे गैंडा, कृष्णसार लगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्जभित्र रहेका बाबाताल, रानीताल, लालपानी क्षेत्रबाट बाघ हेर्नु निकै रोमाञ्चक हुन्छ ।
कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरबाट निकुञ्ज प्रवेशद्वार मजगाउँ पाँच किलोमिटर पश्चिममा पर्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा परापूर्वकालमा थारू राजा सिंपालको दरबार रहेको उल्लेख भएको शिलालेख छ ।
शुक्लाफाँटा पुग्नेले छुटाउनै नहुने ठाउँ साविकका दोधारा र चाँदनी गाविस जोड्ने करीब १५०० मिटर लामो झोलुङ्गे पुल पनि हो ।
होटल खर्चः महेन्द्रनगरमा तीन तारे होटलको सुविधा भए पनि निकुञ्ज नजिक भने एउटा मात्रै रिसोर्ट छ । रिसोर्टमा सुविधा अनुसार रु.१२०० देखि रु.२५०० तिरेर एक रात विताउन सकिन्छ । निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारू सामुदायिक होमस्टे सञ्चालनमा छ । होमस्टेमा भने एक रात बास बसेको रु.५०० मात्र लाग्छ ।
कसरी जानेः काठमाडौं नयाँ बसपार्कबाट ७०४ किलोमिटरको दूरीमा रहेको महेन्द्रनगर बसबाट करीब १८ घण्टामा पुगिन्छ । महेन्द्रनगरबाट शुक्लाफाँटा पाँच किलोमिटर पश्चिममा छ । हवाईजहाजबाट जाने हो भने काठमाडौंबाट धनगढीसम्म ५० मिनेट र धनगढीबाट गाडीमा करीब डेढ घण्टामा शुक्लाफाँटा पुगिन्छ । बसमा जाँदा काठमाडौंबाट महेन्द्रनगरसम्मको भाडा एसी बसमा रु.२०००, डिलक्समा रु.१६०० र साधारण बसमा रु.१३५० लाग्छ ।
प्रमुख आकर्षणः घाँसे मैदान, बाह्रसिङ्गा, दोधारा चाँदनीमा रहेको झोलुङ्गे पुल ।
प्रकृति र संस्कृतिको संगम बर्दिया
९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघसहित एकसिङ्गे गैंडा, चितुवा, जरायो, चित्तल, बाह्रसिङ्गा, जंगली हात्ती लगायत ५६ प्रजातिका जनावर पाइन्छन् ।
यस्तै निकुञ्जमा घडियाल गोही, मगर गोही, सोंस लगायतका सरीसृप र ४५० भन्दा बढी किसिमका चरा छन् । चाहना अनुसार हात्ती वा जीपको सफारी या जंगलमा पैदल यात्रा गरेर मनोरम दृश्यसँगै जंगली जनावरको आनन्द लिन सकिन्छ ।
निकुञ्ज कार्यालय ठाकुरद्वारा नजिक थारू होम रिसोर्ट चलाइरहेका मोहन चौधरी बर्दियामा पर्यटकको भीडभाड नहुने भएकाले प्रकृतिसँग एकाकार हुन सहज हुने र जंगली जनावर सजिलै देख्न पाइने बताउँछन् । जंगलको आनन्दसँगै थारू संस्कृति बुझ्ने मौका पनि बर्दियाको महत्वपूर्ण आकर्षण हो । यहाँ कर्णाली र बबई नदीमा र्याफ्टिङ र फिसिङको मजा पनि लिन सकिन्छ ।
निकुञ्जबाट करीब २५ किलोमिटर पूर्वतर्फ खैरापुरमा रहेको लोपोन्मुख वन्यजन्तु कृष्णसार संरक्षित क्षेत्रमा कृष्णसारका बथान हेर्न पाइन्छ । संरक्षित क्षेत्र बर्दिया सदरमुकाम गुलरियाबाट ५ किलोमिटर दूरीमा छ ।
