रानी मुखर्जीको 'हिच्की' चीनमा रिलिज हुने
बलिउड अभिनेत्री रानी मुखर्जी केन्द्रीय भूमिकामा रहेको फिल्म 'हिच्की' चीनमा रिलिज हुने भएको छ।
शंघाई इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन भएर रुचाइएको फिल्म चीनमा १२ अक्टोबरमा रिलिज हुने भएको हो। यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको 'हिच्की' टौरेट सिन्ड्रोमको समस्याबाट ग्रस्त शिक्षकको आत्मविश्वास, संघर्ष र सफलताको कथा हो। समानता र समावेशीको सन्देश दिने यो फिल्मको निर्देशन सिद्धार्थ मल्होत्राले गरेका छन्।
चीनमा फिल्म प्रदर्शन हुन लागेको सन्दर्भमा रानीले भनेकी छिन्, "एउटा फिल्म आफ्नो कहानीका कारण विभिन्न संस्कृति र भाषाहरुमा जोडिन सक्दो रहेछ, यो देखेर धेरै खुशी लागेको छ।" 'हिच्की' समाजको प्रतिविम्ब भएको उनको भनाइ छ। यो फिल्मले सबै मानिसमा केही कमजोरी हुने र हामीले त्यसलाई स्वीकारेर संसारलाई सुन्दर बनाउनुपर्ने सन्देश दिने उनी बताउँछिन्।
रानीले भनेकी छिन्, "सामाजिक विषयमा आधारित फिल्महरु चिनियाँ दर्शकले रुचाउनेछन्। मलाई आशा छ, यो फिल्म सबैसँग जोडिन सक्नेछ, खास गरी शिक्षक, विद्यार्थी र अभिभावकहरुसँग।" गएको २३ मार्चमा रिलिज भएको 'हिच्की' ले भारतीय बक्स-अफिसमा साढे ७६ करोड भारु कमाएको थियो।
चीनमा भारतका कैयौं फिल्म रिलिज भइसकेका छन्। जसमा 'थ्री इडियट्स', 'पीके', 'दंगल', 'हिन्दी मिडियम' र 'बाहुबली' लगायत छन्। अहिलेसम्म चीनमा रिलिज भएका आमिर खानका सबै फिल्मले त्यहाँ व्यापारिक सफलता पाएका छन्। - एजेन्सी