भैरहवा–बुटवल क्षेत्रको आशा
भैरहवास्थित निर्माणाधीन विमानस्थल, लुम्बिनीमा पर्यटकको आकर्षण, बढ्दो कलकारखाना, रामायण र बुद्धिस्ट सर्किट प्रवर्द्धनको सहमति आदिले भैरहवा–बुटवल क्षेत्रको आर्थिक गतिविधि बढ्ने देखिन्छ ।
टाइगर प्यालेस रिसोर्ट भैरहवा । तस्वीरहरुः बिक्रम राई
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा निर्धारित समयभन्दा पाँच वर्ष ढिलाइ भए पनि त्यस वरपर आर्थिक गतिविधि बढ्न थालेका छन् । ६ लेनको राजमार्ग रहेको भैरहवा–बुटवल क्षेत्रमा अहिले नयाँ होटल, स्टील र सिमेन्ट कारखानाहरू, आवास क्षेत्र र मदिरा उद्योग समेत खुलेका छन् ।
यस्ता गतिविधिले भारतको सीमावर्ती क्षेत्रमा पर्ने कपिलवस्तु र रूपन्देही जिल्लाका पर्यटन, व्यापार र उद्योग फस्टाउन सक्ने देखिन्छ । भैरहवा सीमा नाकाबाट बुद्ध जन्मस्थलको तीर्थयात्रा गर्न भारत, बर्मा, श्रीलंका, कोरिया, चीन र जापानबाट वर्षेनि दुई लाखभन्दा बढी पर्यटक आउँछन् । नेपालले ती पर्यटकबाट अहिले नै प्रशस्त फाइदा लिनसकेको भने छैन ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् प्रदेश–५ का महासचिव चन्द्रबहादुर थापाका अनुसार, पर्यटकहरू भारतबाट सञ्चालित ‘बुद्धिस्ट सर्किट प्याकेज’ अन्तर्गत एक दिनका लागि मात्रै नेपाल आइपुग्छन् । थापा भन्छन्, “बोधगया, सारनाथ र कुशीनगर सहितका टुर प्याकेजमा लुम्बिनीलाई एक वा आधा दिन छुट्याइएको हुन्छ । पर्यटकहरू बास बस्न भारत नै फर्कन्छन् । कतिले आफैं खाना बोकेर आउँछन् ।”
भर्खरै नेपाल र भारतबीच संयुक्त रूपमा रामायण सर्किट र बुद्धिस्ट सर्किटको प्रवद्र्धन गर्ने सहमतिमा हस्ताक्षर भएकाले थप आशा गर्ने ठाउँ छ । लुम्बिनी विकास कोषले नेपालको काठमाडौं, हलेसी, मुक्तिनाथ, काँक्रेबिहार र तिब्बतको मानसरोवर जस्ता अन्य बौद्ध स्थलको प्रवद्र्धन गर्ने गरी टुर प्याकेजहरू सार्वजनिक गरिसकेको छ । निर्माणाधीन विमानस्थल बनेपछि भने लुम्बिनी यी सबै प्याकेजको प्रवेशद्वार बन्ने देखिन्छ ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारी बुद्धको जन्मस्थल लुम्बिनीलाई लिएर औधी आशावादी छन् । उनी भन्छन्, “एशियाका ५० करोड बौद्धमार्गीका लागि आस्थाको केन्द्रस्थल हामीकहाँ छ । पर्यटकका लागि आवश्यक पूर्वाधार भएन भने हामीले त्यसबाट फाइदा लिन सक्दैनौं ।”
हुन त, पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग पर्ने भएकाले पनि पहिलेदेखि बुटवल, भैरहवा क्षेत्र आन्तरिक आर्थिक गतिविधिको केन्द्र थियो ।
औद्योगिक क्षेत्रका रूपमा स्थापित भइसकेको बुटवल क्षेत्रमा अझै नयाँ–नयाँ उद्योग थपिंदैछन्– जगदम्बा स्टील्स, रुस्लान भोड्का, वार्सटाइनर बियर, हुलास अटो क्राफ्ट, पञ्चकन्या स्टील्स, वृज सिमेन्ट आदि । पर्यटकका लागि मात्रै नभएर उद्योगहरूका सभा सम्मेलन, विवाह–व्रतबन्ध जस्ता सामाजिक कार्यक्रम पनि होटलमै हुन थालेकाले यहाँ होटलहरूको माग बढी छ ।
अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजले भैरहवामा बनाएको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नेपालको पर्यटन क्षेत्रमा हालसम्मकै ठूलो अर्थात् रु.५ अर्ब वैदेशिक लगानीको हो । यहाँ नेपालकै सबैभन्दा लामो स्वीमिङ पुल र सबैभन्दा ठूलो क्यासिनो रहेका छन् । “नेपाली र विदेशी थुप्रै ग्राहक यहाँ बारम्बार आउँछन्” टाइगर प्यालेस रिसोर्टका महाप्रबन्धक ब्रेट मोडेल भन्छन्, “यो क्षेत्रमा आर्थिक गतिविधिका धेरै सम्भावना छन् ।”
भारतको सीमा नजिक भएकाले पनि रिसोर्टमा बढीजसो भारतीय ग्राहक आउने उनको भनाइ छ । उत्तरी भारतमा मद्यपानमा कडाइ र जुवा प्रतिबन्धित भएकाले पनि भारतीयहरू नेपाल आउने गरेका छन् । कतिपय भारतीय परिवार सप्ताहान्त (विकेण्ड) मनाउन त कतिपय ‘डेस्टिनेशन वेडिङ’ का लागि नेपाल आउने गर्छन् । दिल्ली, मुम्बई र कानपुरसम्मका मानिसहरू ‘फरेन वेडिङ’ का लागि आउने गरेको उनको भनाइ छ ।
यहाँ बढिरहेको पर्यटकीय चहलपहललाई सन् २०१९ को शुरूआतसम्म बनिसक्ने बताइएको अन्तर्राष्ट्रिय विमानस्थलले टेवा पुर्याउने आशा स्थानीय व्यवसायीको छ ।