बर्दिया पुगिसकेपछि प्रदेश–५ र सुदूरपश्चिम प्रदेशको सीमा छुट्याउने चिसापानीस्थित कर्णाली नदीमाथि एउटा टावरमा तारले अड्याइएको पुलसम्म पुग्न सकिन्छ । त्यहाँ बाह्रै महीना चल्ने चिसो हावा र माछाको स्वादले थप रोमाञ्चित बनाउँछ ।
होटल खर्चः बर्दिया निकुञ्जमा नेपालीलाई रु.८०० मा अट्याच बाथरुम सहितको कोठा र रु.१६०० मा वातानुकूलित कोठा पाइन्छ । होमस्टेमा एक छाक खानासहितको बासका लागि रु.८०० पर्छ ।
कसरी जानेः काठमाडौंबाट जहाजमा ५० मिनेटमा नेपालगञ्ज र त्यहाँबाट डेढ घण्टाको बस यात्रामा बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । काठमाडौंको नयाँ बसपार्कबाट बर्दिया सदरमुकाम गुलरिया जान रु.११०० मा डिलक्स बस पनि पाइन्छन् । बिहान र बेलुका काठमाडौंबाट छुट्ने यी बसले करीब १५ घण्टामा बर्दिया पु्र्याउँछन् ।
गुलरियाबाट पाँच किलोमिटर पर रहेको कृष्णसार संरक्षण क्षेत्र हेर्दै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । सदरमुकाम नगएर सीधै निकुञ्ज पुग्नका लागि बर्दियाको भुरीगाउँसम्म पुग्ने बसहरू पनि पाइन्छन् । भुरीगाउँबाट स्थानीय बसमा ३० मिनेटमा ठाकुरद्वारा पुगिन्छ ।
प्रमुख आकर्षणः हात्ती र गोही प्रजनन् केन्द्र, थारू सांस्कृतिक संग्रहालय, रु.५०० मा एक घण्टा हात्ती सफारी ।
लाङटाङ र गोसाइँकुण्ड ट्रेक
सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा ६,४४० मिटरको उँचाइसम्म फैलिएको लाङटाङ हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज हो । ६६० वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा चर्चित हिम उपत्यका लाङटाङ, केन्जिन भ्यालीका साथै धार्मिक स्थल गोसाइँकुण्ड छ । हिमाली क्षेत्रको पदयात्रामा लाङटाङ विश्वकै चर्चित गन्तव्यमध्येको हो ।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका जाने छुट्टाछुट्टै ट्रेकिङ ट्रेल छन् । लाङटाङ र केन्जिन भ्याली उपत्यकाको पदयात्रा पूरा गरेर काठमाडौं फर्किन पाँच दिन लाग्छ । गोसाइँकुण्डको पदयात्रा भने चार दिनमा पूरा गर्न सकिन्छ । असोज–कात्तिक महीना लाङटाङ ट्रेकमा जाने राम्रो समय हो ।
यहाँ पदयात्राका क्रममा रेड पाण्डा, हिमचितुवा, जंगली कुकुर लगायतका जनावर पनि देख्न पाइने संयोग मिल्न सक्छ ।
होटल खर्चः एक रात बस्नुपर्ने स्याफ्रुबेसी र धुन्चेमा तातो–चिसो पानी आउने सुविधा सहितका होटलहरू रु.१२०० देखि पाइन्छन् । यस्तै, गोसाइँकुण्ड र लाङटाङ ट्रेकिङ रुटमा पनि सुविधाजनक होटलहरू छन् । सामान्य खर्च दैनिक रु.१५०० सम्म हुन्छ ।
