डेंगूका कारण काजोल अभिनित 'हेलिकप्टर इला' को प्रदर्शन मिति सर्यो
बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म 'हेलिकप्टर इला' को प्रदर्शन मिति सारिएको छ। फिल्मका निर्देशक प्रदीप सरकार डेंगू रोग लागेर अस्पताल भर्ना भएपछि प्रदर्शन मिति धकेलिएर अक्टोबरमा सारिएको हो । यसअघि फिल्म ७ सेप्टेम्बरमा प्रदर्शन गर्ने भनिएको थियो ।
फिल्मका प्रवक्ताका अनुसार, निर्देशक प्रदीपको डेंगूका कारण अस्पतालमा उपचार भइरहेको छ । प्रवक्ताले विज्ञप्तिमा लेखेका छन्, "अस्पतालमा भर्ना भए पनि निर्देशक बाँकी रहेको सुटिङ पूरा गर्न सेटमा आउनुभयो । सुटिङ सेटमा उहाँको विशेष हेरचाहको लागि एम्बुलेन्स र डाक्टर राखिएको थियो । सुटिङ सकिएपछि उपचार जारी राख्न उहाँ फेरि अस्पतालमा भर्ना हुनुभयो ।"
विज्ञप्तिमा फिल्म निर्माता अजय देवगन पनि सेम्टेम्बरमा फिल्म रिलिज गर्ने पक्षमा नरहेको उल्लेख गरिएको छ । अजयसहित अर्का निर्माता जयन्तीलाल गडा (पेन इन्डिया लिमिटेड) ले फिल्मको रिलिज मिति १२ अक्टोबरमा पुर्याएका छन् ।
फिल्ममा काजोल एकल आमा र उदीयमान गायिकाको भूमिकामा छिन् । उनको छोराको भूमिकामा राष्ट्रिय पुरस्कार विजेता रिद्धि सेनले अभिनय गरेका छन् । - एजेन्सी