कृष्णसार शिकार प्रकरणमा सलमान खानलाई अदालतले दियो राहत
बलिउड अभिनेता सलमान खानलाई सन् १९९८ मा भएको कृष्णसारको शिकार प्रकरणमा जोधपुर अदालतले केही राहत दिएको छ। यसअघि अदालतले सलमानलाई विदेश यात्रामा जानुअघि हरेक पटक अदालतसँग अनुमति लिनुपर्ने प्रावधान राखेकोमा अबदेखि अनुमति लिनु नपर्ने भएको छ।
अदालतले गत ८ अप्रिलमा अन्तिम फैसला सुनाउँदै कृष्णसारको शिकार गरेको अभियोगमा सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर, पछि जमानत दिंदै अदालतले विदेश यात्रामा जानुअघि अनिवार्य रुपमा अनुमति लिनुपर्ने शर्त राखेको थियो ।
सलमानका वकिल एच.एम. सारस्वतले भने, "अब सलमानले विदेश जानका लागि हरेक पटक न्यायालयको अनुमति माग्नु पर्नेछैन ।" तर, सलमानले गन्तव्य स्थल, यात्राको अवधि, तारिख, बस्ने ठाउँ आदिको जानकारी भने अदालतलाई दिनुपर्नेछ ।
सलमानले फिल्म 'हम साथ साथ हे' को सुटिङका क्रममा २ अक्टोबर १९९८ मा जोधपुर नजिकैको कांकाणी गाउँमा दुई वटा कृष्णसारको शिकार गरेको आरोप लागेको थियो । उक्त मुद्दामा अभियुक्त रहेका सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू र नीलमलाई भने अन्तिम फैसलामा निर्दोष साबित गरिएको थियो ।
सलमान अहिले फिल्म 'भारत' को सुटिङमा व्यस्त छन् । 'भारत' मा उनी फेरि एकपटक केटरिना कैफसँग स्क्रिन शेयर गर्दै छन् । फिल्ममा अभिनेत्री दीशा पटानी पनि मुख्य अभिनयमा देखिनेछिन् । - एजेन्सी