कसरी जानेः गोसाइँकुण्ड जान काठमाडौंको माछापोखरीबाट रसुवा सदरमुकाम धुन्चेसम्म सार्वजनिक यातायातमा पाँच घण्टामा पुगिन्छ । एक रात धुन्चे बसेर विस्तारै हिंड्दा पनि दुई दिनमा गोसाइँकुण्ड पुगिन्छ । फर्किंदा भने एक दिनमा सहजै धुन्चे पुग्न सकिन्छ ।
लाङटाङ उपत्यकाः धुन्चेबाट गाडीमा एक घण्टामा स्याफ्रुबेसी पुगिन्छ । स्याफ्रुबेसीमा रात बिताएर अर्को दिन बिहानदेखि ट्रेकिङ गर्दै लाङटाङ उपत्यका पुग्न तीन दिन र फर्किन एक दिन लाग्छ ।
प्रमुख आकर्षणः हिम उपत्यका, मनोरम प्राकृतिक दृश्य ।
पर्सा, गढीमाई र सिम्रौनगढ
जंगल सफारी भन्ने बित्तिकै धेरैको ध्यान चितवनतर्फ पुग्छ । तर, चितवनभन्दा फरक ठाउँ जान चाहनेका लागि पर्सा राष्ट्रिय निकुञ्ज राम्रो विकल्प हो ।
काठमाडौंबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार हात्तीसार १५० किलोमिटरको दूरीमा छ । यहाँ ९१९ प्रजातिका बोटबिरुवा र १०० भन्दा बढी प्रकारका जंगली जनावर छन् । गौरी गाई पर्साको प्रमुख आकर्षण हो ।
पर्सा निकुञ्जको सिमाना पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको वाल्मीकि राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पर्सामा चितवनमा पाइने सबै किसिमका जनावर देखिन्छन् । पाटेबाघ, हात्ती, एकसिङे गैंडा, मृग र जरायोका बथानहरू पर्सामा सजिलै देख्न पाइन्छ ।
पर्सा राष्ट्रिय निकुञ्ज घुमेपछि करीब ४० किलोमिटरको दूरीमा रहेको बाराको गढीमाई पुग्न सकिन्छ । पाँच वर्षमा विशेष मेला लाग्ने गढीमाई प्रसिद्ध शक्तिपीठ हो । थप एक दिन समय छ भने प्राचीन मिथिला राज्य तिरहुतको राजधानी सिम्रौनगढ पनि पुग्न सकिन्छ ।
सन् १०९७–१३२६ सम्म मिथिला राज्यको राजधानी रहेको सिम्रौनगढ अहिले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पर्छ । तिरहुत सभ्यता र संस्कृतिको केही अवशेष अहिले पनि त्यहाँ देख्न पाइन्छ । ५२ बिघा क्षेत्रफलमा फैलिएको पोखरी सिम्रौनगढको अर्को आकर्षण हो ।
होटल खर्चः सिमरा र निकुञ्ज नजिकै रहेको अमलेखगञ्जका होटलमा रु. १००० मा साधारण कोठा र रु.१५०० मा एसी सहितका कोठा पाइन्छन् ।
कसरी जानेः आफ्नै गाडी छ भने हेटौंडाबाट पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई, सिम्रौनगढ र जनकपुरसम्म घुमेर बीपी राजमार्ग हुँदै सिन्धुली गढी भएर ६ दिनमा काठमाडौं फर्किन सकिन्छ । सार्वजनिक यातायातमा जाने हो भने बल्खुबाट जीप चढेर तीन घण्टामा हेटौंडा पुगिन्छ । हेटौंडाबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार गाडीमा २० मिनेटमा पुगिन्छ । जहाजमा काठमाडौंबाट सिमरा १५ मिनेटमा पुगिन्छ, त्यहाँबाट १० किलोमिटरको दूरीमा हात्तीसार छ ।
