सेनाको रुचि व्यापारिक कम्प्लेक्स सञ्चालनमै
नेपाली सेनाले ऐतिहासिक त्रिचन्द्र मिलिटरी अस्पताल भत्काएर बनाइएको भवनलाई व्यापारिक कम्प्लेक्सका रुपमा प्रयोग गर्ने रुचि पुनः सार्वजनिक गरेको छ ।
काठमाडौंको महाँकालस्थानमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको त्रिचन्द्र मिलिटरी अस्पताल भत्काएर बेसमेन्टसहित नौ तलाको भवन बनाएको सेनाले त्यसलाई भाडामा दिने प्रयास पुनः अघि बढाएको हो ।
नयाँ भवनमा अवकाशप्राप्त तथा बहालवाला सैनिक, तिनका परिवार र सर्वसाधारणको समेत उपचार गर्नेगरी त्रिचन्द्र मिलिटरी अस्पताल (भेट्रान्स तथा सिभिल) सञ्चालन गर्ने भन्दै पुरानो अस्पताल भवन भत्काएको सेनाले त्यसलाई व्यापारिक कम्प्लेक्सका रुपमा भाडामा दिने निर्णय गरेपछि चौतर्फी विरोध भएको थियो । त्यही बिरोधकै कारण सेनाबाट यो भवन भाडामा लिन लागेका एक व्यवसायीले टेण्डर हात पारिसकेर पनि त्यसबाट हात झिकेका थिए ।
सेनाले यो भवन निर्माणका लागि सैनिक कल्याणकारी कोषको रकम लगानी गरेको छ । सैनिक कल्याणकारी कोषका गतिविधिबारे जानकारी दिन ६ भदौमा जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले सो भवन व्यावसायिक प्रयोजनमै लगाउने निर्णय सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, “साविकको ऐतिहासिक त्रिचन्द्र मिलिटरी अस्पतालले ओगटेको क्षेत्रमा बनेको हेरिटेज भवनमा सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुलाई उपयुक्त औषधोपचार सुविधा सञ्चालनमा ल्याइएको र बाँकी क्षेत्रलााई प्रचलित कानूनको परिधिभित्र रही व्यावसायिक प्रयोजनमा लगाई कोषको आयमा विविधिकरण गर्ने ।”
सेनाले साविकको हेरिटेज भवनबाट कोषका हिताधिकारीहरुलाई औषधोपचार सुविधा दिने भने पनि त्यसले नवनिर्मित भवनको करिब १० प्रतिशत भाग मात्र ओगट्छ । अर्थात्, बाँकी ९० प्रतिशत भवन व्यापारिक कम्प्लेक्सकै रुपमा भाडामा दिइनेछ ।
व्यापारिक भवन सञ्चालन गर्नुको कारण अगाडि सार्दै सेनाले भनेको छ, “२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात विज्ञहरुबाट स्ट्रक्चरल रिभ्यू गराउँदा उक्त स्थानमा ३२० शैय्याको अस्पताल निर्माण गर्दा सैनिक कल्याणकारी कोषबाट करिब रु.५ अर्ब ५० करोड थप लगानी गर्नुपर्ने तथा चार बर्षसम्म अस्प्ताल सञ्चालनको लागि बार्षिक रु.१ अर्ब ५५ करोड सञ्चालन खर्चको रुपमा अनुदान समेत उपलब्ध गराउनुपर्ने प्रतिवेदन प्राप्त भएको हुँदा सैनिक कल्याणकारी कोषबाट बार्षिक रुपमा थप आर्थिक उल्झन व्यहोर्न सम्भव भएन ।”
यो दाबी हेर्दा सेनाले अस्पताल भन्दा व्यापारिक कम्प्लेक्सबाट नाफा हुने भएपछि त्यसमै रुचि देखाएको देखिन्छ । सेनाले यो भवन भाडामा लगाई त्यसको आम्दानीबाट क्षेत्रीयस्तरमा सैनिक अस्पतालहरु निर्माण गर्दै जाने बताएको छ ।
सेनाले बुटवलको अमरपथमा निर्माण गरिएको टक्सार भवनलाई पनि व्यावसायिक प्रयोजनमै लगाउने प्रष्ट पारेको छ । “अमरपथमा निर्मित भवनलाई व्यावसायिक प्रयोजनमा ल्याई कोषको कल्याणकारी परियोजना अन्तर्गत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पढ्नुहाेस् ।