कहिले होला 'माग्नेहरु' को व्यवस्थापन ?
रौतहटकी लालमती देवी तीन वर्षदेखि पशुपति आर्यघाट नजिकैको सडक किनारमा मैलो झोला थापेर बसेकी छन् । बाटो हिंडने कसैले त्यो झोलामा चामल र पैसा हाल्दिन्छन् । दिनभरमा करिब रु ३०० र तीन केजी जति चामल जुट्छ ।
परिवारको बारेमा बताउन नचाहने उनको काखमा डेढ वर्षको बालक छ । घर रौतहट । उमेर थाहा छैन ।
लालमती बसेको सडक पेटीदेखि करिव २० मिटर पूर्व सडकको बायाँ किनारमा बस्छन्, कविता नेपाली र उनका श्रीमान गोविन्द । लुगा सिउने काम गर्ने गोविन्दका दुबै खुट्टा एउटा दुर्घटनामा भाँच्चिए । “सिलाई मेशिन चलाउन नसक्ने भएपछि सडकमा आएँँ,” ४८ वर्षीय गोविन्द भन्छन्, “लाचार छु ।”
दिनभर सडकमा हात थाप्दा जुटेको पैसाले साँझ बिहानको छाक टरेको कविता बताँउछिन् । नेपाली दम्पत्तीका एक छोरा बागमती किनारको वस्तीमा लुगा सिलाएर गुजारा चलाइरहेका छन् ।
एक साताअघि राजधानीको माहाँकाल मन्दिर अगाडिको पेटिमा हात थापेर बसेकामध्ये धनमाया उप्रेती र सीता चौलागार्इँ पनि थिए । केही वर्ष अघिसम्म धादिङमा थिइन् धनमाया । एक छोरा थिए । “विदेशिएको छोरोको खबर आउन छोड्यो, घरजग्गा नातेदार कोही छैनन्” धनमाया भन्छिन, “उपाय केही नभएपछि पेट पाल्न यही पेटीमा आइपुगें ।” सीता चौलागाईं भने आफ्ना बारेमा केही बोल्न चाहिनन् ।
राजधानीका सडकमा हात र कचौरा थापेर बसेकामध्ये अधिकांशले आफ्नो परिचय खुलाउन मान्दैनन् । विशालनगरका पसल पसलमा मागेर हिंडदै थिए एक युवक । आफ्नो नाम प्रकाश र घर काठमाडौंको कपन बताउने उनी किन सडकमा आइपुगे केही भन्न चाहेनन् ।
थापाथली र कुपण्डोल जोड्ने बागमती पुलमा बनेकोे ललितपुरतर्फको स्वागतद्वारको ओतमा भेटिइन् अर्की धनमाया । सेतै कपाल, थोत्रा कपडा र छेउमै भाँडाकुँडाको पन्तुरो छ ।
१२ वर्षदेखि यही ठाउँमा बसिरहेको बताउने उनी भोजपुरबाट १५ वर्षअघि काठमाडौं छिरेको बताउँछिन् । धनमायाका अनुसार उनका छोरा काठमाडौंकै कुनै मन्दिरका पुजारीको सहयोगी थिए र रहस्यमय तरिकाले उनको मृत्यु भयो ।
थप केही बताउन नचहाने उनले हामीलाई सुनाइन्, “कसैको भरथेग चाहिएको छैन, कतै टाढा जानु पनि छैन ।”
व्यवस्थापन कहिले ?
