पिता धर्मेन्द्रको बायोपिक बनाउन लेखक र निर्देशक खोज्दै सनी देओल
बलिउड अभिनेता सनी देओलले आफ्ना पिता तथा वरिष्ठ अभिनेता धर्मेन्द्रको बायोपिक बनाउने इच्छा रहेको बताएका छन्। यसका लागि राम्रो लेखक र निर्देशकको खोजीमा रहेको उनको भनाइ छ।
पिताको बायोपिकको रोचक पाटोबारे सोधिएको प्रश्नमा सनीले भने, "पछिल्लो समय बलिउडमा बायोपिक बनाउने ट्रेन्ड बढेको छ। यो राम्रो कुरा हो। म पापामाथि बायोपिक बनाउन इच्छुक छु। तर यसका लागि हामीलाई एउटा राम्रो लेखक र निर्देशक आवश्यक पर्छ, जसले पापाको जिन्दगीलाई रोचक रुपमा प्रस्तुत गर्न सकोस्।"
बायोपिक बनेमा उनी पर्दामा पिताको भूमिकामा देखिन इच्छुक छन् त? उनी भन्छन्, "मैले यस बारेमा सोचेको छैन। म मात्र होइन, मेरो छोरा (करण) ले पनि युवा धर्मेन्द्रको भूमिकामा अभिनय गर्न सक्छ। तर, सबै कुरा फिल्मको कथामा भर पर्छ।"
सनीका छोरा करणले फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यू गर्दै छन्। छोराको डेब्यूबारे प्रतिक्रिया दिंदै उनले करणले फिल्म उद्योगमा आफ्नो पहिचान आफैं बनाउनुपर्ने बताएका छन्। छोराले डेब्यू गर्ने फिल्मको निर्देशन सनी आफैंले गरिरहेका छन्।
छोराको फिल्मी करिअरबारे उनले थप भने, ‘‘म बलिउडमा प्रवेश गर्दा मानसिक रुपमा तयार थिएँ। छोरा पनि म जस्तै आफ्नो तरिकाले आउनेछ भन्नेमा म विश्वस्त छु। बाँकी कुरा ऊ माथि निर्भर गर्छ, ऊ आफूलाई कसरी प्रस्तुत गर्छ, कस्तो खालको फिल्म छनोट गर्छ र काम कसरी गर्छ।"
- एजेन्सी