‘साझा मुद्दा उठानका लागि नगरपालिका संघ’
हालै सम्पन्न अधिवेशनबाट नगरपालिकाहरूको छाता संगठन ‘नेपाल नगरपालिका संघ’ को अध्यक्षमा निर्वाचित अशोककुमार व्याञ्जु श्रेष्ठ भन्छन्, “नगरपालिकाहरू शासकीय थलो मात्र होइनन् ।”
नेपाल नगरपालिका संघ आवश्यक छ ?
स्थानीय सरकारका मुद्दा र काम–कारबाहीबारे छलफल गर्न, एक–अर्काबाट सिक्न संघ आवश्यक छ । जस्तोः नगरपालिकाले गर्ने अधिकारको अभ्यास, कुनै नगरपालिकाको उदाहरणीय काम, कुनै नगरपालिकाभित्र असफल भएको योजना आदिबारे समीक्षा गरी अनुभव आदान–प्रदान गर्न पनि संघ आवश्यक छ ।
नगरपालिकालाई आफ्नो काम गर्न कसैले रोकेको छ र !
संघलाई त्यसरी बुझ्नु नै गलत हो । त्यसो भए संयुक्त राष्ट्रसंघ किन आवश्यक प¥यो ? सबै देश स्वतन्त्र र सार्वभौम छँदै छन् । अनुभवहरूको आदान–प्रदान, साझा मुद्दाहरूको उठान लगायत स्थानीय सरकारसँग सम्बन्धित काम गर्न संघ आवश्यक छ ।
संघले के काम गर्छ ?
यसले नेपाल सरकारसँग सम्बन्ध विस्तार गर्छ । त्यस्तै, जनप्रतिनिधिलाई सशक्तीकरण र जनताका साझा समस्याको पहिचान गरी समाधानका लागि छलफल गर्छ । छलफलबाट आएका निष्कर्ष केन्द्र सरकारसम्म पु¥याउँछ । नगरपालिकाहरूबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आदान–प्रदान गर्छ ।
यत्तिका लागि संघ नै किन ?
हामी हुर्केपछि हामीलाई हुर्काउने बाबु चाहिंदैन र ? संघ भनेको हाम्रो अभिभावक हो । यस्ता संघ विश्वका अन्य मुलुकमा पनि छन् । नेपालमा पनि विगत २५ वर्षदेखि संघको अस्तित्व कायम रहेको छ । विश्वका अन्य देशमा गरिएका राम्रा कामका अनुभवहरूलाई हामीले नेपालमा पनि लागू गर्ने प्रयास गरेका छौं ।
नगरपालिकाहरूमा अहिले कस्ता समस्या छन् ?
नगरपालिकाहरूमा अहिलेसम्म कर्मचारी समायोजन हुनसकेको छैन, कर्मचारीको अभाव छ । त्यस्तै, स्थानीय सरकारसँग जोडिएको १५ वटा साझा सूचीको अधिकारबारे अहिलेसम्म टुंगो लाग्न सकेको छैन । नगरपालिकाहरू शासकीय थलो मात्र होइनन्, यो विकासको थलो पनि हो । हामीले बुझ्नु र बुझाउनुपर्ने धेरै विषय बाँकी छन् ।