शंखेकीरा अनुसन्धान
कमल मादेन
जीवजन्तु विज्ञ डा. प्रेम बुढाको अगुवाइमा अनुसन्धाताहरूले नेपालका विभिन्न स्थानमा अध्ययन गरेर भेटेका १६ प्रजातिका शंखेकीरा मध्ये सात प्रजाति विश्वकै लागि नयाँ हुन् ।
जीवजन्तु पहिचान सम्बन्धी अध्ययन–अनुसन्धान गर्ने नेपाली विज्ञ धेरै छन् । उनीहरूमध्ये वरिष्ठ अनुसन्धानकर्मीका रूपमा चिनिने केही विज्ञको दिनचर्या व्यस्ततामै बितेको देखिन्छ । तर, जन्तु विज्ञानको क्षेत्रमा उनीहरूबाट के–कति योगदान भयो भनेर हेर्ने हो भने स्थिति टिठलाग्दो छ ।
किनभने नेपालमा पाइने स्तनधारी, पक्षी, सरीसृप, मत्स्य, उभयचर, कीटपतंगबारे जति पनि तथ्यांक भेटिन्छन्, ती सबैजसो विदेशीका खोज तथा अनुसन्धानमा आधारित हुन् । यस्तो हुनुको कारण नेपालमा जन्तु विशेषको पहिचान, वर्गीकरण र नामकरण गर्ने विज्ञको अभावले हो ।
यद्यपि सरीसृप वर्ग अन्तर्गत छेपारो समूहमा प्रा. करणबहादुर शाहको योगदान महत्वपूर्ण छ । शाह र जर्मनीका सर्पविज्ञहरूले नेपालमा विश्वका निम्ति आधा दर्जन जति नयाँ छेपारा पत्ता लगाएका छन् ।
यस्तै, डा. प्रेम बुढाले शंखेकीरा पहिचानमा विद्यावारिधि गरेका हुन् । उनले शंखेकीराको वर्गीकरण, पहिचान र नामकरण अर्थात् ‘एनिमल ट्याक्सोनोमी’ मा उल्लेख्य काम गरिरहेका छन् । विशुद्ध ‘एनिमल ट्याक्सोनोमी’ मा मात्रै काम गर्ने उनी नेपालका एक्ला विज्ञ हुन् । बुढाले १६ प्रजातिका शंखेकीरा पहिचान गरेका छन् ।
यसै सन्दर्भमा यो पंक्तिकारले लेखेको ‘शंखेकीराका नयाँ प्रजाति’ शीर्षकको लेख हिमाल मा प्रकाशित छ । त्यस लेखमा बुढा र उनका दुई सहकर्मीले संयुक्त रूपमा विश्वको निम्ति ६ प्रजातिका नयाँ शंखेकीरा पत्ता लगाएको विवरण समावेश छ ।
डा. बुढा प्रमुख लेखक रहेको एक अर्को अनुसन्धानात्मक लेख ‘युरोपियन जर्नल अफ ट्याक्सोनोमी’ को अंक ३३७ मा गत वर्ष प्रकाशित भएको छ । ‘द जिनस डिप्लोमाटिना बेन्सन, १८४९ इन नेपाल, विथ द डिस्क्रिप्सन अफ सेभेन न्यु स्पेसिस्’ शीर्षकको उक्त लेख प्रेम बुढा, फ्रेड नाग्स र थियरी ब्याकेजाले दशकौ लामो अनुसन्धानका आधारमा लेखेका हुन् ।
लेखमा नेपालमा पाइएका १६ प्रजातिका नयाँ शंखेकीराको नालीबेली समेटिएको छ । तीमध्ये सात प्रजाति उनीहरूले पत्ता लगाएका हुन् । बाँकी नौ प्रजाति नेपालका निम्ति मात्र नयाँ हुन् । उल्लिखित लेखको शीर्षकमा ‘डिप्लोमाटिना’ पछिको ‘बेन्सन १८४९’ ले उक्त जाति विलियम हेन्नरी बेन्सनले सन् १८४९ मा पत्ता लगाएको भन्ने जनाउँछ । यस लेखमा तिनै नयाँ सात प्रजातिका शंखेकीराबारे चर्चा गरिंदैछ ।
डिप्लोमाटिना
शंखेकीरा वर्गको जमीनमा रहने जातिमध्ये एक जातिलाई ‘डिप्लोमाटिना’ भनिन्छ । अत्यन्त सानो आकारको हुने डिप्लोमाटिना मूलतः एशिया महादेशमा पाइन्छ । अनुसन्धानका क्रममा यो जातिको शंखेकीरालाई माटो तथा बालुवाबाट छुट्याउन पीठो चाल्ने जाली जस्तो सामग्री प्रयोग गरिन्छ । उक्त सामग्रीलाई सिभ (Sieve) वा सिफ्टर (Sifter) भनिन्छ ।
