बक्स-अफिसमा भिड्दै 'स्त्री' र 'यमला पगला दिवाना'
आउँदो शुक्रबार ३१ अगस्टमा हरर कमेडी फिल्म 'स्त्री' र कमेडी फिल्म 'यमला पगला दिवाना फिर से' एकसाथ प्रदर्शनमा आउने भएका छन् ।
भारतीय बक्स-अफिसमा यी दुई फिल्मको भिडन्तमा कसले बाजी मार्ने हो, प्रतीक्षाको विषय बनेको छ । 'स्त्री' मा श्रद्धा कपुर र राजकुमार रावको जोडी देखिनेछन् भने 'यमला पगला दिवाना' को तेस्रो सिक्वलमा धर्मेन्द्र, सनी देओल र बबी देओल मुख्य भूमिकामा छन् ।
११ करोड भारुमा निर्माण भएको 'स्त्री' ले प्रचारप्रसारमा करीब ९ करोड खर्च गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनमा आउनु अगाडि नै फिल्मले डिजिटल, संगीत र स्याटेलाइट अधिकारको बिक्रीबाट २० करोड कमाइसकेको छ । यस हिसाबले अब बक्स-अफिसमा हुने थोरै पनि कमाइ फिल्मका लागि मुनाफा हुनेछ ।
अर्कातिर, 'यमला पगला दिवाना फिर से' २२ करोड भारुमा बनेको हो । प्रचारप्रसार र रिलिजमा करीब ९ करोड खर्च भएको बताइएको छ । फिल्मको स्याटेलाइट अधिकार ३१ करोडमा बिक्री भएको छ ।
यो हेर्दा फिल्मले रिलिज अगावै मुनाफा कमाइसकेको छ । फिल्ममा सलमान खान छोटो भूमिकामा देखिनेछन् भने सोनाक्षी सिन्हा, शत्रुघ्न सिन्हा र रेखा अतिथि कलाकार छन् ।
यो सिरिजको पहिलो फिल्म हिट भएको थियो भने दोस्रो असफल भएको थियो । - एजेन्सी