अनुराग कश्यप, एउटा फिल्मले बदल्यो जसको जीवन
'ब्ल्याक फ्राइडे', 'ग्याङ्स अफ वासेपुर', 'देव डी' जस्ता फिल्म निर्देशन गरेका अनुराग कश्यप बलिउडमा 'डार्क फिल्मका किङ' मानिन्छन् । उनले फिल्ममार्फत भारतीय समाजका अँध्यारो पाटो खोतल्नुका साथै छुट्टै स्वाद थपेर बलिउडमा आफ्नो पहिचान स्थापित गरेका छन्। निर्देशकका साथै फिल्म निर्माण र लेखनमा पनि उनले आफूलाई साबित गरिसकेका छन् ।
प्राय: डार्क फिल्म निर्माणमै रमाइरहेका अनुरागले यसपाली भने रोमान्टिक विषयमा हात हालेका छन् । उनले निर्देशन गरेको रोमान्टिक कमेडी-ड्रामा फिल्म 'मनमर्जिया' १४ सेप्टेम्बरदेखि प्रदर्शन भइरहेको छ । कहिले डार्क र कहिले रोमान्टिक फिल्ममा हात हाल्दै प्रयोग गर्न रुचाउने अनुरागको व्यक्तिगत जीवनको आरोह-अवरोह हेर्दा पनि फिल्मभन्दा कम लाग्दैन ।
उनले एक अन्तरवार्तामा आफू बाल्यकालमा यौन शोषणको शिकार भएको खुलाएका थिए । उनका अनुसार, ११ वर्षको उमेरसम्म उनी शोषित भइरहे । २२ वर्षे व्यक्तिले उनको यौन शोषण गरेका थिए । अन्तरवार्तामा अनुरागले भनेका छन्, "धेरै वर्षपछि त्यो व्यक्तिसँग मेरो भेट भएको थियो । उसलाई आफ्नो कर्तुतमा पछुतो थियो ।"
सोही अन्तरवार्तामा उनले विगतमा फिल्म क्षेत्रमा आउने आफ्नो सोच र सपना नै नरहेको पनि बताएका छन् । उनले बताए अनुसार उनी लोकसेवा आयोगमा भिडेर जागिर खान चाहन्थे । त्यसका लागि उनी तयारी समेत गरिरहेका थिए । तर, एउटा प्रसंगले उनको जीवनलाई नयाँ मोड दियो ।
अनुरागका अनुसार, सन् १९९३ मा एक फिल्म फेस्टिभलमा इटालीको फिल्म 'बाइसाइकल थिभ्स' (सन् १९४८) हेरेपछि त्यसले उनलाई निकै प्रभावित पार्यो । उनका अनुसार, सो फिल्मको क्लाइमेक्स उनकै वास्तविक जीवन जस्तो थियो । फिल्मबाट उनी कति प्रभावित भए भने, फिल्म बनाउने निर्णय नै गरे ।
उत्तर प्रदेशको गोरखपुरबाट अनुराग जब मुम्बई आए, उनीसँग ५/६ हजार भारु मात्र थियो । त्यस क्रममा कैयौं रात सडकमै सुते, कामको खोजीमा निकै भौतारिए पनि । त्यसै क्रममा उनले पृथ्वी थिएटर्समा नोकरी गरे । बिस्तारै उनको जिन्दगीले बाटो समाउन थाल्यो । उनले टीभी सिरियल लेख्न थाले । अन्तत: एउटा फिल्म लेख्ने मौका पाए, जसले उनलाई बलिउडमा पहिचान दिलायो । त्यो फिल्म थियो, रामगोपाल बर्माको निर्माण/निर्देशनमा बनेको 'सत्या' (सन् १९९८) । अनुरागले सौरभ शुक्लासँग मिलेर फिल्मको स्क्रिप्ट लेखेका थिए ।
सम्बन्धको मामिलामा अनुरागको जीवन उतारचढावपूर्ण रह्यो । उनले दुई विवाह गरे । पहिलो विवाह पुरानो साथी आरती बजाजसँग भएको थियो । ६ वर्षसम्म साथै रहेका उनीहरुले सन् २००९ मा सम्बन्ध विच्छेद गरे । यसपछि उनले फ्रान्सबाट आएर बलिउडलाई नै कर्मक्षेत्र बनाएकी अभिनेत्री कल्की कोचलिनसँग सन् २०११ मा विवाह गरे । तर, यो सम्बन्ध पनि टिक्न सकेन । उनले कल्कीसँग चार वर्षपछि सम्बन्ध विच्छेद गरे । - एजेन्सी