निजगढ विमानस्थलको ईआईएमा लापरबाही, जलविद्युत आयोजनाको रिपोर्ट कपी–पेस्ट
प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) रिपोर्ट तयार गर्दा गम्भीर लापरबाही गरेको पाइएको छ ।
जीईओसीई कन्सल्ट्यान्टले तयार गरेको ईआईए रिपोर्ट ७.३ को ‘विकल्पको तुलना’ (कम्प्यारिजन अफ अल्टरनेटिभ) शीर्षकमा विमानस्थललाई जलविद्युत् आयोजनासँग तुलना गरिएको छ ।
‘विकल्पको तुलना’ को शुरुमै नेपालले सार्वजनिक तथा निजी स्तरमा जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको र आयोजनाबाट वातावरणमैत्री स्वच्छ ऊर्जा उत्पादन भई त्यसले देशको आर्थिक तथा सामाजिक विकासमा योगदान हुने उल्लेख छ ।
विमानस्थललाई त्यससँग विल्कुलै असम्बन्धित जलविद्युत आयोजनासँग जोडिएको विषयले ईआईए तयार गर्दा खेलाँची गरिएको स्पष्ट हुन्छ ।
यो त्यही वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन हो जसलाई गत जेठमा वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ ।
निजगढ विमानस्थल निर्माणका लागि प्रस्तावित स्थान वातावरणीय तथा जैविक विविधताका हिसाबले महत्वपूर्ण हो । तर, उक्त ठाउँको वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा कुनै जलविद्युत आयोजनाको रिपोर्ट ‘कपी पेष्ट’ गरिएको देखिन्छ ।
पूर्वाधारविद् सूर्यराज आचार्य वातावरणीय प्रभाव मूल्याङ्कनको परिपाटी नै ठीक नभएको बताउँछन् । “वातावरणीय प्रभाव मूल्याङ्कनलाई गम्भीर रूपले लिने चलन नै छैन, यो त सानो समूहलाई रोजगारी दिने काममा सीमित छ,” उनी भन्छन्, “यसमा सरोकारवाला मन्त्रालय र कन्सल्ट्यान्सीको दोषि देखिन्छन् ।”
उक्त ईआईए रिपोर्ट वातावरण विज्ञ सुवर्णबहादुर जोशी, नारायण सिंह, ज्याकर गौचन, रवीन्द्र श्रेष्ठ र सुशीलकुमार श्रेष्ठको टोलीले तयार पारेको थियो ।
वातावरण संरक्षण ऐन– २०५३ मा ‘वातावरणीय प्रभाव मूल्यांकन’ भन्नाले कुनै प्रस्तावको कार्यान्वयन गर्दा सो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने, त्यस्तो प्रभावलाई कुनै उपायद्वारा हटाउन वा कम गर्न सकिने वा नसकिने सम्बन्धमा यकिन गर्न तयार गरिने विस्तृत अध्ययन तथा मूल्यांकन सम्बन्धी प्रतिवेदन सम्झनुपर्छ भन्ने उल्लेख छ ।