ग्लामरपछि पनि कलाकार एक्लो रहन्छ: शाहिद कपुर
बलिउड अभिनेता शाहिद कपुरले लोकप्रियता, ग्लामर र प्रशंसा जस्ता कुरा सपनामा मात्र राम्रो लाग्ने बताएका छन्। वास्तविकतामा ती कुराले खुशी नदिने उनको भनाइ छ । ३७ वर्षीय शाहीदका अनुसार चर्चा र वाहवाही कमाए पनि अभिनेता सधैं एक्लो हुन्छ र आफ्ना भावना व्यक्त गर्न ठाउँ खोजिरहन्छ।
उनले एक्लोपनको अनुभूतिमा कलाकारले आफ्नो भावनात्मकतालाई बलियो बनाएर त्यसैबाट आफूलाई अघि बढाउने बताए । उनले भने, ‘‘कलाकारको रुपमा तपाईं सधैं एक्लो हुनुहुन्छ। तपाईं हर समय खबरहरुमा छाउनुहुन्छ र मानिसहरु त्यही रुपमा हेर्छन् । कतिसम्म भने, भावनात्मकता पनि प्रदर्शनको वस्तु बन्छ।"
उनी एक्लोपनको अनुभूतिलाई आफ्नो मनको एकदम निकट मान्छन् । त्यस क्रममा आफूप्रति निकै इमानदार भइने र भित्रैबाट परिवर्तन हुँदै गइने पनि उनको अनुभव छ।
उनले कलाकारिताको यात्रा हरदम चुनौतीले भरिएको समेत उल्लेख गरे। करिअरमा उतारचढाव भइरहने भएकाले एउटा कलाकार राम्रो स्थानको खोजीमा लागिरहने उनको भनाइ छ। शाहिदका अनुसार यदि कलाकारको रुपमा राम्रो गर्ने चाहने छ भने स्वार्थी हुनु जरुरी छ।
आफ्नो फिल्मी करिअरबारे उनी इमानदार भएर लेखाजोखा गर्छन्। "अहिलेसम्मको करिअरको समीक्षा गर्दा के महसूस गर्छु भने, मैले एकदम खराब फिल्महरु गरेको छु, कैयौं सुन्दर फिल्महरु पनि गरेको छु।"
शाहीद सन् २००३ मा फिल्म 'इश्क विश्क' बाट बलिउडमा प्रवेश गरेका थिए। उनले 'जब वी मेट', 'कमीने', 'हैदर', 'उडता पञ्जाब', 'पद्मावत' जस्ता फिल्मबाट आफ्नो प्रतिभा साबित गरिसकेका छन्। उनको नयाँ फिल्म 'बत्ती गुल मिटर चालु' फिल्म २१ सेप्टेम्बरमा रिलिज हुँदैछ। यसमा पनि उनको प्रभावशाली अभिनय देख्न पाइने अपेक्षा गरिएको छ। - एजेन्सी