'बजरंगी भाईजान' का निर्देशक भन्छन्- जोखिम उठाउन मनपर्छ
बलिउड निर्देशक कबीर खानले एक दशक लामो फिल्म यात्रामा विभिन्न प्रयोग गरेका छन् । यस्तो प्रयोगलाई उनी जोखिम भन्छन् ।
उनका अनुसार उनी फिल्म बनाउँदा जोखिम उठाउन रुचाउँछन्, जुन कहिले सफल हुन्छ भने कतिपय अवस्थामा व्यर्थ भइदिन्छ । त्यसो त कला क्षेत्रमा हेर्दा कोही जोखिम रोज्छन् भने कोही परम्परागत सूत्रमै फिल्म बनाएर सुरक्षित स्थानमा बसिरहन रुचाउँछन् ।
पीटीआई भाषासँगको अन्तर्वार्तामा खानले भनेका छन्, ‘‘पैसा कमाउनु र सुरक्षित हुनु मेरो लक्ष्य थिएन । सुरक्षित हुने खालका फिल्महरु बनाएर त्यसबाट सफलता पाए पनि जिन्दगी नीरस बनिदिन्छ । निर्देशनमा जोखिम उठाउनुपर्छ भन्नेमा म विश्वास गर्छु । त्यस क्रममा केही फिल्म सफल हुन्छन् भने केही हुँदैनन् ।"
उनी अगाडि थप्छन्, "म अपेक्षा गर्छु, आफ्नो करिअरको अन्त्यसम्ममा म आफैंलाई खोज्ने प्रयास गरिरहनेछु । यस क्रममा कुन कुराले मलाई रोमाञ्चित बनाउँछ र कुन फरक-फरक चीज गर्न सक्छु भनेर थाहा पाउन सक्छु । सुरक्षित स्थानमा पुग्ने मेरो लक्ष्य कहिल्यै भएन ।"
निर्देशक खानले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ जस्ता एकपछि अर्को हिट फिल्म दिएका थिए । तर, पछिल्लो दुई फिल्म ‘फैन्टम’ र ‘ट्युबलाइट’ ले भने बक्स-अफिसमा राम्रो प्रभाव देखाउन सकेनन् । यति हुँदा पनि उनले जोखिम उठाउने आफ्नो सोच छाडेका छैनन् ।
खान नयाँ फिल्म ‘८३’ को तयारीमा छन्, जुन भारतीय क्रिकेट टिमले पहिलो विश्वकप जितेको विषयमा आधारित छ । फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा देखिनेछन् । - एजेन्सी