प्रमुख आकर्षणः गौैरी गाई, नेपालको पुरानो रेलवे स्टेसन अमलेखगञ्ज, रु.७०० मा एक घण्टा हात्ती सफारी, रु.१५०० मा जंगल सफारी प्याकेज ।
इतिहासको शान सिन्धुली गढी
वि.सं. १८२४ मा गोर्खाली फौजले अंग्रेज फौजसँग बहादुरीपूर्वक लडेर विजय प्राप्त गरेको स्थान हो, सिन्धुली गढी । काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले सहयोगका लागि बोलाएको कप्तान किन्लक नेतृत्वको अंग्रेज फौजलाई यही स्थानमा गोर्खाली फौजले परास्त गरेका थिए ।
गोर्खालीले अंग्रेजलाई हराएको गढी क्षेत्रमा त्यसबेला बनाइएका ट्रेन्च, आड तथा दुर्गहरू अहिले पनि हेर्न सकिन्छ । लेकको खाना, रसिला जुनार र डाँडाबाट तराईको दृश्यावलोकनले यहाँको मजा बेग्लै छ ।
सदरमुकाम सिन्धुलीमाडीबाट करीब १६ किलोमिटर उत्तरतर्फ र काठमाडौंबाट १४० किलोमिटर पूर्वमा पर्ने सिन्धुली गढी पुग्नेलाई बीपी राजमार्गले सहज बनाएको छ । नागबेली परेको बीपी राजमार्गमा यात्रा गर्ने प्रायःले ‘सेल्फी डाँडा’ मा फोटो खिचेकै हुन्छन् । थप एक दिन समय छ भने दुई घण्टामा धार्मिक र पौराणिक शहर जनकपुरधाम पनि पुग्न सकिन्छ ।
होटल खर्चः सिन्धुलीका होटलमा एक रात बास बस्न न्यूनतम रु.१५०० लाग्छ । सामान्य खर्च गर्ने हो भने काठमाडौंबाट सिन्धुली गढी घुमेर फर्कंदा रु.६ हजार खर्च हुन्छ ।
कसरी जानेः काठमाडौंको कोटेश्वरबाट १५–१५ मिनेटमा छुट्ने माइक्रो बसले तीन घण्टामा सिन्धुलीमाडी पु¥याउँछन् ।
प्रमुख आकर्षणः सिन्धुली गढी, जुनार खेती ।
पाल्पाको रानीमहल र चुकाउनी
सेन वंशीय राज्यको राजधानी पाल्पा विक्रम सम्वत् १८६१ मा नेपाल राज्यमा गाभियो । रानीमहल, श्रीनगर डाँडा, राम्दी सुन गुफा, कालीगण्डकी आदि पाल्पाका प्रमुख पर्यटकीय स्थलहरू हुन् ।
तत्कालीन पश्चिम कमाण्डिङ जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानीको सम्झनामा रानीमहल बनाएका थिए । पाल्पा सदरमुकाम तानसेनबाट १५ किलोमिटर उत्तरपश्चिममा अवस्थित रानीमहल पुग्न गाडीमा एक घण्टा र पदयात्रा गर्दा तीन घण्टा लाग्छ । रानीमहल क्षेत्रमा खानाको व्यवस्था भएका सामान्य होटल छन् ।
पाल्पा पुग्नेले छुटाउनै नहुने ठाउँ होे श्रीनगर डाँडा । तानसेनबाट २० मिनेटको हाइकिङमा पुगिने श्रीनगर डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालहरू देख्न सकिन्छ । फर्किंदा पाल्पाली ढाका टोपी र करुवा उपहार ल्याउन सकिन्छ । यस्तै पाल्पाको चुकाउनीले पनि धेरैको जिब्रो रसाउँछ । पाल्पाबाट करीब दुई घण्टामा भैरहवा पुगिन्छ । थप समय छ भने भैरहवाबाट लुम्बिनी पुग्न सकिन्छ ।
