बच्चाको लागि म हिटलर: अभिनेत्री काजोल
बलिउड अभिनेत्री काजोल फिल्ममा प्राय: सुकोमल भूमिकामा प्रस्तुत हुन्छिन्। कतिपय फिल्ममा खरो मिजास देखिए पनि त्यो क्षणिक वा चरित्रलाई न्याय दिनेगरी बनावटी हुने गर्छ। तर, वास्तविक जीवनमा भने उनी आफू कडा स्वभावकी भएकाे, त्यसमा पनि खासगरी बच्चाको मामिलामा आफू हिटलर जस्तै जण्ड रहेको बताइन्।
उनको भनाइमा बच्चामाथि उनी कडाइ गर्छिन्, तर पति अजय देवगन भने पुलपुल्याएर बिगार्छन्। एक टीभी च्यानलको कार्यक्रममा उनले भनिन्, "म कठोर स्वभावको भए पनि अजय म जति छैनन्। तर, उनी बिस्तारै बदलिरहेका छन्। उनलाई कठोर पनि बन्नुपर्छ भन्ने महसूस भइसकेको छ।"
सन् १९९९ मा विवाह गरेका अजय र काजोलका दुई बच्चा छन्। ४४ वर्षीया काजोलका अनुसार, बच्चाको पालनपोषणमा कुनै नियम हुँदैन र कुनै प्रशिक्षणले पनि यसमा सहयोग पुर्याउँदैन । टीभी र फिल्महरुले एक आदर्श आमाको छवि बनाइदिएको र पहिलो पटक आमा बनेका महिलाहरुले त्यही छवि हासिल गर्न प्रयास गर्ने उनको भनाइ छ।
उनले भनिन्, "समाजमा एउटा आदर्श व्याप्त छ, एक असल आमा खाना बनाउँछिन्, यो गर्छिन्, त्यो गर्छिन्। बच्चाको लागि आफ्नो जीवन सुम्पिन्छिन्। यदि तपाईंको बच्चा तपाईं एक असल आमा हो भन्ने सोच्छ भने मात्र यो आदर्शले अर्थ राख्छ।"
इन्टरनेटका सामाजिक सञ्जालले पछिल्लो समय सबथोक परिवर्तन गरेको र यसको प्रभावबाट कसैले पनि आफ्ना बच्चालाई जोगाउन नसक्ने काजोलले देखेकी छन् ।
यौन उत्पीडन विरुद्ध केही समययता चलेको विश्वचर्चित ह्यासट्याग #MeToo आन्दोलन फिल्मक्षेत्रमा मात्र सीमित बनेकोमा उनको चित्त बुझेको छैन। "यो आन्दोलन सिनेमा जगतमा मात्र होइन, सबै क्षेत्रमा हुनुपर्छ", उनले भनिन्। हलिउडबाट शुरु हुँदै बलिउड प्रवेश गरेको #MeToo आन्दोलनका क्रममा अभिनेत्रीहरुले विगतको आफ्नो यौन शोषणबारे सार्वजनिक रुपमा खुलाएका थिए।
यो आन्दोलनको व्यापकतामा जोड दिंदै काजोलले भनिन्, "यो आन्दोलन सबै उद्योगहरुमा अवलम्बन गर्नु जरुरी छ। यो कुनै एउटा उद्योगको मात्र समस्या होइन। बलिउड समाचारको दुनियाँमा छाउने भएकाले तपाईंबाट बोल्ने अपेक्षा गरिन्छ भन्दैमा यो आन्दोलन सिनेमा जगतमा खुम्चिनु हुँदैन। तपाईंले त्यो घटनाका कारण लाज मान्नु पर्दैन, जसको सामना तपाईंले गर्नुपर्यो।"
काजोल अभिनित नयाँ फिल्म 'हिलिकोप्टर इला' १२ अक्टोबरमा रिलिज हुनेछ। प्रदीप सरकारको निर्देशन रहेको फिल्ममा उनी महत्वाकांक्षी गायिका र एकल आमाको भूमिकामा देखिनेछिन्। – एजेन्सी