राजनीतिदेखि डर लाग्छ: आमिर खान
बलिउड सुपरस्टार आमिर खानले आफू राजनीतिमा नआउने बताएका छन्। कतिपय अभिनेता तथा अभिनेत्री करिअरको एउटा विन्दुमा राजनीतिमा प्रवेश गरेको सन्दर्भमा आमिरको पनि त्यस्तो इच्छा छ कि भनेर सोधिएको प्रश्नमा उनले आफ्नो चाहना नभएको बताएका हुन्।
एनडीटीभीको एक कार्यक्रममा पत्रकार रवीश कुमारले सोधे- "तपाईं नेता बन्नुहुन्छ ? राजनीतिमा आउनुहुन्छ ?" जवाफमा आमिरले भने, "म नेता होइन । म त्यसको लागि बनेको होइन र म राजनीतिमा आउँदिनँ।"
उनले अगाडि भने, "अहिलेको अवस्थामा म बढीभन्दा बढी मानिसहरुसम्म पुग्न सक्छु । म एक सूचना सम्प्रेषक हुँ। सिर्जनशील छु। राजनीतिमा सिर्जनशील काम गर्न पाउँदिनँ। हो, मलाई राजनीतिदेखि डर लाग्छ । राजनीतिदेखि को डराउँदैन र ? म यसबाट अलग्गै रहन चाहन्छु। मेरो काम मानिसहरुलाई मनोरञ्जन पस्किने हो।"
एनडीटीभी युवाको 'पर्यावरणः अहिले होइन भने कहिले पनि होइन' नामक सत्रमा आमिरले आफ्नो 'पानी फाउन्डेशन' को विषयमा लामो कुराकानी गर्दै अनुभव समेत दर्शकलाई सुनाए । पर्यावरणबारे उनले भने, "पृथ्वीका कुनै पनि प्राणी आफूलाई आवश्यक पर्ने जति मात्र लिन्छन्।
मानिस मात्र यस्तो प्राणी हो, जो आफ्नो आवश्यकता भन्दा बढी उपयोग गरिरहेको छ। " उनी पछिल्लो समय महाराष्ट्रमा पानीको अभाव हटाउन केन्द्रित छन्। टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' चलाएर वाहवाही पाएका आमिर त्यही कार्यक्रमले समाजमा ल्याएको परिवर्तनबाट प्रेरणा लिएर सामाजिक काम गरिरहेको बताउँछन्।
यसै क्रममा आमिरले बलिउडमा पछिल्लो समय चर्चाको विषय बनिरहेको मेगा प्रोजेक्ट 'महाभारत' बारे पनि खुलाएका छन्। तपाईंले बलिउडमा अहिलेसम्मकै ठूलो बजेटको फिल्म 'महाभारत' बनाउने कुरा चर्चामा छ नि भनेर सोधिएको प्रश्नमा उनले यति मात्र भने, "म 'महाभारत' निर्माण गरिरहेको छैन। अहिले म केवल 'ठग्स अफ हिन्दुस्तान' फिल्ममा व्यस्त छु।"
यसअघि आमिरको ड्रिम प्रोजेक्ट 'महाभारत' निर्माणको चरणमा रहेको र यसका लागि करीब एक हजार करोड भारु बजेट छुट्याइएको चर्चा चलेको थियो । तर पछि भने उक्त फिल्म बनाउने निर्णयमा आमिरले पुनर्विचार गर्ने बताइएको थियो।
आमिरका साथै अमिताभ बच्चन, केटरिना कैफ र फातिमा सना सेखको मुख्य अभिनय रहेको बहुप्रतीक्षित फिल्म 'ठग्स अफ हिन्दुस्तान' ८ नोभेम्बरमा रिलिज हुनेछ। – एजेन्सी