होटल खर्चः तानसेनमा एक रात बास बस्न रु.१ हजारदेखि माथि सुविधा अनुसारका होटलहरू पाइन्छन् । भैरहवा र लुम्बिनीमा भने तारे होटलहरू छन् ।
कसरी जानेः काठमाडौंको नयाँ बसपार्कबाट पाल्पा जाने बस र माइक्रो बस पाइन्छन् । रु.७०० भाडा लिने माइक्रोले ७ देखि ८ घण्टामा पाल्पा पुर्याउँछन् । यस्तै, जहाजबाट भैरहवा ३५ मिनेटमा र त्यहाँबाट बसमा दुई घण्टामा तानसेन पुग्न सकिन्छ । रु.४ हजारले दुई दिन पाल्पा बस्न पुग्छ ।
प्रमुख आकर्षणः रानीमहल, श्रीनगर डाँडा, पल्पाली ढाका ।
प्रकृतिकी रानी इलाम
इलाम भनेपछि अधिकांशका दिमागमा चियाबगानको चित्र आउँछ । हुन पनि महेन्द्र राजमार्गको चारआलीबाट उत्तरतर्फ उक्लँदै गर्दा चिया बगानको मनोरम दृश्य देखिन शुरू हुन्छ । चैतदेखि मंसीरसम्म बगानमा चिया टिपेको दृश्यले मुग्ध पार्छ । इलामेली लवज, स्थानीय संस्कृति, घरका डिजाइन धेरैका लागि आकर्षण हुन सक्छन् ।
त्यहाँ पुगेकामध्ये फिक्कल र कन्यामका चिया बगानमा फोटो नखिच्ने कमै होलान् । फिक्कलबाट १० किलोमिटरमा दार्जीलिङ पस्ने नाका पशुपतिनगर पुगिन्छ ।
समुद्र सतहबाट २,३२८ मिटरको उँचाइमा रहेको अन्तुडाँडाबाट ताजा चियाको चुस्की लिंदै सूर्योदय हेर्नुको आनन्द अन्यत्र पाइँदैन । अन्तुडाँडा इलामबाट गाडीमा तीन घण्टामा पुगिन्छ । इलामको अर्को आकर्षण हो, इलाम बजारबाट १८ किलोमिटरको दूरीमा रहेको माइपोखरी ।
माइपोखरीबाट पाँच घण्टाको पैदल दूरीमा ३,६३६ मिटर उँचाइमा रहेको सन्दकपुर पुगिन्छ । सन्दकपुरबाट कञ्चनजंघा, मकालु, सगरमाथा लगायतका हिमाल देखिन्छन् । सन्दकपुरबाट सूर्योदय पनि निकै रमाइलो देखिन्छ । इलाम घुमेर पाँचौं दिनमा काठमाडौं फर्किन सकिन्छ ।
होटल खर्चः इलाममा रु.१२ सय भन्दा माथि सुविधा अनुसारको मूल्य पर्ने होटलहरू प्रशस्तै छन् । यहाँ होमस्टेको पनि सुविधा छ । होमस्टेमा रु.५०० मा बास बस्ने सुविधा पाइन्छ ।
कसरी जानेः काठमाडौंको कोटेश्वरबाट इलाम जाने बस पाइन्छन् । ६९० किलोमिटर दूरीमा रहेको इलाम बजार कोटेश्वरबाट १४ घन्टामा पुगिन्छ । यस्तै, झापाको चन्द्रगढीसम्म जहाजमा र त्यसपछि बस, जीपमा पनि इलाम पुग्न सकिन्छ ।
प्रमुख आकर्षणः चिया बगान, अन्तुडाँडा, माइपोखरी, सन्दकपुर ।
एेतिहासिक गोरखा र बन्दिपुर
गोरखा, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मस्थल । गोरखा बजारबाट दरबारसम्म पुग्ने मोटर बाटो भए पनि धेरै पर्यटकहरू करीब एक घण्टा पदयात्रा गरेर दरबार पुग्छन् । दरबार सदरमुकामबाट पूर्वदक्षिण पहाडको टुप्पोमा छ ।
