"बलात्कार घट्ना कम गर्न आम मनोविज्ञानको उपचार गर्नुपर्छ"
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हत्या हिंसा राेक्न आम मनोविज्ञानकै उपचार गर्नुपर्ने बेला आएको बताएका छन् ।
“हत्या बलात्कार पहिले शुन्य थियो, अहिले ९० पुगेको होइन, यसलाई कसरी रोक्न भनेर मन्थन गर्नुपर्छ ।” यस्ता अपराधका घटना बढ्नुमा आम मनोविज्ञानको उपचार गर्नुपर्ने भन्दै उनले थपे, “यसको कानुनी, सामाजिक र मनोवैज्ञानिक उपचारमा लाग्नुपर्छ ।
गण्डकी प्रदेशका ११ जिल्लाका सुरक्षा प्रमुखहरु सहभागी भएको शान्ति सुरक्षा र मानवअधिकार विषयक अन्तक्र्रियामा मुख्यमन्त्री गुरुङले सरकारले जति जति कडा कानुन ल्याएपनि अपराध नघटेको भन्दै चिन्ता व्यक्त गरे । “पहिले पहिले घरमा आगो नहुँदा साँझ छिमेकीको घरबाट अगुल्टो ल्याउनुपथ्र्यो, उनले भने, तर अहिले साँझमा घर बाहिर निस्किएको बच्चा किन घर फकँदैन ? यस्तो डरलाग्दो अवस्थाका कारण खोज्नुपर्छ।”
मुख्यमन्त्री गुरुङले सरकारले सबै भन्दा बेवास्ता कारागार सुधारमा गरेको बताए । “सरकारले सबैभन्दा ध्यान नदिएको कारागारमा हो, उनले भने, संघीय सरकारको मातहत रहने भएकाले यसको सुधार गर्न हामीले अनुरोध मात्र गर्न सक्छौँ।”
यस्तै, दुरदराजका प्रहरी चौकीहरु निकै दुरावस्थामा रहेको उनको भनाइ छ । “बस्ने ठाउँ नै नभएका प्रहरीले कुन मानसिकताले शान्ति सुरक्षाको काम गर्न सक्छ उनले भने, प्रहरीलाई स्रोत साधन सम्पन्न बनाएर व्यवस्थित परिचालन गर्नुपर्छ।”
यस्तै, सरकारले लागु औषध नियन्त्रणमा पनि आवश्यक चासो नदिएको बताए । आगामी वर्षको बजेटमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण जस्ता विषयमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने समेत उनले जानकारी दिए । यद्यपी यस वर्ष पनि केही कामहरु भने शुरु गर्न बजेटको व्यवस्था गरेको उनको भनाइ छ।
प्रदेश बलियो हुँदा मात्र राज्य बलियो
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश बलियो हुँदा मात्र राज्य बलियो हुने धारणा राखेका छन् । पृथ्वीनारायण शाहले नेपाल राज्य निर्माण शुरु गरेको २५० वर्ष पुग्दा पनि अझै धेरै पछाडि रहेको भन्दै धेरै कुरामा राष्ट्रले ध्यान दिनै नसकेको बताए । गण्डकी प्रदेशलाई हरेक कुरामा पूर्ण बताउने भन्दै उनले भने, “७ प्रदेश बलियो हुँदा मात्र राज्य बलियो हुन्छ, होइन, भने कर्णाली कर्णाली नै रहन्छ, गण्डकी गण्डकी नै रहन्छ ।”
गण्डकी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले स्रोत साधनको व्यवस्था भयो भने जस्तोसुकै चुनौती सामना गर्न सकिने बताए । विकसित देशले नसकेका कुरा पनि गर्न सकिएको भन्दै उनले थपे, “हामीलाई गर्व छ हामीसँग इमान्दारिता र पराक्रम छ।”
जनशक्तिलाई आधुनिकीकरण र व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए । “आगो निभाउन गएको सेना आगोले नै पोलिएर मर्नुपर्ने, डुबेको मान्छेलाई उद्धार गर्न जाँदा आँफै डुबेर मर्नुपर्ने जस्ता अवस्था छ, मुख्यमन्त्री गुरुङले भने, यस्तो कसरी हुन्छ, जनशक्तिलाई उचित तालिम दिनुपर्छ ।” उनले सबै शहरमा बारुणयन्त्र र विपद् व्यवस्थापनका सबै तयारी गर्न प्रदेश सरकार लागेको जानकारी दिए।
नारफु, छेकम्पार र लार्के नाकामा राज्य पुगेन
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा चीनसँग नाका जोडिएका तीन ठाउँमा राज्यको उपस्थिति नै नभएको बताए। मनाङको नारफुभूमि, गोरखाको छेकम्पार र लार्केमा अहिलेसम्म राज्यको उपस्थिति नै नरहेको उनको भनाइ छ।
मुस्ताङको कोरला नाका र नवलपुरको त्रिवेणी नाकामा राज्यको उपस्थिति औपचारिकतामा मात्र रहेको उनको भनाइ छ । कोरला नाकामा चीनले धमाधम संरचना बनाएको तर नेपालतर्फको भुभागमा केही नभएको र यस्तै हालत त्रिवेणी नाकामा पनि रहेको उनले जानकारी दिए ।
गण्डकी सरकारले कोरला र त्रिवेणी नाकामा भन्सार लगायत पुर्वाधारको विकास गर्न र दुवै नाका खुलाउन संघीय सरकारलाई अनुरोध गरेको मुख्यमन्त्री गुरुङले बताए । चीनसँग नाका रहेको तातोपानी संचालन गर्न निकै कठिनाई रहेको र केरुङ नाका भन्दा कोरला नाका नै भौगोलिक रुपमा पनि उपयुक्त भएकाले चीनले यो नाका खोल्न चासो दिइरहेको उनको भनाइ छ।
कोरला नाकामा दवै देशको आयोजनामा वर्षमा दुई पटक मेला लाग्ने गरेको छ।