नवाजुद्दीनको प्रश्न- हलिउड मिडियाले मलाई किन सुन्दर भने ?
नवाजुद्दीन सिद्दीकीको गन्ती बलिउडका ती अभिनेताहरुमा हुन्छ, जसले प्रतिभाकै बलमा सफलता हात पारे । तर, फिल्म क्षेत्रमा उनले जुन प्रकारले शुरुवात गरे, त्यो देख्दा उनी कुनै दिन अभिनय र प्रसिद्धिको यो उचाइमा पुग्लान् भनेर सायदै कसैले सोच्यो ।
हालै एक अन्तर्वार्तामा नवाजले आफ्नो करिअर र फिल्मी दुनियाँबारे धेरै कुरा बताएका छन् । उनले फिल्म क्षेत्रको चमकदमकप्रति आफूलाई कुनै परवाह नरहेको बताएका छन् ।
नवाजले भने, "म फिल्मी चमकदमकको मायाजालमा मतलब राख्दिनँ । तर, यसो भन्दैमा म पैसाबारे सोच्दिनँ भन्ने होइन । पैसा ठूलो व्यावसायिक फिल्मबाटै आउँछ ।"
अन्तर्वार्तामा उनको एउटा पीडा पनि प्रकट भएको छ । हलिउडका पत्रकारहरुले हालै उनलाई सुन्दर भन्दै उनको तुलना इटालीका अभिनेता मार्सेलो मास्ट्रोइआनीसँग गरेका छन् । यसबारे नवाजले भनेका छन्, "अमेरिकी सिनेमाबारे पुस्तक प्रकाशन गर्ने सर्वश्रेष्ठ प्रकाशनहरुमध्ये एकले मलाई सुन्दर भन्यो । यसप्रति मेरो ध्यानाकर्षण भएको छ । मलाई मेरो आफ्नै देशमा पनि कहिल्यै सुन्दर भनिएन, आम मानिस र मेरो काम रुचाउने समीक्षकहरुले पनि भनेनन् । यसैले यो ठूलो कुरा हो ।"
नवाजले अगाडि भनेका छन्, "रह्यो कुरा मलाई मार्सेलो मास्ट्रोइआनीसँग तुलना गरेको, उनी धेरै राम्रा अभिनेता हुन् । कुशल र चाखलाग्दो । जब म उनलाई निर्देशक भिटोरियो डी सिकाको फिल्ममा अभिनय गरिरहेको देख्छु, अभिनय यो हदसम्म वास्तविक पनि हुन सक्दोरहेछ भनेर आश्चर्य लाग्छ ।"
अन्य अभिनेताबारे सोधिएको प्रश्नमा उनले भने, "म अभिनेताहरुको प्रशंसा गर्दिनँ, बरु तिनको प्रदर्शनको प्रशंसा गर्छु । मैले हङकङको फिल्म 'इन द मूड फर लभ' हेरेँ, टोनी लेउङको अभिनयबाट स्तब्ध भएँ । 'बर्डम्यान' मा मिशेल किटनको अभिनय पनि सानदार लाग्यो । तर, मलाई 'द वाल्फ अफ द वालस्ट्रिट' मा लियोनार्डो डिक्याप्रियोको अभिनय सबैभन्दा बढी मन पर्यो ।"
नवाजुद्दीनले हालै उर्दू लेखक सआदत हसन मन्टोको जीवनीमा आधारित फिल्म 'मन्टो' मा शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममेकर नन्दिता दास निर्देशित फिल्म १३ मे मा फ्रान्सको केन्स फिल्म फेस्टिभलमा प्रदर्शन हुनेछ भने भारतमा २१ सेप्टेम्बरमा रिलिज हुनेछ । - एजेन्सी