चाडपर्वमा खानाः ‘कोचेर नखाऊँ, नफालौं’
डा. अरुणा उप्रेती
आस्थाको शक्तिलाई खाना चढाउनेबाहेक पनि कतिले खाना खेर फाल्ने गर्छन् । त्यस्तोमा भन्नै पर्छ– ‘यसरी खाना खेर फाल्नु त अपराध हो ।’
‘दशैं आयो, मीठो–मीठो खाउँला, नयाँ लुगा लाउँला’ भनेर हामी सानोमा असाध्यै खुशी हुन्थ्यौं । पहिले–पहिले मासु खान शायद चाडपर्व पर्खनुपर्ने भएकाले यसो भनिएको हो, वा तत्कालीन अर्थव्यवस्था अनुसार मासु महँगो भएकाले पनि त्यसो भनिएको हो, यो बेग्लै पाटो हो ।
हामी केटाकेटी छँदा दशैंका बेला आलु, काउली, मासु–चिउरा, पुलाउ खान पाइने लोभमा टाढा–टाढाको नाता पर्ने घरमा पनि टीका लगाउन जान्थ्यौं । दशैंको सामाजिक र सांस्कृतिक महत्व एकातिर छँदैछ, सँगसँगै यो राम्रो लगाउने र मीठो खाने पर्व पनि हो । खाने र खुवाउने पनि हाम्रो संस्कृति नै बनेको छ ।
दशैंका बेला मासुका अनेक परिकारसँगै मसालेदार र तेल–घिउमा पकाइएको खानेकुरा घरघरमा खाइन्छ । कति ठाउँमा मासुभात खानका लागि पहिलेदेखि नै खसी–बोका, सुँगुर, राँगो आदि पालेर राखिएको हुन्छ । यसरी धेरै मासु खाँदा हामीले कति स्वस्थ भोजन गर्छौं भनेर पनि सोच्न आवश्यक छ ।
दशैं मात्र होइन, खाने र खुवाउने हामी नेपालीका विभिन्न चाडपर्व छन् । चाडपर्वको रमाइलोमा हामी बालकदेखि वृद्धवृद्धासम्मले खानपिनमा ध्यान नदिने हो भने अनेक स्वास्थ्य समस्या आउन सक्छ ।
दशैंका बेला गुलियो, चिल्लोसँगै मासुका परिकार धेरै खाएर रक्तचाप बढेको, रगतमा चिनी बढेको पनि धेरैको देखेकी छु ।
यस्ता समस्यामा औषधिले केही हदसम्म कम होला तर बढी औषधिको प्रयोगले मिर्गौलामा समस्या पार्छ भनेर सिद्ध भइसकेको छ । ‘पछि जे होला, अहिले आनन्दसँग खाऊँ, मरेर जाने चोला त हो नि’ भनेर जथाभावी चिल्लो–पिरो, माछामासु खानु राम्रो होइन ।
शारीरिक मात्र नभएर मानसिक रोग लाग्न नदिन वा लागिसकेको रोगको उपचारमा खानपानको विशेष भूमिका हुन्छ । त्यसैले स्वस्थ रहन हामीले कहिले बढी, कहिले कम होइन कि नियमित रूपमा स्वस्थ भोजन गर्नुपर्छ ।
एक जना मेरा ६५ वर्षका साथी छन् । उनले रक्तचाप, फोक्सो, मुटु आदिको जाँच गरेर समय–समयमा औषधि त गर्छन्, तर तौल घटाउन डाक्टरको सल्लाह मान्दैनन् । उनी स्वादिलो खाना बढी खाने बानीबाट पीडित छन् । उनी जस्तै हरेक वर्ष दशैं–तिहारपछि खानपानका कारण उब्जिएका अनेक समस्या लिएर अस्पताल जानेहरूको संख्या बढेको छ ।
अहिले भोजन खानुअघि भुटेको, तारेको स्न्याक्स खाने चलन बढेको छ । तिहारमा प्रायःले घरमै पुरी–सेल पकाउँछन्, नपकाउनेले पनि बजारबाट किनेर ल्याउँछन् । बजारमा राम्रै तेलमा पकाए पनि एउटै तेल धेरैपटक प्रयोग हुँदा त्यसमा विषालु तत्व पैदा हुँदै जान्छ । यसरी बजारिया जेरी, पुरी, लालमोहन, सेल आदि स्वादिलो भए पनि स्वास्थ्यलाई असर गर्ने खालका हुन्छन् । यस अर्थमा, चाडबाडमा बजारिया खानेकुरा किन्दा एकातिर स्वास्थ्य र अर्कोतिर पैसाको नाश भएको हुन्छ ।
दशैं र तिहारमा चिसो पेयपदार्थ र बट्टामा राखेका फलफूलको रस (जुस) को प्रयोग पनि बढेको छ, यी दुवै अस्वस्थकर हुन्छन् । फलफूलको रस (क्याण्ड जुस) मा ८० प्रतिशत चिनी हुन्छ । यस्ता खानाले बालबालिका र किशोरकिशोरीको हड्डी कमजोर हुने, मोटोपन हुने, वयस्क भएपछि मधुमेह हुने सम्भावना बढ्छ ।
नेवार बढी बस्ने काठमाडौंका विभिन्न ठाउँमा चाडपर्वका बेला बाटो–बाटोमा देखिन्छ– ठूल्ठूला टपरीमा सेल, पुरी, अचार, भटमास आदि आ–आफ्नो आस्थाको शक्तिलाई चढाएको ।
यसरी खाना चढाउने चलन अधिकांशको छ । यो आस्थाको विषय भएकाले थोरै चढाएर खर्च कम गर्नेतर्फ पनि हामीले सोच्नुपर्छ । यसरी आस्थाको शक्तिलाई खाना चढाउनेबाहेक पनि कतिले खाना खेर फाल्ने गर्छन् । देखेको बेला मैले मुख फोडेरै भन्ने गरेकी छु “कतिले पर्याप्त मात्रामा खान पाएका छैनन्, यसरी खाना खेर फाल्नु त अपराध हो ।”
दशैं–तिहारमा धेरै जनाको घरमा भेटघाट गर्न गइन्छ । प्रत्येकको घरमा केही न केही खान दिंदा अलिकता चाख्नैपर्छ । अलिकति चाखेर धेरै मात्रामा छाडिएको खाना खेर जान्छ ।
त्यसैले चाडपर्वमा पाहुना हुन जाँदा आफूले खान नसक्ने कुरा स्पष्ट भन्ने र खाना खेर जान नदिन हामी सचेत हुनुपर्छ । प्रायः बालबालिकाले खाना फाल्ने र बढी खाएर स्वास्थ्यमा समस्या आउने हुँदा उनीहरूलाई एकपटकमा थोरै खानेकुरा दिनुपर्छ । यसले स्वास्थ्य र सम्पत्ति दुवैको रक्षा हुन्छ ।
युवा अवस्थामा काम गरेर भविष्यका लागि ब्यांकमा पैसा राखे जस्तै हामीले सन्तुलित भोजन गर्दै भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याप्रति पनि ख्याल गर्नुपर्छ ।
मोबाइल, कम्प्युटर वा कुनै सामग्री किन्दा ‘कुन बढी टिकाउ हुन्छ’ भनेर विचार गर्नेहरूले ती सामग्री प्रयोग गर्ने शरीरको टिकाउपन र स्वास्थ्य अवस्थाबारे पनि विचार गर्नुपर्छ । त्यसैले यो दशैं–तिहारमा एउटा प्रण गरौं– कोचेर नखाने, खाना नफाल्ने !