महात्मा गान्धीलाई बुझ्न ६ फिल्म
विश्व चर्चित अहिंसावादी नेता महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) का बारेमा अनेकौं पुस्तक, लेख, वृत्तचित्र र फिल्महरु बनेका छन् । विश्वमा मानवता, अहिंसाको प्रतीकको रुपमा हेरिने भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख व्यक्तित्व महात्मा गान्धीका बारे बलिउडमा थुप्रै फिल्म बनेका छन् ।
आज महात्मा गान्धीको जन्मदिन । उनका बारेमा जान्न र जानकारी लिन उत्सुकहरुका लागि उनको जीवनसँग सम्बन्धित फिल्महरु उपयोगी हुनसक्छन् । यहाँ हामीहरु ती फिल्मबारे चर्चा गर्दैछौं जो व्यवसायिक रुपमा सफल भएर दर्शकको अपेक्षालाई पनि धेरै हदसम्म पूरा गरे ।
महात्मा गान्धीको जीवनीमा आधारित पहिलो फिल्म हो– ‘गान्धी’ । सन् १९८३ को अस्कार अवार्ड जितेको यो फिल्म रिचर्ड एटनाबरोले बनाएका थिए । महात्मा गान्धीको जीवनीमा बनेका फिल्ममध्ये ‘गान्धी’ अहिलेसम्मकै उत्कृष्ट मानिन्छ । एकेडमी अवार्ड समेत प्राप्त गरेका यो फिल्ममा गान्धीको रोल बेलायती अभिनेता बेन किंग्स्लेले गरेका छन् ।
गान्धीको जीवनमा आधारित अर्काे फिल्म सन् १९९३ मा प्रदर्शनमा आएको ‘सरदार’ हो । भारतकै अर्का नेता सरदार बल्लभभाइ पटेलको जीवनीमा आधारित भए पनि यसमा गान्धीको भूमिका पनि छ । यस फिल्ममा गान्धीको रोल अन्नु कपुरले गरेका छन् भने बल्लभभाइ पटेलको भूमिका परेश रावलले छन् ।
सन् १९९६ मा रिलिज भएको ‘द मेकिङ अफ महात्मा’ श्याम बनेगलको निर्देशनमा बनेको थियो । महात्मा गान्धीको जीवन यात्रा वर्णन गरिएको यो फिल्ममा गान्धीको भूमिका रजत कपुरले निर्वाह गरेका छन् ।
सन् २००० मा बनेको ‘हे राम’ महात्मा गान्धीसम्बन्धित अर्काे फिल्म हो । यस फिल्ममा भारत विभाजन र गान्धीको हत्यासम्मको सन्दर्भ उल्लेख गरिएको छ । कमल हसनको निर्देशनमा बनेको यो फिल्ममा अभिनेता नसिरउद्दीन शाह गान्धी बनेका थिए ।
सन् २००६ मा बनेको फिल्म लगे रहो मुन्ना भाई भने गान्धी विचार जस्तो निकै गम्भीर विषयलाई निकै हल्का रुपमा प्रस्तुत गरिएको भनेर आलोचित पनि भयोे । यद्यपि गान्धीका आदर्शलाई त्यसको आशयमा कुनै तोडमोड नगरी निकै मनोरञ्जक शैलीमा प्रस्तुत गरिएकाले यो फिल्म चर्चित हुनुका साथै दर्शकहरुबाट निकै रुचाइयो पनि ।
निर्देशक फिरोज अब्बास खानको लेखन तथा निर्देशनमा बनेको ‘गान्धी–माइ फादर’ सन् २००७ मा निर्माण भएको थियो । अनिल कपुर निर्माता रहेको यस फिल्म गान्धीको निजी जीवन र उनको परिवारमा आधारित छ । फिल्ममा गान्धीका छोरा हरिलाल गान्धी र उनको सम्बन्धलाई मिहिन तरिकाले प्रस्तुत गरिएकोे छ । गान्धीको भूमिका दर्शन जरिवाला र हरिलालको भूमिका अक्षय खन्नाले निभाएका छन् । यस फिल्मले भारतको राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।