नेपाल बाङ्लादेश मैत्रीपूर्ण कला प्रदर्शनी शुरू
ललितपुरमा ‘नेपाल बाङ्लादेश मैत्रीपूर्ण कलाप्रदर्शनी–२०१८’ शुरु भएको छ ।
१७ असोजमा नेपालका लागि बाङ्लादेशकी राजदूत मासफी विन्ते साम्स् र ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले प्रदर्शनीको उद्घाटन गरेकी हुन् ।
ललितपुरको पार्क ग्यालरीमा भइरहेको प्रदर्शनीमा १५ जना बाङ्लादेशी र सात जना नेपाली चित्रकार र फोटो पत्रकारको चित्र तथा तस्वीरहरु राखिएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत साम्सले नेपाल र बाङ्लादेश दुवै देश कलामा धनी रहेको बताएकी छन् । उनले दुवै देश मिलेर कलाको विकास र विस्तार गर्नुपर्ने समेत चर्चा गरिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै उपमेयर सत्यालले ललितपुरलाई कलाको शहर बनाउन महानगरले विभिन्न कार्यक्रम ल्याउने प्रतिवद्धता जनाइन् । कलाप्रदर्शनी २३ असोजसम्म चल्नेछ ।