आलियाको फिल्म छनोटप्रति पिता महेश भट्ट दंग
बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय काम गरेका फिल्महरुमा निकै फरक-फरक भूमिकामा देखिइन्। फिल्म 'राजी' मा जासुस बनेकी उनले 'उडता पञ्जाब' मा बिहारी युवतीको भूमिकामा अभिनय गरिन्। यसरी उनले अलग-अलग प्रकृतिका फिल्म छनोट गरिरहँदा पिता महेश भट्ट निकै दंग छन्।
महेश भट्टका अनुसार उनी आलियाको सफल फिल्म करिअरमा फिल्मको विविधता देखेर चकित छन्।
आलियाको अभिनय यात्राबारे उनी भन्छन्, "आलियाले हामीलाई निकै गौरवको महसूस गराएकी छन् र खासगरी मलाई चकित पारेकी छन्। मलाई पहिल्यै थाहा थियो, उनी प्रतिभाशाली छन् र फिल्मप्रति विशेष झुकाव छ, तर उनी एकपछि अर्को फिल्म जसरी गरिरहेकी छन्, उसका विकल्पहरु र फिल्महरुको विविधता देखेर दंग छु।"
उनले अगाडि भने, "पिता हुनुको नाताले मलाई के कुरामा गौरव लागिरहेको छ भने, यी सबै काम उनी आफैं गरिरहेकी छन्। मलाई लाग्छ, यो शुरुवात मात्रै हो।"
२५ वर्षीया आलियाले सन् १९९९ मा फिल्म 'संघर्ष'बाट बाल कलाकारको रुपमा फिल्मी करिअर शुरु गरेकी थिइन्। शीर्ष भूमिकामा भने उनले 'स्टुडेन्ट अफ द इयर' (२०१२) बाट बलिउडमा डेब्यू गरेकी थिइन् । 'हाइवे', 'टू स्टेट्स', 'उडता पञ्जाब', 'डियर जिन्दगी', 'राजी' उनले अभिनय गरेका विशेष फिल्म हुन्।
हिन्दी फिल्म उद्योगको शीर्ष अभिनेत्रीमध्ये आफूलाई स्थापित गरिसकेकी उनका आगामी फिल्महरुमा 'जिरो', 'गली ब्वाई', 'कलंक' लगायत छन्। अभिनयका साथै उनले गायिकाको रुपमा पनि आफूलाई प्रस्तुत गर्दै आएकी छन् ।
– एजेन्सी