पारिश्रमिकको रकमले छात्रवृत्ति र विद्यार्थीलाई साइकल किनिदिने तिलोत्तमका जनप्रतिनिधि
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुखदेखि केही वडाअध्यक्ष र सदस्यले आफ्नो पारिश्रमिक शिक्षा र सामाजिक क्षेत्रमा खर्च गरिरहेका छन् ।
नगरप्रमुख बासुदेव घिमिरेले आफ्नो पारिश्रमिक नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका रुपमा प्रदान गरिरहेका छन् ।
उनको सिको गर्दै नगरका केही वडा अध्यक्ष र सदस्यले समेत आफ्नो पारिश्रमिक सामाजिक सेवामा खर्च गरिरहेका छन् । अहिलेसम्म ६ वडाअध्यक्ष र दुई सदस्यले आफनो पारिश्रमिक र भत्ता वापत्काे रकम सामाजिक क्षेत्रमा लगाउने घोषणा गरेका छन् ।
“जनताको करबाट जनप्रतिनिधिले तलब खाने नकारात्मक प्रवृत्तिलाई चिर्न यस्तो निर्णय गरेको हुँ ।” नगरप्रमुख घिमिरे भन्छन्, “मेरो कार्यकाल भरी प्राप्त हुने सबै पारिश्रमिक शिक्षामा खर्च गर्नेछु ।”
तेस्रो नगरसभा समापन गर्दै गत २० असारमा घिमिरेले आफूलाई प्राप्त हुने पारिश्रमिक वापत्काे रकम नगरका हरेक सामुदायिक विद्यालयका एक/एक जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराउने घोषणा गरेका थिए ।
घिमिरेले आफ्नो घोषणाअनुरुप ४४ सामुदायिक विद्यालयका ४४ जना विद्यार्थीलाई तीन लाख ८५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेका छन् ।
प्रदेश–५ सरकारले नगर प्रमुखको पारिश्रमिक मासिक ३५ हजार रुपैयाँ तोकेको छ । वडाअध्यक्षको मासिक पारिश्रमिक २४ हजार र वडा सदस्यको आठ हजार छ ।
सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरेकाे तिलोत्तमा नगरपालिकाले शिक्षातर्फ कुल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरेको छ ।
वडा नम्बर १४ की सदस्य तुलसा भुषालले १० भदौमा आफ्नो पहिलो बर्षको तलव आमा समूह र परियार समाजलाई प्रदान गरेकी छन् ।
वडा नम्वर ३ का अध्यक्ष टंकप्रसाद तिवारी, ५ का अध्यक्ष चेतनारायण भण्डारी, ७ का दुर्गाप्रसाद पाण्डे, ९ का नारायण न्यौपाने, १० का व्यासमुनि चौधरी र १५ का अध्यक्ष खेमराज गुरुङले पारिश्रमिक समाजिक क्षेत्रमा लगाउने बताएका छन् ।
त्यस्तै वडा नम्बर १७ का अध्यक्ष दानबहादुर चौधरीले कम्तिमा २० प्रतिशत पारिश्रमिक सामाजिक क्षेत्रमा खर्च गर्ने भएका छन ।
वडा नम्वर ७ का अध्यक्ष पाण्डेले आफ्नो वडामा कक्षा ११ र १२ पढ्ने गरीब छात्र÷छात्राको शुल्क तिरिदिने र उनीहरुको लागि साइकल किनिदिने घोषणा गरेका छन् ।
उनी भन्छन् “मेरो वडाका कक्षा १० उत्तिर्ण भएका कुनै विद्यार्थीले रकम अभावका कारण पढ्न पाइन भन्ने छैनन् ।”
वडा नम्बर ९ का अध्यक्ष न्यौपानेले वडामा रहेका तीनवटा सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पारिश्रमिक दिइरहेका छन् ।
वडाअध्यक्ष निर्वाचित भएदेखि नै कोटीहवाको नेपाल अभिनास आश्रममा प्रत्येक शुक्रवार खाना खुवाउने गरेका वडा नम्वर १५ का अध्यक्ष गुरुङले पनि निर्वाचनमा गरेको वाचा अनुसार सबै रकम अनाथलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
वडा अध्यक्षको पदवहाली गर्दा नै आफ्नो पारिश्रमिक र भत्ताको २० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने घोषणा गरेका वडा नम्वर १७ का अध्यक्ष चौधरीले १० प्रतिशत गरीब जेहेन्दार विद्यार्थीको छात्रवृत्ति र १० प्रतिशत रकम शारीरिक रुपमा अशक्तहरुको सहयोगमा खर्च गरिरहेको बताएका छन् ।