फिल्मको लडाइँ कट्टर मानिसहरुसँग छ: शाहिद कपुर
बलिउड अभिनेता शाहिद कपुरले अहिलेको समय र फिल्मको विषयमा रोचक कुरा बताएका छन् । उनले समकालीन अवस्थामा बलियो बनिरहेको फिल्मको लडाइँ कट्टर हुँदै गएका मानिसहरुसँग भएको टिप्पणी गरेका छन् ।
शनिबार नयाँ दिल्लीमा आयोजित इन्डिया टुडे माइन्ड रक्स कार्यक्रममा शाहिदले भने, "म सोच्छु, हामी एक यस्तो समयमा छौं, जहाँ सबै कुरा हाम्रो पहुँचमा छन् । अनि हामी यस्तो समयमा पनि छौं, जहाँ के भन्न हुन्छ र के हुँदैन भन्नेमा समस्या छ ।"
उनले भने, "फिल्म र फिल्मकर्मी पछिल्लो समय बलियो रुपमा अगाडि आइरहेका छन् । यस्तै, फिल्मको विरोध गर्नेहरु पनि कट्टर हुँदै गएका छन् । 'उडता पञ्जाब' र 'पद्मावत' मेरो करिअरको दुई महत्वपूर्ण फिल्म हुन् । दुवैलाई दर्शकले धेरै माया दिए । यो माया अरु चीजभन्दा धेरै महत्वपूर्ण छ ।"
शाहिदले आफ्नो लागि सफलता र असफलताको अर्थ पनि बताएका छन् । शाहिदले भने, "सफलता र असफलता चलिरहने कुरा हो । (फिल्ममा) एकै चीज बारम्बार दोहोर्याइरहँदा मान्छेहरु वाक्क हुन्छन् । पछिल्लो पाँच वर्षमा मैले अभिनेताको रुपमा आफैंभन्दा फरक हुने कोशिश गरेको छु । मैले सम्भव भएसँग कोशिश गरिरहेको छु । एउटा अवधि पूरा भएपछि तपाईं सही फिल्म छनोट गर्न सिक्नुहुन्छ । समय बितेसँगै तपाईं आफूलाई पहिलेभन्दा राम्रो पाउनुहुन्छ ।"
शाहिदले सन् २००३ देखि फिल्मी यात्रा थाले पनि इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म 'जब वी मेट' (२००७) बाट बलिउडमा पहिचान बनाएका थिए ।
बलिउडमा १५ वर्ष लामो करिअरमा उनले 'कमीने', 'हैदर', 'उडता पञ्जाब' र 'पद्मावत' जस्ता फिल्ममा काम गरे । यिनमा शाहिदको अभिनयको निकै प्रशंसा गरियो । ३७ वर्षीय अभिनेताको नयाँ फिल्म 'बत्ती गुल मिटर चालू' यही २१ सेप्टेम्बरमा रिलिज हुँदैछ ।