बलिउडमा अब कुनै आशा बाँकी छैन : अभिनेता नसिरुद्दीन शाह
बलिउडका दिग्गज अभिनेता नसिरुद्दीन शाह फिल्म उद्योगबाट निराश बनेका छन्। उनले बलिउडमा पछिल्लो समय निर्माण भइरहेका फिल्मबाट आफ्नो मन अघाएको बताएका छन्।
उनका अनुसार बलिउडमा मौलिक र रचनात्मक फिल्म बन्न छाडेको छ। दर्शकलाई सोच्न वा प्रश्न सोध्न बाध्य पार्ने फिल्म नबनिरहेको अहिलेको अवस्थालाई उनले 'निरर्थक' भनेका छन्। ६८ वर्षीय यी अभिनेताले मुम्बई फिल्म जगतबाट आफू आशावादी नरहेको र अहिले बनिरहेका फिल्महरु उत्साहित गर्ने खालका नभएकाले ती बाट आफूलाई टाढै राखेको बताएका छन्।
उनले भने, “म यस्ता फिल्मको हिस्सा बन्न चाहन्नँ। यसैले धेरै समय दिनु नपर्ने र पारिश्रमिक राम्रो पाउने भूमिकामा काम गरिरहेको छु। अब म कुनै पनि फिल्मको सुटिङमा ६० दिन खर्चिन्नँ।”
बलिउडमा प्रवेश गर्नुअघि नाट्य क्षेत्रमा सक्रिय रहेका नसिरुद्दीन बलिउडदेखि विरक्तिए पनि नाटकमा भने जोडिइराख्न चाहन्छन्। रङ्गमञ्चमा कामका माध्यमबाट बितेका हजार वर्षका महान् लेखकसँग गाँसिन सकिने उनको भनाइ छ।
राष्ट्रिय फिल्म पुरस्कार विजेता शाहका अनुसार नेटफ्लिक्स र अमेजन जस्ता प्लेटफर्मको लोकप्रियता तीव्ररुपमा बढिरहँदा सिनेमाहललाई दर्शकले चाँडै भुल्ने सम्भावना छ । उनले 'शतरन्ज के खिलाडी', 'निशान्त', 'आक्रोश', 'स्पर्श', 'मिर्च मसाला', 'अलबर्ट पिन्टो को गुस्सा क्यों आता हे', 'जुनून', 'मंडी', 'अर्द्ध सत्य', 'जाने भी दो यारो' र 'अ वेडनस्डे' लगायतका करीब २०० फिल्ममा अभिनय गरेका छन् । - एजेन्सी