दशैंमा फस्टाएको फुटपाथ बजार
मोलमोलाई गरिरहनु नपर्ने र सस्तो पनि पर्ने भएकाले फुटपाथका पसलहरु ग्राहकका लागि आकर्षक रोजाइ बनेका छन् ।
दशैं शुरु भएसँगै बजारमा किनमेल गर्नेहरुको घुइँचो लागेको छ । दशैंको लागि नयाँ लुगा, लत्ताकपडा र सरसामान किन्नेहरुको भीडले काठमाडौंको मुख्य व्यापारिक केन्द्र असन, न्यूरोड, भोटाहिटी लगायतका क्षेत्रहरु व्यस्त बनेका छन् ।
उपभोक्ताहरुको घुइँचो लागेपनि अधिकांश व्यापारी भने विगतका वर्षहरुम भन्दा व्यापार निकै घटेको बताउँछन् । विगत १८ वर्षदेखि सुन्धारामा लत्ताकपडाको व्यापार गर्दै आएका कन्काई, झापाका युवराज घिमिरे भन्छन्, “यसपाली व्यापार पहिलेजस्तो छैन, कमाइ पनि आधा घटेको छ ।”
दशैं बजारको आकार यसरी घटेको तीन चार वर्ष जति भएको उनको अनुभव अरु व्यापारीसँग पनि मिल्छ । विगत १५ वर्षदेखि सुन्धारमा कपडाको व्यापार गर्दै आएका रोसी, काभ्रेपलाञ्चोकका यन्त्रनाथ हुमागाईं भन्छन्, “आफ्नो अनुकूल समय पारेर जुनसुकै बेला लुगा किन्ने प्रचलन बढ्दा दशैं बजार सुकेको छ ।” भूकम्पयता दशैं बजार झनै खुम्चिएको उनको अनुभव छ ।
उपभोक्ताको किनमेल शैलीमा आएको परिवर्तनसँगै फुटपाथमा विस्तार भएको सस्तो बजारले पसलहरुको व्यापार सुकाएको सुन्धाराको हुलाक कार्यालय अगाडि स्टल भाडामा लिएर व्यापार गरिरहेका प्रेम ढकाल बताउँछन् । उनी भन्छन्, “फुटपाथमा सबै खाले पसल फस्टाएपछि सटर र स्टल भाडामा लिएर व्यापार गर्नेहरु मर्कामा पर्ने नै भए ।”
हरेक दिन साँझको पाँच बजेपछि सुन्धारा, न्यूरोड, भोटाहिटी र रत्नपार्क क्षेत्रमा फुटपाथ बजार लाग्छ । तर, दशैंको बेला पाँच नबज्दै शुरु हुने यस्ता बजारमा ग्राहकको भीड निकै हुन्छ । त्यसको असरले साँझपख स्टल र सटरका पसलहरुमा व्यापार स्वाट्टै घटेको व्यापारीहरु बताउँछन् ।
ग्राहकहरुको बाक्लो भीड देखिने फुटपाथका बजारमा गर्मी र जाडोका लत्ताकपडा, झोला, जुत्ताचप्पल, मोबाइल, स्पिकर, तन्ना, ब्ल्याङ्केट जस्ता सामानको खपत ज्यादा भइरहेको छ । सस्तो मूल्यका साथै बढी सामान बिकाउने होडबाजीमा व्यापारीहरुले राखेका विभिन्न किसिमका अफरले ग्राहकको थेग्नै नसक्ने भीड फुटपाथका बजारतर्फ तानिएको छ ।
उच्च वर्गका उपभोक्ताहरुमा सधैंजसो सामान किनमेल गरिरहने बानी हुन्छ तर मध्यम तथा निम्न वर्गका प्रायः उपभोक्ता वर्षभरिलाई काम लाग्ने सामानहरु दशैंका बेला नै खरिद गर्ने गर्छन् । उनीहरुकै कारण काठमाडौंको बजारमा दशैंको बेला किनमेल गर्नेहरुको ज्यादा भीड लाग्ने गरेको हो ।
सडक छेउछाउमा लाग्ने बजारमा हिँड्दाहिँड्दै किन्न मिल्ने, मोलमोलाई गरिरहनु नपर्ने र सस्तो पनि पर्ने भएकाले चल्तीका यस्ता बजारले पसलतिर गइरहेका उपभोक्तालाई पनि तान्ने गरेको छ । एक पटक सस्तोमा सामान किनेपछि उनीहरु स्थायी ग्राहक जस्तै हुन पुग्छन् । तिनैमध्येकी किर्तिपुर निवासी दुर्गा मगर रत्नपार्कको फुटपाथ बजारमा लत्ताकपडा किन्दै गरेकी भेटिइन् । “लुगा छान्न र बार्गेनिङ गर्न फुटपाथमै सजिलो हुन्छ । त्यसैले म पाएसम्म सबै सामान यहीँ किन्ने गर्छु” उनले भनिन् ।
त्यसो त अरुलाई दिने उपहारका सामान किन्ने ग्राहकका लागि पनि फुटपाथका सस्ता पसलहरु ग्राहकका आकर्षक रोजाइ हुने गरेका छन् । “दशैंमा आफन्तलाई दिन मिल्ने राम्रै गुणस्तरका लत्ताकपडा हामी सस्तो मूल्यमा बेच्न सक्छौँ । त्यसकारण पनि हाम्रा ग्राहक घटेका छैनन्” न्यूरोडको फुटपाथमा कपडा व्यापार गरिरहेका श्याम तामाङले भने ।