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७३ सालमा विभिन्न मठमन्दिरहरुमा माग्न बसेका ६५ जनाको अध्ययन गरेको थियो ।
उक्त अध्ययनबाट तीमध्ये ८३.७ प्रतिशत विवाहित र १६.९३ प्रतिशत अविवाहित रहेको पाइएको थियो ।
उनीहरुमध्ये ३३.८४ प्रतिशतले माग्नुको कारण गरीबी बताएका थिए । अस्वस्थ्य र असहाय भएर माग्न बसेको बताउने क्रमशः २७.६ र २७.६९ प्रतिशत थिए ।
घरमा बस्ने बाताबरण नभएर माग्न निस्किएको भन्नेहरु १०.७८ प्रतिशत थिए । अध्ययनमा समेटिएका माग्नेहरु मध्ये ५ वर्षभन्दा कम समयदेखि मागिरहेकाहरु ४६ प्रतिशत थिए भने २१ वर्षभन्दा बढी समयदेखि मागिरहेकाहरु ६ प्रतिशत थिए ।
मन्त्रालयले मग्नेहरुको बारेमा गरेको हालसम्मको यो नै पहिलो र एकमात्र अध्य्यन हो । उक्त अध्ययनले सरकारलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, मठ मन्दिर व्यवस्थापन समितिले त्यहाँका माग्नेहरुको समुचित व्यवस्थापन गर्न र विपन्नताका कारण माग्नेहरुका लागि आयआर्जनका कामको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको थियो ।
त्यस्तै वेसहारा तथा अशक्त भएर माग्नेहरुको हकमा भने ज्येष्ठ नागरिक आश्रममा समेत व्यवस्थापन गर्ने कार्यक्रम संचालन गर्न सुझाव दिइएको थियो । तर ती सुझावहरु हालसम्म कार्यान्वयनमा आएका छैनन् ।
बृद्धाश्रमको क्षमता बढाउने, ज्येष्ठ नागरिक भत्ता बढाई परिवारमै पुनर्स्थापना गराउने, सामाजिक सुरक्षाको स्तर बढाउने बारे पनि ज्येष्ठ नागरिक समेत जोडिएको मन्त्रालयसँग कुनै ठोस योजना छैन ।
सरकारी आश्रम
उपत्यकामा मात्र करिव पाँचहजार मगन्तेहरु सडक किनार, चोक र चौबाटोमा मागिरहेको अनुमान गर्ने कृष्ण कँडेल सरकारले सञ्चालन गरेको पशुपति क्षेत्रस्थित मुलुकको एकमात्र बृद्ध आश्रमका नायवसुब्बा हुन ।
राजा सुरेन्द्र बिक्रम शाहको पालामा १९३८ सालमा स्थापित यो वृद्धाश्रम १५ रोपनी क्षेत्रफलमा अटाएको छ । २०३४ सालमा समाजकल्याण केन्द्र बृद्ध आश्रममा रुपान्तरित यो वृद्धाश्रममा २३० जनलाई आश्रय दिन सकिने भए पनि हाल १७० ज्येष्ठ नागरिक यहीँ बस्छन् ।
एकजना स्वास्थ्य प्राविधिक समेत खटिने यहाँका वृद्धवृद्धालाई वार्षिक ३ सय छाक खाना विभिन्न व्यक्ति र संस्थाले आफ्नो जन्मोत्सव, विवाहोत्सवमा वा दिवंगत सहोदरहरुको सम्झनामा खुवाईरहेको कँडेल बताँउछन् ।
पशुपति क्षेत्र नजिकै मिसनरिज अफ च्यारिटीले २०७० सालमा स्थापना गरेको बृद्धाश्रममा ३२ जना मानसिक रुपमा अस्वस्थ असहायको स्याहार सुसार भइरहेको छ ।
त्यस्तै सामाखुसी र बुढानिलकण्ठस्थित मानवसेवा आश्रममा राजधानीका सडकमा मागेर गुजारा गरिरहेका ८४ जनाले आश्रय पाइरहेका छन् । आश्रितहरुलाई खाना खुवाउन लाग्ने दैनिक करिब रु १० हजार खर्च चन्दादाताकै सहयोगबाट चलिरहेको छ ।
मुलुकभरि बृद्धाश्रम र ज्येष्ठ नागरिक सम्बन्धी सचेतना कार्यक्रम चलाएका समेत गरि २३१ वटा सामाजिक र गैरसकारी संघसंस्थालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आर्थिक बर्ष २०७४/०७५ मा कुल रु १२ करोड ७१ लाख ७५ हजार प्रदान गरेको थियो । सो रकम आश्रमहरुको भौतिक सुधार र सञ्चालनको लागि प्रदान गरिएको बताइएको छ ।