दरबारबाट उत्तरतिर मनास्लु, धवलागिरि, गणेश हिमाल लगायतका हिमालको मनमोहक दृश्य देखिन्छ । चर्चित मनास्लु पदयात्रामा जान पनि गोरखा पुग्नै पर्छ । अन्नपूर्ण क्षेत्रको पदमार्ग मोटरबाटोले बिगारेपछि पछिल्लो समय मनास्लु जाने पर्यटकको संख्या बढेको छ ।
एक रात दुई दिनमा गोरखा घुमेर फर्किंदा करीब अढाइ सय वर्ष पुरानो बन्दीपुर जान सकिन्छ । २०२५ सालसम्म तनहुँको सदरमुकाम रहेको बन्दीपुर आकर्षक पारिवारिक पर्यटकीय गन्तव्य हो । नेवारी संस्कृतिको झल्को दिने घर, रहनसहन, प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् ।
बन्दीपुरबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लाङटाङ लगायत हिमाल देखिन्छन् । बन्दीपुर बजारबाट एक घण्टा ओरालो हिंडेपछि सिद्ध गुफा पुगिन्छ ।
होटल खर्चः गोरखा सदरमुकाममा रु.१ हजारदेखि माथिका होटलहरू पाइन्छन् । बन्दीपुरमा भने होमस्टेदेखि सुविधासम्पन्न होटलहरू छन् ।
कसरी जानेः काठमाडौं नयाँ बसपार्कबाट बसमा करीब पाँच घण्टामा गोरखा पुगिन्छ । फर्कंदा गोरखाबाट आँबुखैरेनी हुँदै डुम्रे बजारसम्म आउने बसहरू पाइन्छन् । डुम्रेबाट आठ किलोमिटर दक्षिणपश्चिम उकालो उक्लेपछि बन्दीपुर बजार पुगिन्छ । बन्दीपुरका लागि डुम्रेमा बस र जीप पाइन्छन् । सार्वजनिक यातायातमा यात्रा गर्दै चार दिनमा गोरखा र बन्दीपुरको यात्रा गर्ने हो भने दैनिक रु.२ हजार भए पुग्छ ।
प्रमुख आकर्षणः गोरखा दरबार, बन्दीपुर बजार ।
सुदूरपश्चिम शक्तिपीठ प्याकेज
सुदूरपश्चिममा खप्तड, अछामको रामारोशन, दार्चुलाको अपि र बझाङको सैपाल हिमाल साथै कैलालीको टीकापुर, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका घुम्ने ठाउँ छन् ।
पछिल्लो समय सुदूरपश्चिमका पर्यटन व्यवसायीले शक्तिपीठ प्याकेज प्रवद्र्धन गरिरहेका छन् । शक्तिपीठ प्याकेज अन्तर्गत डडेलधुराको उग्रतारा भगवती, बैतडीको निंगलाशैनी भगवती, त्रिपुरासुन्दरी र मेलौली भगवतीको दर्शन गरिन्छ ।
दुई दिन बैतडीमा बिताएपछि चौथो दिन बझाङमा सुर्मा देवीको दर्शन गरेर शैलेश्वरी देवीको दर्शन गर्न डोटी आइपुगिन्छ । यी सातवटै मन्दिर पक्की सडकसँग जोडिएकाले दर्शन पूरा गरेर पाँचौं दिन धनगढी फर्किन सकिन्छ ।
जगदम्बा ट्राभल एण्ड टुर्सका सञ्चालक तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल सुदूरपश्चिम प्रदेशका अध्यक्ष माया भट्ट निजी गाडीमा ६ जनाको समूह बनाएर धनगढीबाट सातै शक्तिपीठको दर्शन गर्न रु.४० हजार लाग्ने बताउँछन् । शैलेश्वरी मन्दिरको दर्शनपछि तीन दिन समय हुने हो भने खप्तडसम्म पुगेर आउन सकिन्छ ।
होटल खर्चः डडेलधुरा र डोटीमा रु. १ हजार भन्दा माथिका सुविधाजनक होटलहरू छन् । बैतडीमा भने एक रात बसेको रु.७ सयसम्म पर्ने सामान्य होटल छन् ।