त्यसपछि तिनीहरूलाई सुरक्षित रूपमा जोगाएर अनुसन्धान केन्द्रसम्म पुर्याइन्छ । कनिका आकारका हुने यो जातिको शंखेकीराका विविध प्रजाति हुन्छन् । खपटाको आकार सानो र आकृति उस्तै–उस्तै हुने भएकाले अनुसन्धान गर्न सजिलो पक्कै भएन । मूलतः स्थायी रूपमा देखिने सानातिना भिन्नता केलाएर अध्ययन गरिने बताइएको छ ।
यसका साथै तिनका आन्तरिक संरचनाको सूक्ष्म अध्ययनबाट तिनीहरू भिन्दाभिन्दै हुन् भन्ने पहिचान गरिएको जनाइएको छ । पहिचान गर्न इलेक्ट्रोनिक माइक्रोस्कोपबाट खिचिएको तस्वीरलाई सूक्ष्म रूपमा थप विश्लेषण गरियो । उल्लिखित नमूनाहरू त्रिभुवन विश्वविद्यालय केन्द्रीय जन्तु विभागमा संग्रह गरिएका छन् । इलेक्ट्रोनिक माइक्रोस्कोप नेपालमा नभएकोले यस्तो अध्ययन–अनुसन्धान यहाँ सम्भव छैन ।
स्थान–नामबाट नामकरण
डा. प्रेम बुढाले सन् २००६ मा ललितपुरको गोदावरीबाट शंखेकीराको ‘डिप्लोमाटिना’ जाति अन्तर्गतको नचिनिएको प्रजातिको केही नमूना संकलन गरेका थिए । उनले उक्त नमूनालाई फ्रेड नाग्सको सहकार्यमा विश्वको निम्ति नयाँ हो भन्ने पत्ता लगाए ।
उनीहरूले त्यो प्रजातिलाई ‘डिप्लोमाटिना गोदाबरेन्सिस्’ नामकरण गरी सविस्तार व्याख्या गरे । यो प्रजातिको नमूना ३.२ देखि ३.५ मिलिमिटरसम्म लामो र १.७ देखि १.८ मिलिमिटर चौडा छन् ।
‘डिप्लोमाटिना गोदाबरेन्सिस्’ को होलोटाइप अर्थात् विवरण तयार पार्दा प्रयोग गरिएको प्रमुख नमूनालाई सिडिजेडटियु–०३३ कोड नम्बर दिइएको छ । त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजीको छोटकरी रूप सिडिजेडटियु हो । यसैगरी, सन् २०१० मा इलामको माईपोखरीबाट ‘डिप्लोमाटिना’ जाति अन्तर्गत एक अर्कै प्रजातिको केही नमूना संकलन गरिएको थियो ।
बुढा र फ्रेड नाग्सले संयुक्त रूपमा काम गर्दा त्यो नमूना विश्वको निम्ति नयाँ हो भन्ने पत्ता लाग्यो । उक्त नमूनालाई उनीहरूले ‘डिप्लोमाटिना माईपोखरेन्सिस्’ नाम दिई व्याख्या गरे । यो प्रजातिको नमूना २.४ देखि २.५ मिलिमिटरसम्म लामो र १.१ देखि १.२ मिलिमिटर चौडा छन् । यसका नमूनालाई सिडिजेडटियु–०३५ कोड नम्बर दिइएको छ ।
सन् २००८ मा काठमाडौंस्थित शिवपुरीबाट ‘डिप्लोमाटिना’ जाति अन्तर्गत अर्को प्रजातिको नमूना संकलन गरिएको थियो । बुढा र थियरी ब्याकेजाले उक्त नमूना विज्ञान जगतको निम्ति नयाँ हो भन्ने पत्ता लगाई त्यसलाई ‘डिप्लोमाटिना शिवपुरेन्सिस्’ नामकरण गरी व्याख्या गरे । यो प्रजातिको नमूना २.५ देखि ३.० मिलिमिटरसम्म लामो र १.२ देखि १.३ मिलिमिटर चौडा छन् । यसलाई कोड नम्बर सिडिजेडटियु–०४८ दिइएको छ ।
