'गोल्ड' बन्यो साउदी अरबमा रिलिज हुने पहिलो बलिउड फिल्म
अक्षय कुमार अभिनित स्पोर्ट्स ड्रामा फिल्म 'गोल्ड' ले प्रदर्शनको दोस्रो साता नाघिसक्दा पनि भारतीय बजारमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले १०० करोड भारु बटुलिसकेको छ र बक्स-अफिसमा कमाइको रफ्तार अझै जारी नै छ। 'गोल्ड' एक सय करोड क्लबमा पुग्ने २०१८ को आठौं फिल्म हो।
दर्शकका साथै समीक्षकहरुले पनि निकै रुचाएको यो फिल्मको नाममा अर्को उपलब्धि पनि जोडिएको छ। 'गोल्ड' साउदी अरबमा रिलिज हुने पहिलो बलिउड फिल्म बनेको छ।
फिल्म साउदीमा ३० अगस्टमा रिलिज भएको छ। अक्षय कुमारले नै बिहीबार ट्विट मार्फत यसबारे जानकारी गराएका हुन्। उनले लेखेका छन्, ''भारतको पहिलो गोल्ड मेडल जित्ने कहानी पहिलो पटक साउदी अरबमा देखाइनेछ। मलाई यो बताउँदा खुशी लागेको छ, 'गोल्ड' साउदी अरबमा रिलिज हुने पहिलो बलिउड फिल्म हो।''
त्यसो त 'गोल्ड' भन्दा अगाडि साउदी अरबमा रजनीकान्त अभिनीत 'काला' रिलिज भएको थियो। तमिल भाषामा बनेको 'काला' नै साउदीमा रिलिज भएको पहिलो भारतीय फिल्म हो भने 'गोल्ड' पहिलो बलिउड फिल्म हो। साउदीको फिल्महलमा लगाइएको प्रतिबन्ध हटे लगत्तै 'काला' रिलिज गरिएको थियो। हलिउड फिल्म 'ब्ल्याक प्यान्थर' साउदीमा प्रतिबन्ध हटेपछि रिलिज भएको पहिलो फिल्म थियो।
मुस्लिम कट्टरपन्थीको दबाबको कारण ३५ वर्षदेखि साउदीका फिल्म हलमा लागेको प्रतिबन्ध १८ अप्रिल २०१८ मा हटाइएको थियो।
- एजेन्सी