कसरी जानेः काठमाडौंबाट सीधै डडेलधुरा पुगेर पनि शक्तिपीठको यात्रा शुरू गर्न सकिन्छ । काठमाडौंको नयाँ बसपार्कबाट बसले २२ घण्टामा डडेलधुरा पुर्याउँछ । जहाजमा जाने हो भने काठमाडौंबाट धनगढी करीब एक घण्टामा र त्यहाँबाट बसमा डडेलधुरा पाँच घण्टामा पुगिन्छ ।
प्रमुख आकर्षणः सात देवीको दर्शन, अमरगढी ।
सम्पदाको भण्डार दैलेख
कर्णाली प्रदेशको दैलेखमा पञ्चकोशी क्षेत्र, कृति खम्ब, दुल्लु दरबार, पाथरनाउली, सात खम्ब, कोतगढी, पञ्चदेवल, वेलासपुर लगायतका महत्वपूर्ण सम्पदास्थल छन् । कोटिला, नाभिस्थान, श्रीस्थान, पादुका र धुलेश्वरलाई पञ्चकोशी क्षेत्र भनिन्छ ।
कर्णाली राजमार्गले दैलेख, जुम्ला र मुगुलाई सडक सञ्जालबाट जोडेको छ । सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै दैलेख जाँदा सदरमुकाम दैलेख बजार नपुग्दै २५ किलोमिटर वर दुल्लु क्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थलको श्रीस्थान र नाभिस्थानमा नित्य प्रज्वलित ज्वाला हेर्न सकिन्छ ।
नेपाली भाषाको पहिलो शिलालेख दुल्लु नगरपालिकामा छ । शिलालेख भएको ठाउँमा कीर्तिस्तम्भहरू पनि छन् । योगी नरहरिनाथले गरेको अनुसन्धान अनुसार कीर्तिस्तम्भमा सिंजा राज्यका खस राजाहरूको वंशावली कुँदिएको छ । पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ, दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भ अध्येताका लागि विशेष रुचिका विषय हुन् ।
खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दुल्लु थियो । दुल्लु दरबार अहिले पनि यथावत छ ।
दैलेख सदरमुकाममा युनेस्कोले विश्व प्रतिभा सूचीमा सूचीकृत गरेको पञ्चदेवल छ । पञ्चदेवलमा शिखर शैलीमा निर्मित २२ वटा पुरातात्विक महत्वका स्मारकहरू छन् ।
बहादुर शाहको नेपाल एकीकरण अभियानको क्रममा वि.सं. १८४६ मा गोर्खाली सेनाले निकै कलात्मक ढङ्गले दैलेख बजारमा निर्माण गरेको ऐतिहासिक कोतगढी छ । दैलेख पुगिसकेपछि जुम्ला हुँदै मुगुको रारा तालसम्म पुग्न सकिन्छ ।
होटल खर्चः दैलेखमा एक रात बसेको रु.१००० सम्म पर्ने सामान्य होटलहरू छन् । सुर्खेतमा भने सुविधाजनक होटलहरू पाइन्छन् ।
कसरी जानेः काठमाडौंबाट बसमा करीब १५ घण्टामा सुर्खेत पुगिन्छ । बस भाडा रु.१६०० सम्म पर्छ । नेपालगञ्जसम्म जहाज र त्यहाँबाट बसमा चार घण्टामा सुर्खेत पुगिन्छ । सुर्खेतबाट तीन घण्टामा दुल्लु र दुल्लुबाट एक घण्टामा दैलेख बजार पुगिन्छ । सुर्खेतदेखि दैलेख बजारसम्मको सडक कालोपत्रे गरिएको छ ।
प्रमुख आकर्षणः पञ्चकोशी क्षेत्र, पञ्चदेवल र कोतगढी ।