रजनीकान्तको फिल्म '२.०' ले भिजुअल इफेक्ट्समा गर्यो कीर्तिमानी खर्च
रजनीकान्त र अक्षय कुमार अभिनीत फिल्म '२.०' ले प्रदर्शन अगावै इतिहास रचेको छ। भीएफएक्स अर्थात् भिजुअल इफेक्ट्सको मामिलामा यसले कैयौं फिल्मलाई चुनौती दिने आकलन गरिएको छ। निर्माताले भीएफएक्समा मात्रै ५४४ करोड भारु खर्च गरेको तथ्य सार्वजनिक भएको छ।
मिडिया रिपोर्टका अनुसार, भीएफएक्स खर्च बाहेक फिल्मको बजेट भने ५४२ करोड रहेको अनुमान गरिएको छ।
अक्षय कुमारले सोमबार इन्स्टाग्राममा '२.०' को पोस्टर सेयर गर्दै लेखेका छन्- ''फिल्मको भीएफएक्समा ५४४ करोड खर्च गरिएको छ। फिल्म बनाउन विश्वका तीन हजार प्राविधिक खटिएका थिए।'' भारतमा बनेका फिल्महरु मध्ये यति धेरै रकम भीएफएक्समा खर्च गर्ने '२.०' पहिलो फिल्म बनेको छ। साथै, पूरै फिल्म थ्रीडी प्रविधिमा छायांकन गरिएको पनि भारतमा यो पहिलो पटक हो।
यसलाई भारतको सबैभन्दा महँगो फिल्म बताइएको छ। अहिलेसम्म फिल्मको पोस्टर मात्रै सार्वजनिक गरिएको छ। फिल्मको टिजर १३ सेप्टेम्बरमा सार्वजनिक गरिने बताइएको छ। तमिल फिल्मका ख्यातिप्राप्त निर्देशक एस. शंकरले बनाएको '२.०' तमिलका साथै हिन्दीमा रिलिज गरिनेछ भने १३ वटा भाषामा डब गरेर प्रदर्शन गरिनेछ। फिल्ममा रजनीकान्त र अक्षयका साथै एमी ज्याक्सन पनि देखिनेछिन्।
साइन्स फिक्सनमा आधारित '२.०' यसअघि गत वर्ष नै रिलिज हुनुपर्ने थियो। तर, भीएफएक्समा ढिलाइ हुँदा प्रदर्शन मिति कैयौं पटक सरेको थियो। अब भने फिल्म प्रदर्शनका लागि तयारी अवस्थामा छ। फिल्म २९ नोभेम्बरमा रिलिज हुनेछ। - एजेन्सी