सन् २००८ मा लाङटाङ राष्ट्रिय निकुञ्जस्थित स्याब्रुबेसी र धुन्चेबाट संकलन गरिएको एक अर्को नमूनालाई बुढा र थियरी ब्याकेजाले ‘डिप्लोमाटिना स्याब्रुबेसिन्सिस्’ नामकरण दिई व्याख्या गरे । यो प्रजातिको नमूना २.९ देखि ३.२ मिलिमिटरसम्म लामो र १.४ देखि १.५ मिलिमिटर चौडा छन् । तिनका कोड नम्बर सिडिजेडटियु–०५१ र सिडिजेडटियु–०५२ हुन् ।
वनबाट नामकरण
सन् २००८ मा तनहुँ जिल्लास्थित सिद्ध ओडार नजिक सालघारीमा संकलन गरिएको नमूनालाई बुढा र थियरी ब्याकेजाले शंखेकीराको नयाँ प्रजाति भन्ने पत्ता लगाए, जसको नाम ‘डिप्लोमाटिना सालघारिका’ राखियो । यो प्रजातिको नमूना २.८ देखि ३.१ मिलिमिटरसम्म लामो र १.५ देखि १.६ मिलिमिटर चौडा छन् ।
नमूनालाई कोड नम्बर क्रमशः सिडिजेडटियु–०४७ र सिडिजेडटियु–०४७ बी दिइएको छ । यसैगरी, सन् २००७ मा लाङटाङ राष्ट्रिय निकुञ्जस्थित चोलाङपाटीको ढ्यांग्रे सल्लो (एबिज फोरेस्ट) बाट संकलित अर्को नमूनालाई बुढा र फ्रेड नाग्सले ‘डिप्लोमाटिना एबिसिसियना’ नाम दिएर व्याख्या गरेका छन् । यो प्रजातिको नमूना २.७ देखि २.९ मिलिमिटरसम्म लामो र १.४ देखि १.५ मिलिमिटर चौडा छन् । यसको नमूनालाई सिडिजेडटियु–०२० कोड नम्बर दिइएको छ ।
आकारमा नामकरण
सन् २००७ र २००८ मा संकलित एक प्रजातिको नमूनालाई डा. बुढा र फ्रेड नाग्सले शंखेकीरा खपटाको आकार ट्यूबजस्तो भएकाले ‘डिप्लोमाटिना फिस्टुला’ नाम दिए । यो प्रजाति ललितपुरस्थित फुल्चोकी डाँडा, काठमाडौंको शिवपुरी र रसुवाको धुन्चेबाट संकलन गरिएका थिए । यो प्रजातिको नमूना ३.० देखि ३.३ मिलिमिटरसम्म लामो र १.५ देखि १.८ मिलिमिटर चौडा छन् । यसको नमूनालाई सिडिजेडटियु–०२५ र सिडिजेडटियु–०२६ र सिडिजेडटियु–०२७ कोड नम्बर दिइएका छन् ।
प्रेम बुढाले विश्वको निम्ति नयाँ नमूना नेपालमै संग्रह गरेर विज्ञान जगतमा गतिलो काम गरेका छन् । नेपालीले गरेको यो अनुसन्धानले विदेशी अनुसन्धानकर्ताको निम्ति निकै महत्व राख्छ । यसभन्दा अगाडि नेपालबाट पत्ता लगाइएका नयाँ प्रजातिका नमूनाहरू सबै विदेशमा संग्रह गरिएका छन् । तिनबारे कसैले अध्ययन गर्नुपर्ने भयो भने त्यहीं जानुपर्ने हुन्छ ।
डा. बुढाले पत्ता लगाएका नमूना बारे कुनै विदेशीले थप अध्ययन गर्नुपरेमा नेपाल आउनुपर्ने हुन्छ । नेपालमा यस्ता नमूना त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जन्तु विभागमा बाहेक अन्यत्र संग्रह गरिएको छैन । राष्ट्रिय प्राकृतिक संग्रहालय, स्वयम्भूमा जन्तुका नमूनाहरू संग्रहित भए पनि एउटा पनि होलोटाइप छैन । उक्त संग्रहालयमा संग्रहित नमूना पर्यटकलाई मनोरञ्जन दिलाउन मात्र उपयोग हुन्छ ।
विज्ञान जगतमा नयाँ कुरा पत्ता लगाउनु भनेको चाहे हात्ती जत्रो जनावर होस् वा कुनै कीरा, दुवैले समान अर्थ राख्छ । डा. बुढाले नेपालबाट विश्वकै निम्ति शंखेकीराहरू पत्ता लगाए । जुन अत्यन्त सराहनीय छ ।