नक्कली बन्दुकका कारण अमेरिकी अभिनेत्रीको मृत्यु
हलिउड अभिनेत्री वेनेसा मार्केजले खेलौना बन्दुक देखाएका कारण ज्यान गुमाउनुपरेको छ। दक्षिणी क्यालिफोर्नियामा प्रहरीको गोली प्रहारबाट ४९ वर्षीया अभिनेत्रीको मृत्यु भएको हो।
खबर अनुसार, मानसिक समस्याबाट पीडित वेनेसाको अवस्था जाँच गर्न घर मालिकले गत बिहीबार प्रहरी अधिकारीलाई बोलाएकी थिइन्। प्रहरी वेनेसाको साउथ पासाडेनास्थित फर्मान्ट एवेन्यूको ११०० ब्लकमा पुग्दा उनको मानसिक हालत ठीक देखिएको थिएन। प्रहरीले पेरामेडिक्स र एक मानसिक स्वास्थ्य चिकित्सकलाई फोन गरेर बोलाए, र त्यसबीच वेनेसासँग कुराकानी जारी राखे।
भेराइटी डटकम वेबसाइटका अनुसार, करीब साढे एक घण्टाको कुराकानीपछि वेनेसाले खेलौना बन्दुक लिएर आइन् र प्रहरी अधिकारीलाई तेर्स्याइन्। प्रहरीले असली बन्दुक ठानेर उनीमाथि गोली चलायो। गोली चलाएपछि मात्र प्रहरीले वेनेसाको हातमा रहेको बन्दुक नक्कली रहेको थाहा पाएको थियो।
टिभी कार्यक्रम 'ईआर' मा नर्सको भूमिका निर्वाह गर्ने वेनेसा सन् २००५ देखि बिरामी थिइन्। उनलाई डिप्रेसनको समस्या थियो। उक्त कुरा उनी आफैंले २००५ मा आएको टिभी सिरिज 'इन्टरवेन्सन' मा खुलाएकी थिइन्। उक्त शो पछि आफ्नो मानसिक समस्याबाट उनले छुटकारा पाउने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । एक स्थानीय सञ्चार माध्यमले जनाए अनुसार वेनेसाको मानसिक अवस्था पहिलेभन्दा धेरै बिग्रिएको भन्दै एक छिमेकीले प्रहरीलाई खबर गरेकी थिइन् ।
वेनेसाले कैयौं टिभी शो मा अभिनय गरेकी थिइन् । उनी सबैभन्दा पहिले सन् १९८८ मा आएको ड्रामा फिल्म 'स्ट्यान्ड एन्ड डेलिभर' मा देखिएकी थिइन्। उनले सन् १९९४ देखि १९७७ सम्म चलेको टिभी सिरिज 'ईआर' मा पनि अभिनय गरेकी थिइन्, जुन निकै चर्चित भएको थियो।
- एजेन्सी